डबल ह्याट्रिकपछि गच्छदारको ब्रेक, देउवाको नाममा मात्रै रह्यो अपराजितको रेकर्ड – Nepal Press

डबल ह्याट्रिकपछि गच्छदारको ब्रेक, देउवाको नाममा मात्रै रह्यो अपराजितको रेकर्ड

कैलाली । सुनसरी–३ को अन्तिम मत परिणाम नआउँदा सम्म लगातार ३१ वर्ष देखी निरन्तर संसदीय निर्वाचनमा नहारेकाहरूको नाम थियो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र काङ्ग्रेसकै विजय कुमार गच्छदार ।

०४८ पछिका सबै चुनाव जित्ने रेकर्ड बनाएका गच्छदार यस पटक एमाले उम्मेदवार भगवती चौधरीसँग पराजित भए । गच्छदार पराजित भएसँगै देउवा मात्रै ०४८ देखी निरन्तर निर्वाचन जित्ने एक्ला नेता भए ।

सातौँ पटक गच्छदार सुनसरी ३ बाट ५ हजार १८८ मतान्तरमा पराजित हुँदा देउवा सातौँ पटक डडेल्धुराबाट १२ हजार ४९२ मतले विजयी भए ।

गच्छदारले २०४८, २०५१ र २०५६ को निर्वाचन काङ्ग्रेसबाट जितेका थिए। २०६४ मा मधेसी जनअधिकार फोरम र २०७० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजयी भए। २०७४ मा उनले फेरि काङ्ग्रेसबाट चुनाव जितेका थिए ।

२०७० मा तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका गच्छदारले भगवतीलाई पहिलो पटक पराजित गरेका थिए। त्यस बेला गच्छदारले १७ हजार ५ सय २४ मत पाउँदा चौधरीले १७ हजार १ सय ६२ मत पाइन्। जम्मा ३६२ मतको चुनावी हारपछि एमालेले गच्छदारले धाँधली गरेको आरोप लगाएको थियो।

उनले थप पहल केही गरिनन्। तर, २०७४ मा ३२१ मतले मात्रै पराजित भएपछि भने भगवती अदालत नै गइन्। तर, अर्को चुनावको नतिजा आइसक्दासम्म पनि उनको मुद्दा भने अझै विचाराधीन नै छ।

त्यस बेला गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेर जित हात पार्दा भगवतीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन् । यस पटक भने सुरुदेखि नै यो क्षेत्रमा भगवती बलियो देखिएकी थिइन्।

गच्छदार हालसम्म दर्जनौँ पटक मन्त्री, उपप्रधानमन्त्री भए ।

गृहमन्त्रीदेखि प्रधानमन्त्रीसमेत भएका देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका सबै निर्वाचनमा विजयी भएका छन् ।

उनी पहिलो पटक २०४८ सालमा चुनाव जितेपछि उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको गृहमन्त्री भएका थिए। त्यसपछि २०५१ मा देउवा प्रधानमन्त्री बने। त्यसपछि देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। उनी २०५२, २०५८, २०६१, २०७४, २०७८ मा गरी पाँच पटक प्रधानमन्त्री भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर