पाँच वर्षमा गोरखाका जनताले महसुस गर्नेगरी विकास गर्छु : प्रचण्ड – Nepal Press

पाँच वर्षमा गोरखाका जनताले महसुस गर्नेगरी विकास गर्छु : प्रचण्ड

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन् ।

गोरखा-काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा आर्थिक क्रान्तिका लागि गोरखातिर आफ्नो ध्यान रहेको बताए ।

उनले भने, ‘राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ र राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।’

सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृत्तिलाई परास्त गर्न सकिने भन्दै प्रचण्डले आफूलाई गोरखाली जनताले गरेको विश्वास र दिएको जिम्मेवारी पूरा गर्ने संकल्प गरे ।

आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महसुस गर्ने गरी विकासलाई गति दिने उनको जिकिर थियो ।

‘गोरखाको भौतिक संरचनाको विकासको कुरा र त्यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुता, पर्यटन विकास, कृषिको आधुनिकीकरण लगायतका यी सबैमा मेरो ध्यान छ’ उनले भने, ‘ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना सुरू गर्नुपर्ने पनि छ । यी सबै पूरा गर्न तपाईँहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त पनि छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर