विश्वकपमा दोस्रोपटक नकआउट चरण प्रवेश गर्ने इक्वेडर र सेनेगलको तरखर – Nepal Press

विश्वकपमा दोस्रोपटक नकआउट चरण प्रवेश गर्ने इक्वेडर र सेनेगलको तरखर

दोहा। विश्वकप फुटबलमा दक्षिण अमेरिकी टोली इक्वेडर र अफ्रिकाको सेनेगलबीच केही समानता छ। यी दुवै टोली विगतमा एउटै संस्करणमा डेब्यु गरेका थिए।

सन् २००२ को विश्वकप इक्वेडर र सेनेगल सहभागी भएको पहिलो संस्करण थियो। आफ्नो पहिलो सहभागितामै सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो।

त्यसपछि सेनेगल तेस्रोपटक विश्वकप खेलिरहेको छ र फेरी नकआउट चरण पुगेको छैन। इक्वेडर सन् २००२ को विश्वकपमा समूहगत चरणबाटै बाहिरिएपनि सन् २००६ को संस्करणमा भने प्रिक्वाटरफाइनलसम्म पुगेको थियो। जारी कतार विश्वकप इक्वेडरको चौथो सहभागिता हो।

जारी विश्वकपमा यी दुई टोलीमध्ये कम्तिमा एक नकआउट चरण पुग्ने पक्का छ। मंगलबार समूह एको आफ्नो अन्तिम खेलमा सेनेगल र  इक्वेडरबीच प्रतिस्पर्धा हुँदा यी दुईमध्ये कम्तिमा एक टोली प्रिक्वाटरफाइनल पुग्ने पक्का छ।

यो खेल बराबरी भएमा र नेदरल्यान्ड्सले कतारसँग फराकिलोअन्तरमा पराजय ब्यहोरेमा सेनेगल  र इक्वेडर दुवै नकआउट चरण पुग्नेछन्। सेनेगलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-० गोलको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा कतारलाई ३-१ गोलले हराएको थियो। यस्तै पहिलो खेलमा कतारलाई २-० गोलले पराजित गरेको इक्वेडरले दोस्रो खेलमा नेदरल्यान्ड्ससँग १-१ गोलको बराबरी खेलेको थियो।

नेपालीसमयअनुसार राती पौने १० बजे सुरु हुने खेलअघि इक्वेडर उच्च मनोबलमा देखिएको छ। तर अघिल्ला दुई खेलमा तीन गोल गरेका कप्तान इनर भ्यालेन्सिया घाइते भएका कारण उनी खेल्ने नखेल्ने टुंगो छैन। सेनेगलसँग बराबरी गरेको अवस्थामा इक्वेडरले नकआउट चरणमा स्थान पक्का गर्ने छ।

तर अन्तर्राष्ट्रिय फुटबलमा सेनेगलले इक्वेडरसँग हालसम्म भएका सबै दुई खेल जितेको छ। इक्वेडरले ९ खेलयता हारेको छैन जसमा ६ बराबरी र तीन जितको नतिजा निकालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर