गृहमन्त्री खाण हारेपछि रुपन्देहीमा आरोपप्रत्यारोपमा उत्रिए कांग्रेसी : सभापतिको राजीनामा माग – Nepal Press

गृहमन्त्री खाण हारेपछि रुपन्देहीमा आरोपप्रत्यारोपमा उत्रिए कांग्रेसी : सभापतिको राजीनामा माग

रुपन्देही । पार्टीका प्रशावशाली नेता एवं गृहमन्त्री बालकृष्ण खाणले चुनाव हारेपछि नेपाली कांग्रेस रुपन्देहीमा एक–अर्काले अन्तरघातको लगाउन थालेका छन् । पार्टीभित्रको अन्तरघातका कारण खाणले पराजय व्यहोर्नुपरेको संस्थापन समूहले लगाएको आरोपको इतर पक्षले खण्डन गरेको छ ।

खाण पक्षले केही नेताहरुको नामै तोकेर अन्तरघातको आरोप लगाएपछि इतर समूहले उक्त आरोपको खण्डन गर्न मैदानमा आउन बाध्य भएको जनाएको छ । संस्थापन पक्षले उक्त खण्डनको समेत विरोध गरेको छ ।

कांग्रेसका विभिन्न कमिटीमा आवद्ध व्यक्तिले बुधबार विज्ञप्ति जारी गर्दै देशभर कांग्रेसको नतिजा उत्साहजनक आउँदा रुपन्देहीमा निराशाजनक आएकाले जिल्ला नेतृत्वले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन माग गरेका छन् । रुपन्देही कांग्रेसको नेतृत्व गृहमन्त्री खाणका सहोदर भाइ रामकृष्ण खाणले गरेका छन् ।

उनीहरुले कांग्रेस आवद्ध गठबन्धनलाई जिताउने काममा सिंगो पार्टी पंक्ति परिचालित भएको अवस्थामा अन्तर्घात भयो भनी पार्टीभित्रैबाट विभिन्न माध्यममार्फत आरोप लगाइएको भन्दै त्यसमा आपत्ति जनाएका छन् ।

विज्ञप्ति जारी गर्नेहरुमा कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरु रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्वलुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्वमहाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्वकेन्द्रीय सदस्य हरि न्यौपाने, पूर्वक्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरु खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल र पोषराज चापागाईं रहेका छन् ।

‘रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार खाण र ३ (२) का उम्मेदवार रामचन्द्र ढकाललाई हराउन अन्तर्घात गरेको भनी कांग्रेस क्षेत्रीय समितिको हवाला दिई प्रकाशित भएका समाचार तथा व्यक्तिगत पोष्टहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

सत्तारुढ दलहरुको सहयोगमा देशभर सबैभन्दा धेरै सीट जितेको कांग्रेस प्रतिनिधिसभातर्फ पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा शून्य भएको छ । यसअघि २०७४ सालमा वाम गठबन्धनविरुद्ध राप्रपासँग तालमेल गर्दा क्षेत्र नम्बर ४ र ५ मा कांग्रेसले जीत हात पारेको थियो । तर, यसपटक बलियो सत्ता गठबन्धन हुँदा पनि सबै क्षेत्र गुमेपछि पार्टीभित्र आरोपप्रत्यारोप भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर