रुपन्देहीमा माओवादी सातौं, एस आठौं स्थानमा खुम्चिए – Nepal Press

रुपन्देहीमा माओवादी सातौं, एस आठौं स्थानमा खुम्चिए

रुपन्देही । रुपन्देहीका ५ प्रतिनिधि सभा र १० प्रदेश सभामध्ये २ प्रदेश सभामा मात्रै जीत निकालेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने जिल्लामा पहिलो दल बनेको छ ।

सत्तारुढ ४ दल तथा नेसपा, लोसपा, जनमुक्तिसमेतको गठबन्धन गरेर प्रतिनिधिसभामा उम्मेदवारी दिएपनि कांग्रेस तथा गठबन्धनमा रहेका कुनैपनि दलले निर्वाचन जित्न सकेनन् ।

१० वटा प्रदेश सभा क्षेत्रमध्ये कांग्रेस दुई वटामा मात्र विजयी भएको कांग्रेसले जिल्लामा समानुपातिकतर्फ सबैभन्दा बढी ९१ हजार ५३४ मत ल्याएको हो । नेकपा एमालेले ७८ हजार ३४९ मत पाएर दोस्रो बनेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ६६ हजार १६९ मतका साथ तेस्रो स्थानमा रहेको छ । जनमत पार्टीको ३७ हजार ३२ मत आएको छ ।

लोसपाले ३१ हजार १९० मत पाउँदा राप्रपाको २९ हजार ३ मत आएको छ । माओवादी केन्द्रले १५ हजार १२१ मत मात्र पाएको छ । एकीकृत समाजवादीले ३ हजार ५५ मत ल्याएको छ ।

क्षेत्रगत हिसावमा समानुपातिकतर्फ रुपन्देही २ र ५ मा एमालेका मतदाता बढी देखिएका छन् । यी दुवै क्षेत्रमा एमालेकै उम्मेदवार विष्णु पौडेल र बासुदेव घिमिरे विजयी भएका छन् । ४ नम्बर क्षेत्रमा लोसपाले बढी मत पाउँदा प्रत्यक्षतर्फ सो पार्टीका सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् । यस्तै रुपन्देही १ र ३ मा कांग्रेसको बढी मत आएको छ । १ नम्बर क्षेत्रमा प्रत्यक्ष तर्फ कांग्रेसका उम्मेदवार थिएनन् ।

यो क्षेत्रमा एमालेका छबिलाल विश्वकर्माले गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पराजित गरेका थिए । ३ नम्बर क्षेत्रमा काँग्रेसका बालकृष्ण खाणलाई पराजित गरी एमालेको समर्थन पाएका राप्रपाका दीपक बोहोरा विजयी भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर