सबै सामाजिक सञ्जाल ‘ह्याक’ भएपछि रनाहामा किशोर नेपाल, सरकारमाथि नै शंका – Nepal Press

सबै सामाजिक सञ्जाल ‘ह्याक’ भएपछि रनाहामा किशोर नेपाल, सरकारमाथि नै शंका

काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपाल केही दिनदेखि वेग्लैखालको छट्पटीमा छन् । हुन त अरु वेला पनि उनी झोक्की नै हुन् । तर, आजकाल विनासित्तिको कुराले पनि उनलाई चिड्चिडाहट पैदा गर्छ ।

यी भेट्रान पत्रकारलाई तनाव दिइरहेको नयाँ विषय हो- एकाएक सामाजिक सञ्जालको पहुँचबाहिर पुग्नु । एक महिनाभन्दा बढी समयदेखि उनी सामाजिक सञ्जालका सबै प्लेटफर्मबाट टाढा छन् । गत २५ अक्टोबर (कात्तिक ६ गते) बाट आफ्नो फेसबुक ह्याक भएको र त्यसको केही दिनमा ट्वीटर र इन्स्टाग्राम पनि ह्याक भएको नेपालले बताए ।

यतिमात्र होइन । नेपालले आफ्नो मोबाइल नम्बर र इमेल आ‍ईडीसमेत बन्द गरिएको दाबी गरेका छन् । यद्यपि नेपाल प्रेसले उनको बन्द भएको भनिएको नम्बरमा सम्पर्क प्रयास गर्दा फोनको घण्टी गयो । एकछिनमा उनले त्यही नम्बरबाट कलब्याक गरे ।

तनावग्रस्त अवस्थामा रहेका पत्रकार नेपालसँग भएको फोन सम्वाद जस्ताको तस्तैः

– तपाईंको फोन पनि बन्द भएको भन्ने सुनेको थिएँ । अहिले कसरी लाग्यो ?

अँ, एनसेल चैं लाग्या छ ।

– तपाईंको सामाजिक सञ्जालका सबै प्लेटफर्म एकैपटक बन्द भएको कुरा के हो ?

खोइ के हो के ! को-इन्सिडेन्स त होइन होला पक्कै । मैले रिपोर्ट गर्‍या छु । तर, छानबिन भा’छैन । कसैले चासो पनि देखाको छैन ।

– अनि, नयाँ अकाउन्ट खोल्नुभएन ?

किन खोल्नु ? पुरानो त्यस्तो पपुलर अकाउन्ट छँदाछँदै म किन छोडेर जान्छु ? सरेन्डर गर्नु मैले ?

– तत्कालका लागि तलतल लाग्दा हेर्नलाई हुन्थ्यो नि ?

तत्कालका लागि किन खोल्नु ? पर्दैन । खोल्दिनँ ।

– सञ्जालविनाको जिन्दगी कस्तो हुँदोरैछ त ?

सञ्जालविना बाँच्नै नसकिने भन्ने त होइन । तर, हामी जुन पेशामा छौं, त्यसमा लागुञ्जेल अलिक अप्ठेरो नै हुन्छ । तपाईं-हामीजस्तो मान्छेको कन्सस खालको दिमाग भइराख्या हुन्छ । त्यसले गर्दा अलिकति असहज महसुस हुन्छ ।

तर, मलाई कति असर गरेको छ भन्दा पनि सूचनाका स्रोतहरूमाथिको मेरो जुन पकड थियो सामाजिक सञ्जालमार्फत, त्यसलाई कन्ट्रोलमा लिन खोजियो । मलाई केही कुरा बोल्न, आफ्नो धारणा राख्न निषेध गरियो ।

– किन र कसले गर्‍यो होला ? कसैमाथि शंका छ ?

किन र कसले गर्‍यो भन्दा नेपालको जस्तो डेमोक्रेसीमा गर्न सक्ने एउटै शक्ति छ हेर्नुस् । त्यो सरकार हो । अनि बिचौलियाहरू सबै सरकारकै नियन्त्रणमा छन् । निर्वाचन आयोगलाई प्रशस्त पैसा दिएको छ सरकारले पनि । विदेशीहरूले पनि पैसा खन्याएका छन् । निर्वाचन आयोगले नै कसरी काम गरिरहेको छ, प्रेसको कसरी दुरुपयोग गरिरहेको छ ? हामीले देखेकै छौं । यो सबै कुराहरूले बताइहाल्छ नि आफैं । यस्तो तरिकाको प्रजातन्त्र अथवा लोकतन्त्र मैले देख्या छैन ।

– अहिलेको सरकार तपाईंप्रति यस्तो पूर्वाग्रही हुनुपर्ने त केही थिएन नि ? थियो र ?

खोइ । अब त्यो तपाईंहरूले ऊ गर्ने हो । मलाई थाहा छैन । सरकारलाई सोध्नुस् ।

– कति दिन भयो फेसबुक बन्द भएको चाहिं ?

२५ अक्टोबरदेखि ।

– अनि ट्वीटर ?

फेसबुक ह्याक भएको दुई-तीन दिनपछि होला । अहिले त हिसाबै राख्न छोडेँ ।

– कति फलोअर्स थिए तपाईंका ?

फेसबुकमै मेरो २-३ वटा पेज खोल्या थियो । ट्वीटरमा तीन लाखभन्दा बढी फलोअर्स थिए । म २०-२५ जना फलोअर्स लिएर बस्या मान्छे हो र ? सूचनामा अलिकति बढी नै पकड भएको मान्छे म थिएँ । किन भन्देखी म पोलिटिकल्ली कतै झुकाव भएको मान्छे होइन । मलाई कांग्रेस, कम्युनिष्ट खासै मतलब लाग्दैन । म एमाले-कांग्रेस भनेका एउटै जातका, एउटै धर्मका हुन् भन्ने मान्छे परें ।

– तर, मान्छेले त अहिले पनि कांग्रेस नै भनेर तपाईंलाई चिन्छन्, होइन ?

(अचानक आक्रोशमा आउँदै) अब भन्न त जे पनि भन्लान् । म तपाईंलाई मन्डले भन्छु । अर्कोले तपाईंलाई माओवादी भन्छ । अब के गर्नुहुन्छ ?

– तपाईंको कांग्रेससँग जोडिएको पृष्ठभूमि त छ नि ? विगतमा कृष्णप्रसाद भट्टराईको प्रेस सल्लाहकारसमेत हुनुभएको थियो ।

प्रेस सल्लाहकार हुनेवित्तिकै ऊ हुन्छ ? प्रोफेसनल मान्छे प्रेस सल्लाहकार हुन सक्दैन ?

– त्यो त सक्छ ।

सक्छ भने के त अनि ? म कुनै पार्टीको भइदिएको भए ५५/६० वर्षदेखि कसरी पत्रकारितामा छु ? पञ्चायतकालमा त पार्टी थिएन होला ? (जंगिँदै) लड्नेवेलामा त यो कुरा सोध्नुभएन मलाई । जतिवेला प्रजातन्त्रको लडाइँ लडियाथ्यो, जेलनेल खाएको थिएँ । त्यतिवेला यस्तो प्रश्न आएन नि तपाईंको मनमा । यसको त्याग पनि छ, काम पनि गर्‍या छ भन्ने कुरा त तपाईंको मनमा आएन । तपाईंलाई अचानक लाग्यो, कसरी यो वरिष्ठ भयो भनेर । यो के मानसिकता हो भन्नु त ?

– मैले त्यसरी सोधेको त थिइनँ । खैर, फेसबुक ह्याक नै भाको हो कि कुनै प्राविधिक समस्या हो भनेर आईटी एक्सपर्टलाई देखाउनुभयो ?

मैले सबै देखाको छु । साइबर डिपार्टमेन्ट भन्ने रहेछ यहाँ सरकारको । त्यसलाई पनि भन्या’छु । आईटी एक्सपर्टहरूले पनि हेर्‍या छन् । तपाईंले सिकाउनु पर्दैन मलाई । मैले सबै गरिसक्या छु ।

– मैले सिकाउन खोजेको होइन, प्रश्नमात्रै गरेको ।

तपाईंहरूले जसरी अन्डरस्टिमेट गर्नुभएको छ नि, त्योभन्दा म धेरै माथिको मान्छे हो । यति कुरा बुझ्नुस् ।

– मैले अन्डरस्टिमेट कसरी गरें र ?

तपाईंले अन्डरस्टिमेट नै गरेर प्रश्न गरिराख्नु भएको छ । ल राख्नुस् फोन ।

(झ्याप्पै फोन काट्छन्)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *