सल्यानका तत्कालीन प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध अख्तियारको मुद्दा – Nepal Press

सल्यानका तत्कालीन प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय, सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन, सब-इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

शारदा नगरपालिका-१५ अन्तर्गत पूर्वाधार विकास कार्यालय, सल्यानबाट आर्थिक वर्ष ०७७/०७८ मा सडक निर्माणमा लागत अनुमान विपरीत कार्य गरी अनियमितता गरेको भन्ने उजुरीको अनुसन्धान गर्दा पुन, सब-इन्जिनियर प्रकाश शाही र सब-इन्जिनियर कुमार बोहराले सडक निर्माणस्थलमा नभएको कामको परिमाणसमेत मूल्याङ्कन गरी नापी किताबमा चढाई प्रतिवेदन तयार गरेको फेला परेको अख्तियारको भनाइ छ ।

पुन, शाही र बोहराले बदनियतपूर्वक भए गरेको काम लुकाई छिपाई नभए नगरेको कुरा देखाई गलत कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको आरोप छ । उनीहरूलाई सात लाख चौध हजार ४१ रुपैयाँ बिगो जरिवाना र कानुनअनुसार सजायको मागदाबी गरिएको छ ।

साथै, सुन्दरडाँडा-थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरले फिल्ड भएको वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी गराई कार्य सम्झौता विपरीत भुक्तानी लिएको आरोपमा आरोपपत्र दायर गरेको छ । वुढा, कवर र मानदेव कवरबाट सात लाख १४ रुपैयाँ बिगो जरिवाना र सजायको माग दाबी अख्तियारले गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर