मधेस सरकारको जोड-घटाउ : जनमत र स्वतन्त्र सांसद निर्णायक – Nepal Press

मधेस सरकारको जोड-घटाउ : जनमत र स्वतन्त्र सांसद निर्णायक

जनकपुरधाम । मधेश प्रदेशसभाको सबै नतिजा आएसँगै सरकार गठनको बहस सुरू भएको छ । चुनावको परिणामले भने सरकारको नेतृत्व सहज देखिएको छैन ।

मधेसमा १५ सीटमा जित निकालेर नेकपा एमाले पहिलो दल बनेको छ । चुनावमा एमाले-जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन थियो । ०७४ मा ठूलो दल बनेको जसपा ९ सीटमा खुम्चिएर तेस्रोमा झरेको छ । एमाले र जसपाको सीट जोड्दा २४ पुग्छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस १३ सीट जितेर दोस्रो भएको छ । यो गठबन्धनमा रहेका लोसपा ७, माओवादी र नेकपा एसले ४/४ जितेका छन् । सत्तागठबन्धनमा रहेको दलहरूको सीट जोड्दा २८ पुग्छ ।

सिंगल भिडेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ६ सीट जितेको छ । यस्तै प्रदेशसभामा ६ जना स्वतन्त्रले जितेका छन् ।

१०७ सदस्य प्रदेशसभामा ४३ जना समानुपातिक सांसद चुनिने छन् । समानुपातिकको नतिजा आइसकेको छैन । त्यसैले कुन दलको कति सांसद थपिन्छ यकिन छैन ।

सरकार बनाउन सामान्य बहुमत अर्थात् ५४ जना सांसद चाहिन्छ । अहिलेसम्मको प्रत्यक्षतर्फ र समानुपातिक परिणाम हेर्दा सरकार बनाउने बहुमत न सत्तागठबन्धन ल्याउन सफल भयो, न एमाले-जसपा गठबन्धन ।

सरकार बनाउनमा जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक बनेको छ । जनमत पार्टी सत्तागठबन्धनमा गयो भने सरकार बन्ने देखिन्छ । वा जनमत पार्टी र केही स्वतन्त्र सांसद-एमाले- जसपा गठबन्धनतिर लागेमा मात्र सरकार बनाउन सम्भव छ ।

जनमत पार्टी सरकारमा जाने/नजाने विषयमा मौन छ । तर, चुनावमा जनतालाई देखाएको विकासको सपना साकार पार्न जनमतले सरकारमा नगई सम्भव छैन । त्यसैले जनमत पार्टी सरकारमा जाने निश्चित छ, तर कुन गठबन्धन रोज्छ भन्ने कुरा तत्काल भन्न गाह्रो छ ।

एमालेका एक नेताले नेपाल प्रेससँग भने, ‘एमाले-जसपा गठबन्धनलाई जनमत पार्टीले साथ दियो भने सरकार बनाउन बहुमत पुग्ने हाम्रो अनुमान छ । तर, यो विषयमा अहिले छलफल भएको छैन । हेरौं, के हुन्छ ।’

मुख्यमन्त्री को- रामचन्द्र वा कृष्ण ?

एमाले-जसपा गठबन्धनमा एमालेको बढी सीट छ । यदि जनमत र स्वतन्त्र सांसदले सहयोग गरे एमालेले ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा दाबी गर्न सक्छ ।

एमालेबाट विजयी भएकाहरूमध्ये अहिले कोही पनि मुख्यमन्त्रीका लागि खुलेका छैन । तर, धनुषाबाट प्रदेशसभा सदस्यमा विजयी रामचन्द्र मण्डलको चर्चा छ ।

मण्डल ०७४ मा माओवादीबाट चुनाव जितेर प्रदेशसभामा छिरेका थिए । उनी प्रमुख सचेतक पनि बने । पछि नेकपा एमाले र माओवादी एकीकरण भएर नेकपा बन्यो । नेकपा विघटन भई एमाले-माओवादी ब्युँतिएसँगै मण्डल एमालेमै बसे । एमाले रोजेकै कारण सांसद पद गुमाएका उनको कमब्याक भएको छ । त्यही भएर उनी मुख्यमन्त्रीको हकदार रहेको एमालेका एक नेता बताउँछन् ।

यता, जनमत पार्टीलाई आफ्नो पक्षमा तानेर सत्ता गठबन्धनले सरकार बनायो भने कांग्रेसबाट प्रदेशसभा सदस्यमा बाजी मारेका कृष्ण यादव मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ । उनी नेपाली कांग्रेसका प्रदेश सभापति हुन् ।

हुन त कांग्रेसबाट जितेर दोस्रो पटक प्रदेशसभा छिरेका रामसरोज यादव पनि मुख्यमन्त्रीका दाबेदार छन् । पूर्वभौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेको उनको भने मुख्यमन्त्री सम्भावना कम छ ।

रामसरोजलाई कृष्णले पार्टीको प्रदेश सभापतिमा हराएका छन् । रामसरोज विमलेन्द्र निधीको समूहबाट र कृष्ण पार्टी सभापति शेरबहादुर देउवा समूहबाट प्रदेश सभापतिमा उठेका थिए । रामसरोजभन्दा कृष्ण पार्टी सभापति देउवाका नजिकका पात्र हुन् । त्यसैले कृष्णको सम्भावना बलियो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर