प्रदेश १ प्रदेशसभामा मुख्य दलका नौ महिला उम्मेदवारमध्ये २ जनामात्रै विजयी – Nepal Press

प्रदेश १ प्रदेशसभामा मुख्य दलका नौ महिला उम्मेदवारमध्ये २ जनामात्रै विजयी

विराटनगर । प्रदेश १ प्रदेशसभामा २ जना महिलामात्रै प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । ५६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा एकीकृत समाजवादीकी खिनु लङवा र राप्रपाकी सविना बजगाईंमात्रै प्रत्यक्षतर्फ विजयी भएका हुन् ।

प्रदेशसभामा प्रत्यक्षतर्फ माओवादी, एमाले र एकीकृत समाजवादीबाट २-२ तथा राप्रपाबाट तीन जना महिला उम्मेदवार बनेका थिए । जसमध्ये इलाम १ (१) बाट एकीकृत समाजवादीकी खिनु लङ्वा र झापा १ (२) बाट राप्रपाकी सविना बजगाईंले मात्रै निर्वाचन जिते ।

प्रदेश १ सरकारकी संस्कृति पर्यटनमन्त्री रहेकी खिनुले एमालेकी शोभा पराजुलीलाई पराजित गरेकी हुन् । उनले १३ हजार ३७५ मत ल्याउँदा एमालेकी पराजुलीले ११ हजार ३९५ मत ल्याएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

एमाले र राप्रपा गठबन्धनबाट झापा क्षेत्र नम्बर १ (२) बाट राप्रपाकी बजगाईं १३ हजार ६१२ मत ल्याएर विजेता बनिन् । उनले माओवादी केन्द्रका श्यामवीर लिम्बूलाई हराइन् । लिम्बूले १२ हजार २२५ मत प्राप्त गरे ।

यसअघि २०७४ मा पनि प्रदेश १ को प्रदेशसभामा दुई जना महिलाले मात्रै प्रत्यक्षतर्फ विजय हात पारेका थिए । २०७४ मा इलामबाटै तत्कालीन एमालेको तर्फबाट खिनु लङ्वा र उदयपुर २ (२) बाट कला घले निर्वाचित भएका थिए ।

निर्वाचनमा एमालेबाट मोरङ ६ (१) बाट रीता न्यौपाने र इलाम १ (१) बाट शोभा पराजुली प्रतिस्पर्धामा थिए । न्यौपाने माओवादी केन्द्रका जीवन आचार्यसित पराजित भइन् ।

यस्तै माओवादीले धनकुटामा कुसुम श्रेष्ठ र सुनसरी ३ (१) मा सरस्वती पोखरेललाई उम्मेदवार बनाएको थियो । उनीहरु दुवै एमाले उम्मेदवारसँग पराजित भए ।

एकीकृत समाजवादीले भने संखुवासभा १ (२) बाट सरिता खड्कालाई पनि उम्मेदवार बनाएको थियो । उनी एमालेका विदुर लिथपेसँग पराजित भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर