प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ९ जना र प्रदेश सभामा १४ जना महिला निर्वाचित – Nepal Press

प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ९ जना र प्रदेश सभामा १४ जना महिला निर्वाचित

एमालेबाट ४ जना निर्वाचित हुदाँ काँग्रेस र माओवादीले महिलाको विरासत मात्रै जोगाए

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतगणना लगभग सकिएको छ । यद्यपी बाजुरा, दोलखा र स्याङजामा बिवाद भएका कारण त्यहाँको नजिता आउन बाँकी छ ।

अहिलेसम्मको मतपरिणाम अनुसार प्रतिनिधि सभाका १६५ सिटमध्ये ५ प्रतिशत अर्थात ९ जना मात्रै महिला विभिन्न राजनीतिक दलबाट निर्वाचित भएका छन् । जसमा नेकपा (एमाले)बाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना, नेपाली कांग्रेसबाट १ जना, नेकपा (माओवादी केन्द्र)बाट १ र नागरिक उन्मुक्ति पार्टीबाट १ जना महिला निर्वाचित भएका हुन् ।

एमालेबाट सबैभन्दा धेरै ४ जना निर्वाचित

प्रमुख राजनीतिक दलमध्ये सबैभन्दा धेरै नेकपा (एमाले)बाट ४ जना महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा विद्या भट्टराई, जुलीकुमारी महतो, ज्वालाकुमारी शाह र भगवती चौधरी रहेका छन् ।

कास्की क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)की केन्द्रीय सदस्यसमेत रहेकी विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गरेकी हुन् । भट्टराईले १६ हजार ९९८ मत ल्याउँदा कंँडेलले १२ हजार ४९५ मत ल्याएका छन् । भट्टराई तत्कालिन प्रतिनिधि सभाको यसै क्षेत्रमा निर्वाचित सदस्य पनि हुन् ।

०७६ मंसिरमा सम्पन्न उप–निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाटै उनी निर्वाचित भएकी थिइन् । श्रीमान् रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएपछि उम्मेदवार बनेकी भट्टराई निर्वाचित भएकी थिईन ।

एमाले पोलिटब्यूरो सदस्यसमेत रहेकी ४६ वर्षीय जुलीकुमारी महतो धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी हुन् । उनले ९ हजार ६६९ को फरक मतान्तरले लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई पराजित गरेकी हुन् । महतोले ३३ हजार ३५५ मत प्राप्त गर्दा झाले २३ हजार ६८६ मत प्राप्त गरेका छन् ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट राजेन्द्र महतो निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट अघि बढेकी उनी २०६४ र २०७४ मा एमालेको तर्फबाट समानुपातिक सभासद तथा सदस्य भएकी थिइन् । २०७० को निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी महतो पराजित भएकी थिइन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा २०७७ मा उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पनि भएकी थिईन ।

एमालेकी पोलिटब्यूरो सदस्यसमेत रहेकी ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी हुन् । उनले जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गरेकी हुन् ।

साहले २० हजार २५१ मत ल्याउँदा यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन् । ४० वर्षीया साह नेकपा एमालेको पोलिटब्यूरो सदस्य हुन् । माओवादी पृष्ठभूमिकी नेता उनी ०७४ को प्रदेश सभा सदस्यमा बारा क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट नेकपा (माओवादी केन्द्र)को उम्मेदवारको रुपमा विजयी भएकी थिइन् ।

एमाले र माओवादी केन्द्रको एकता भई गठन भएको नेकपामा विभाजन आएपछि उनी एमाले प्रवेश गरेकी थिइन् । लगत्तै माओवादी केन्द्रले उनलाई प्रदेश सांसदबाट पदमुक्त गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई संघीय सरकारको कृषि तथा पशुपक्षी विकासमन्त्रीसमेत बनाएका थिए । साह २०६४ को संविधान सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट समानुपातिकतर्फबाट संविधान सभा सदस्य निर्वाचित भएकी थिईन ।

एमालेकी केन्द्रीय सदस्यमसमेत रहेकी भगवती चौधरी सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी हुन् । उनले पहिलोपटक नेपाली कांग्रेसका उच्च तहका नेता विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरमा पराजित गरेकी छन् ।

चौधरीले ४० हजार ७८८ मत ल्याउँदा गच्छदारले भने ३५ हजार ६०० मत प्राप्त गरे । तीन सय मतान्तरले मात्रै निर्वाचनमा पराजित हुदैँ आएकी चौधरीले यसपटक भने गच्छदारलाई ५ हजार १८८ बढीको मतान्तरले पराजित गरेकी छन् । गच्छदार उपप्रधानमन्त्रीसहित कैयौंपटक मन्त्री भइसकेका छन् ।

२०७० सालमा चुनावीमा सहभागि भएकी चौधरी राज्यमन्त्रीसमेत भइसकेकी छन् । २०७० र २०७४ दुवै चुनावमा चौधरी गच्छदारसँग हारेकी थिइन् । तर, मतान्तर तीन सय हाराहारीमात्रै थियो । २०७० मा चौधरीले ३६२ मत नपुगेर गच्छदारसँग हार्दा २०७४ मा ३२१ मतले उपविजेता हुन पुगिन् ।

पहिलो संविधानसभाको समयमा झलनाथ खनालको मन्त्रिपरिषदमा एकपटक ३३औं वरियतामा रहेर वन तथा भू–संरक्षण राज्यमन्त्री भएकोबाहेक चौधरी कुनै पनि मन्त्रिपरिषद्मा सहभागी छैनन् । चौधरीको जीतसँगै २०४८ सालबाट कांग्रेसदेखि मधेसवादी दलबाट निरन्तर निर्वाचित भएर सांसद, मन्त्री र उपप्रधानमन्त्री भएका गच्छदारको संसद र सत्ता यात्रामा यसपटक विश्राम लागेको छ ।

माओवादीको शाख जोगाउन सफल भइन् रेखा शर्मा

नेकपा (माओवादी केन्द्र)बाट भने एक जना महिलामात्रै निर्वाचित भएकी छन् । माओवादीले प्रतिनिधि सभाका ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिदाँ सबै दलको भन्दा बढी १७ प्रतिशत महिलाको उम्मेदवारी दिलाए पनि एक जना मात्रै रेखा शर्मा निर्वाचित हुन पुगिन । शर्मा माओवादी पार्टीकी स्थायी समिति सदस्य हुन भने पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत हुन् ।

दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित शर्माले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई १९३ मतान्तरले मात्रै पराजित गरेकी छन् । शर्माले २६ हजार ८८० मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेकी छन् । शर्माको संसदीय यात्रा २०७० बाट सुरु भएको हो ।

मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आउनुभएकी रेखा शर्मा तेस्रोपटक संघीय संसद प्रवेश भएको हो । उनी २०७० र २०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् । २०७० मा संसदीय दलको सचेतकको जिम्मेवारी लिएकी उनी २०७४ मा पनि पार्टी संसदीय दलको सचेतकको भूमिकामा रहेर काम गरेकी थिइन् ।

उनले २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी छन् । एमाले र माओवादीको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यमा समेत भएकी उनी गत वर्ष सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनबाट स्थायी कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा विजयी भएका थिए । तर, यसपटक उनी नउठ्ने भएपछि शर्माले टिकट पाएकी हुन् ।

कांग्रेसको साख जोगाउन पुगिन सीता गुरुङ

प्रतिनिधि सभाका ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेपाली काँग्रेसबाट एक जना मात्र महिला निर्वाचित भएकी छन् । तेर्हथुम प्रतिनिधि क्षेत्र नम्बर १ बाट काँग्रेसकी केन्द्रीय सदस्यमसमेत रहेकी सीता गुरुङले नेकपा (एमाले)का विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पराजित गरेकी छन् ।

गुरुङले १९ हजार ७०२ मत ल्याउदाँ उनका निकटतम् प्रतिस्पर्धी शुब्बाले १८ हजार ६२३ मत प्राप्त गरेका छन् । ०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमाले उम्मेदवार भवानीप्रसाद खापुङ विजयी भएका थिए । खापुङसँग सीता गुरुङ पराजित भएकी थिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना युवा महिलाको प्रवेश

निर्वाचन अघि मात्रै गठन भएको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की र सोविता गौतम निर्वाचित भएका छन् । कार्कीले ललितपुर क्षेत्र नम्बर ३ मा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीसमेत रहेकी नेकपा (माओवादी केन्द्र)की उपमहासचिव पम्फा भुसाल र नेकपा (एमाले)का उम्मेदवार अमृत खडक्कालाई फराकिलो मतान्तरले पराजित गरेकी हुन् ।

कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्दा एमालेका निकटतम प्रतिस्पर्धी खड्काले १२ हजार ९६३ मत प्राप्त गरेकी थिए भने माओवादीका उम्मेदवार भुसालले ८ हजार ७६९ मत मात्रै प्राप्त गरेकी थिइन् । कार्की राजनीतिमा आउनु अघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा सेवामा कार्यरत थिईन भने नेपाल मेडिकल काउन्सिलको बोर्ड सदस्यसमेत रहेकी थिइन् ।

कार्की बोर्ड सदस्य रहेको पद लाभको भएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । आयोगको निर्णय विरुद्ध कार्की सर्वोच्च अदालत गुहारेपछि अदालतले उनको उम्मेदवारी कायम गर्न आदेश दिएपछि उनी चर्चामा आएकी थिइन् ।

त्यसपछि पनि आयोगले कार्कीको उम्मेदवारी खारेज गर्नका लागि सयुक्त इजलाशमा निवेदन दर्ता गराएको थियो । एकल इजलाश मात्र नभएर अदालतको सयुक्त इजलाशलेसमेत उनको उम्मेदवारी कायम गर्न आदेश दिएपछि कार्कीको उम्मेदवारीले झन चर्चा पाएको थियो ।

गौतम भने काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

गौतमले १५ हजार २३८ मत प्राप्त गर्दा एमालेका निकटतम प्रतिस्पर्धी मणिराम फुयालले ११ ह जार ५६६ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार २४ र पूर्व सभामुखसमेत रहेकी नेकपा (माओवादी केन्द्र)की स्थायी समिति सदस्य ओनसरी घर्तिले ९ हजार ४५९ मत मात्रै प्राप्त गरिन् ।

२७ वर्षीय गौतमसँग राजनीतिमा आउनुभन्दा उनी एउटा अधिवक्ता र पत्रकारको रुपमा काम गरेको अनुभव छ । यस अघि खासै चर्चामा नआएकी गौतम राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा भएको दिन कार्यक्रम सञ्चालन गरेर एकाएक चर्चामा आएकी थिइन् । त्यसपछि काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएपछि र उनको बोल्ने वाककलाले झनै चर्चामा ल्याएको छ ।

राष्ट्रिय पार्टी बन्न नसकेको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ निर्वाचित

प्रतिनिधि सभाको समानुपातिकतर्फ थे्रेस होल्ड कटाउन नसक्ने अवस्थामा पुगको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र न १ बाट निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई फराकिलो मतान्तरले पराजित गरेकी छन् । रञ्जिताले ३० हजार ४०४ मत प्राप्त गर्दा चौधरीले १८ हजार ८१ मत प्राप्त गरेका छन् ।

महिला उम्मेदवारीको ४ प्रतिशत मात्रै निर्वाचित

प्रतिनिधि सभाको निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर २२५ जना महिलाले उम्मेदवारी दिएका थिए । जम्मा उम्मेदवारीको ४ प्रतिशत अर्थात ९ जना मात्रै महिला निर्वाचित भएका छन् ।

प्रमुख दलमध्ये नेकपा (एमाले)ले प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै १४१ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउदाँ महिला ७ प्रतिशत अर्थात ११ जना उठाएको थियो । जसमा प्रदेश एकको सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा भगवती चौधरी, उदयपुरको क्षेत्र नम्बर एकमा मञ्जुकुमारी चौधरी, मधेश प्रदेशबाट धनुष क्षेत्र नम्बर ३ बाट जुलीकुमारी महतो, बारा क्षेत्र नम्बर ३ बाट ज्वालाकुमारी साहले उम्मेदवारी दिएका थिए ।

यस्तै गण्डकी प्रदेशमा कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराई, स्याङजा क्षेत्र नम्बर २ बाट पद्माकुमारी अर्याल, बागलुङ क्षेत्र नम्बर २ बाट मञ्जु शर्मा, लुम्बिनी प्रदेशमा दाङ क्षेत्र नम्बर ३ बाट शान्ता चौधरी, दाङकै क्षेत्र नम्बर ३ बाट कोमल वली, सुदूरपश्चिम प्रदेशमा डोटीको क्षेत्र नम्बर एकबाट गौरीकुमारी ओली र कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निरुदेवी पालले उम्मेदवारी दिएका थिए ।

संख्यात्मक हिसावले सबैभन्दा धेरै एमालेले उम्मेदवार उठाए पनि प्रतिशतका हिसावले भने नेकपा (माओवादी केन्द्र)ले ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउदाँ १७ प्रतिशत अर्थात ८ जना उम्मेदवार उठाएको थियो ।

जसमा बागमती प्रदेशको काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ओनसरी घर्ति, ७ मा मानुसी यमी, ९ मा कल्पना धमाला र १० मा अञ्जना विशंखेलाई उठाएको थियो । यस्तै ललितपुर क्षेत्र नम्बर ३ मा पम्फा भुसाल, दाङ क्षेत्र नम्बर २ मा रेखा शर्मा, कञ्चनपुर क्षेत्र नम्बर १ मा बिना मगर र जुम्लामा गोमा गौतम उठाएको थियो ।

नेपाली काँग्रेसले ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिदाँ जम्मा उम्मेदवारीको ५ प्रतिशत अर्थात ५ जना महिला उठाएको थियो । जसमा प्रदेश एकको तेर्हथुम क्षेत्र नम्बर १ बाट सिता गुरुङ, मोरङ क्षेत्र नम्बर २ बाट सुजाता कोइराला, मधेश प्रदेशको सिरहा क्षेत्र नम्बर २ बाट चित्रलेखा यादव, बागमती प्रदेशको मकवानपुर क्षेत्र नम्बर १ बाट महालक्ष्मी उपाध्याय (डिना) र लुम्बिनी प्रदेशको अर्घाखाची क्षेत्र नम्बर १ बाट पुष्पा भुसाललाई उम्मेदवार उठाएको थियो ।

यस्तै नेकपा (एकिकृत समाजवादी)ले १९ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउदाँ जम्मा उम्मेदवारीको ५ प्रतिशत अर्थात लुम्बिनी प्रदेशको गुल्मी क्षेत्र नम्बर २ बाट रामकुमारी झाक्रीलाई उम्मेदवार उठाएको थियो । उनी पनि पराजित हुन पुगेकी छन् ।

भर्खरै दर्ता भएर निर्वाचनमा सहभागि भएको राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिदाँ संख्यात्मक हिसावले सबैभन्दा धेरै १२ जना महिलाको उम्मेदवारी दिलाए पनि प्रतिशतका हिसावले भने ९ प्रतिशत मात्रै उम्मेदवारी दिलाएको थियो ।

जसमा प्रदेश एकको सुनसरी क्षेत्र नम्बर १ बाट गोमा तामाङ, ओखलढुंगाबाट शोभा कार्की, मधेश प्रदेशको महोत्तरी १ बाट खेमकुमार भुर्तेल, बागमती प्रदेशको रामेछा १ बाट समिक्षा श्रेष्ठ, सिन्धुली १ बाट मेनुका ठकुरी, धादिङ २ बाट बसुमाया तामाङ, काठमाडौं २ बाट सोविता गौतम, ललितपुर ३ बाट डा.तोसिमा कार्की, सिन्धुपाल्चोक २ बाट माया गुरुङ, चितवन ३ बाट जिता बराल, गण्डकी प्रदेशेको बागलुङ २ बाट तिला खत्री र लुम्बिनी प्रदेशको कपिलवस्तु १ बाट सन्जुसिंह विष्टले उम्मेदवारी दिएका थिए ।

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ महिला शून्य

७ वटै प्रदेश सभामा प्रत्यक्षबाट ३२४ जना प्रदेश सभा सदस्यमा निर्वाचित हुदाँ ४ प्रतिशत अर्थात १४ जना मात्रै महिला निर्वाचित भएका छन् । जसमा नेकपा नेकपा (एमाले)बाट ३ जना, नेकपा (माओवादी केन्द्र)बाट ३ जना, (एकीकृत समाजवादी)बाट ३ जना, नेपाली काँग्रेसबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना र स्वतन्त्रबाट एक जना निर्वाचित भएका हुन् । यद्दपी  कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा भने एक जना पनि महिला प्रत्यक्षबाट निर्वाचित हुन सकेनन् ।

प्रदेश एक सभामा नेकपा (एकीकृत समाजवादी)बाट इलाम क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर १ बाट खिनु लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा क्षेत्र नम्बर १ को प्रदेश सभा २ बाट सबिना बजगाई गरेर दुई जना निर्वाचित भएका छन् । प्रदेश एकमा नेकपा (एमाले) नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बाट एक जना पनि महिला निर्वाचित हुन सकेन ।

मधेश प्रदेश सभामा नेकपा (एमाले)बाट महोत्तरी क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा शारदादेवी थापा, स्वतन्त्रबाट महोत्तरी क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट सुरिताकुमारी साह, लोकतान्त्रिक समाजवादी पार्टीबाट महोत्तरी क्षेत्र नम्बर ३ को प्रदेश सभा २ बाट रानीकुमारी तिवारी, नेकपा (एकीकृत समाजवादी)बाट सर्लाही क्षेत्र नम्बर १ को प्रदेश सभा २ बाट वेची लुंगेली निर्वाचित भएकी छन् । प्रदेश दुइ सभामा पनि नेपाली काँग्रेस र माओवादीबाट एक जना पनि महिला निर्वाचित हुन सकेनन् ।

बागमती प्रदेश सभामा नेकपा (माओवादी केन्द्र)बाट नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट राधिका तामाङ र मकवानपुर क्षेत्र नम्बर २ को  प्रदेश सभा १ बाट कुमारी मुक्तान, नेपाली काँग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश सभा १ बाट हरिप्रभा खड्गी र सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट मसिना खड्का, नेकपा (एकीकृत समाजवादी)बाट काठमाडौं क्षेत्र नम्बर १० को प्रदेश सभा २ बाट रमा आलेमगर निर्वाचित भएका छन् ।

गण्डकी प्रदेश सभामा नेकपा (एमाले)कोबाट स्याङजा क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट सिताकुमारी सुन्दास र नवलपरासी पश्चिम २ को प्रदेश सभा १ बाट पदमा जिसी निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश सभामा भने एक जना मात्रै नेकपा (माओवादी केन्द्र)बाट बाँके क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट कृष्णा केसी निर्वाचित भएकी छन् ।

कर्णाली प्रदेशमा ३ जना मात्रै महिलाकाे उम्मेदवारी

विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर २८० जना महिलाले ७ वटै प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । जसमा सबैभन्दा धेरै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट १३ जना, नेकपा (एमाले)बाट ११ जना, नेकपा (माओवादी केन्द्र)बाट ८ जना, नेकपा (एकीकृत समाजवादी)बाट ६ जना र नेपाली काँग्रेसबाट ५ जनाले उम्मेदवारी दिएका थिए । ९८ जनाले भने स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

७ प्रदेशमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ३ जनाको मात्रै उम्मेदवारी परेको थियो । प्रमुख दलबाट एक जना महिलाले पनि उम्मेदवारी नदिएको कर्णाली प्रदेश सभा  सदस्यमा नेपाल मजदुर किसान पार्टीले मात्रै ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । यस प्रदेशमा स्वतन्त्रबाट पनि कुनै महिलाले उम्मेदवारी दिएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर