स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने, गणना गर्न आयोगको निर्देशन – Nepal Press

स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने, गणना गर्न आयोगको निर्देशन

काठमाडौं । स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ ।

दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयुक्त रामप्रसाद भण्डारीले नेपाल प्रेसलाई बताए ।

स्याङ्जा २ चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका थिए ।

ती ४ बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मुकदर्शक बनेको उनीहरूको आरोप छ । मतदान गर्ने ठाउँमा भिडभाडसहित एकलौटी मत खसालेको भिडिओ पनि सार्वजनिक भएको थियो ।

अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसेपनि यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पुनः मतदानको मागसहित पत्रकार सम्मेलन समेत गरे । यहाँ मरेका र विदेशिएका मानिसका नाममा भोट हालेको एमालेलगायतका दलको आरोप छ ।

त्यस्तै बाजुरामा मतदानको दिन झडप हुँदा मानवीय क्षतिसमेत भएको थियो । सहसचिव तुलसी श्रेष्ठको नेतृत्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा पुगेर यहाँ स्थलगत अध्ययनसमेत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर