प्रदेश १ मा १३ जनाले पाए दोस्रो प्रवेश, १५ जना अस्वीकृत – Nepal Press

प्रदेश १ मा १३ जनाले पाए दोस्रो प्रवेश, १५ जना अस्वीकृत

विराटनगर । प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षबाट १३ जना पुरानै अनुहार दोहोरिएका छन् । प्रदेशसभाको निर्वाचनबाट सबैभन्दा बढी एमालेका ७ जना दोहोरिएका छन् ।

प्रदेशसभामा दोहोरिनेहरुमा एमालेका प्रदेश सांसदहरुमा इलाम २ (२) बाट रामबहादुर राना, झापा ५ (१) बाट हिक्मतकुमार कार्की, झापा २ (१) बाट एकराज कार्की, धनकुटा १ (१) बाट निरन राई र धनकुटा १ (२) बाट इन्द्रमणि पराजुली रहेका छन् ।

त्यस्तै मोरङ २ (२) बाट लीलावल्लब अधिकारी र सोलुखुम्बु १(२) बा बुद्धिकुमार राजभण्डारी दोहोरिएका छन् । इलामका राना यसअघि इलामको २ (१) बाट विजयी भएका थिए । यस पटक निर्वाचन क्षेत्र परिवर्तन गरेर उनले चुनाव जितेका हुन् । २०७४ को निर्वाचनमा पनि सातै जनाले प्रत्यक्ष तर्फबाट निर्वाचन जितेका थिए ।

एमालेपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीका २-२ जनाले प्रत्यक्षतर्फ प्रदेशसभाको निर्वाचन जितेका छन् । माओवादी केन्द्रबाट दोस्रो कार्यकालको लागि विजयी हुनेमा इन्द्रबहादुर आङ्बो र नारायण बुर्जा मगर रहेका छन् । आङ्वोले पाँचथर १ (२) र मगरले उदयपुर २ (१) मा विजय प्राप्त गरेका हुन् ।

आङ्वो भने २०७४ मा पनि सोही क्षेत्रबाटै निर्वाचित भएका थिए । मगरले २०७४ मा वाम गठबन्धनका कारण माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उठेर सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । निर्वाचित भएपछि उनी पुनः माओवादीमै आएका थिए । यस पटक भने उनी सत्ता गठबन्धनमा माओवादीबाट उम्मेदवार भएका थिए ।

नेपाली कांग्रेसबाट हिमाल कार्की र केदार कार्की दोस्रो पटक विजयी भएका छन् । हिमाल उदयपुर १ (२) बाट र केदार मोरङ ६ (१) बाट निर्वाचित भएका हुन् ।

नेकपा एकीकृत समाववादीमा भने राजेन्द्र राई र खिनु लङ्वाले प्रत्यक्ष निर्वाचन जितेका छन् । राई मुख्यमन्त्री हुन् भने लङ्वा प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री छिन् । राईले भोजपुर १ बाट निर्वाचन जित्दा खिनु इलाम १ (१) बाट दोहोरिएकी हुन् ।

यी १५ जना दोहोरिन सकेनन्

दोस्रो कार्यकालको लागि प्रदेशसभामा आउन चाहने १५ जना निवर्तमानहरु भने रोकिएका छन् । एमालेबाट दोहोरिन चाहने पूर्वमन्त्री अम्बिरबावु गुरुङ, जीवन घिमिरे, उत्तम बस्नेत पराजित भएका छन् । त्यस्तै प्रदेश सांसदहरु बसन्त बानिया र बसन्तीदेवी यादव पनि पराजित भए ।

समानुपातिकबाट सांसद भएकी बसन्ती यसपटक टिकट नपाएपछि हाम्रो नेपाली पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी थिइन् । उनी पराजित भइन् । यस्तै निवर्तमान सांसद तेजमान कन्दङ्वा पनि पराजित भए ।

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला यस पटक पराजित भए । उनी सुनसरी २ (२) बाट पराजित भएका हुन् । यस्तै स्वास्थ्यमन्त्री जयराम यादव र यातायातमन्त्री उपेन्द्र यादव पनि पराजित भए । स्वास्थ्यमन्त्री यादव मोरङ ५ (१) मा जसपाबाट उम्मेदवार भएका थिए ।

एकीकृत समाजवादीका उपेन्द्र मोरङ १ (१) मा उम्मेदवार बनेका थिए । एकीकृत समाजवादीकै सरिता खड्का पनि पराजित भइन् । उनी संखुवासभा १ (२) बाट उम्मेदवार भएकी थिइन् ।

माओवादीबाट उम्मेदवार बनेका निवर्तमान प्रदेशसभा सदस्यहरु कुसुमकुमारी श्रेष्ठ, प्रदेश १ की उपसभामुख सरस्वती पोखरेल, कृषिमन्त्री झलकसिंह दर्लामी, पूर्णसिंह राजवंशी र कुलप्रसाद साम्वा पनि दोहोरिन असफल भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर