लुम्बिनीमा सरकार बनाउन बहुमत जुटाउने कसरतमा एमाले-कांग्रेस : काे काे छन् मुख्यमन्त्रीका दावेदार ? – Nepal Press

लुम्बिनीमा सरकार बनाउन बहुमत जुटाउने कसरतमा एमाले-कांग्रेस : काे काे छन् मुख्यमन्त्रीका दावेदार ?

रुपन्देही । लुम्बिनीमा प्रदेश सरकार बनाउन कुनै पनि दललाई स्पष्ट बहुमत ल्याउन सकेन । जसले गर्दा बहुमत जुटाउन दलहरुले कसरत थालेका छन् । तर, दलभित्रै कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा अझै टुंगो लागेको छैन ।

लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्यीय प्रदेशसभा रहेको छ । ५२ जनाको टुंगो लागे पनि ३५ जनाको केही दिनमा टुंगो लाग्नेछ ।

मुख्यमन्त्री दाबी गरेर चुनावमा गएका ठूला दलका नेताहरु निर्वाचित हुन सकेनन् । त्यसैले अब कसले दाबी गर्छ भन्ने बहस बढेको छ । २०७४ मा निर्वाचनमा तालमेल गरेर चुनाव लडेका एमाले र माओवादीले दुईतिहाइ नजिकको सरकार बनाएका थिए ।

यसपालि पाँच दलको सत्ता गठबन्धनले मात्रै पनि बहुमत जुटाउने सम्भावना छैन । उसले बहुमत जुटाउन अन्य साना दल वा स्वतन्त्रको साथ लिनुपर्ने अनिवार्य देखिएको छ । यहाँ प्रत्यक्षमा ठूलो दल बनेको एमालेलाई पनि बहुमत जुटाउन सहज छैन । लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

यसअघि शंकर पोखरेल नेतृत्वको तत्कालीन नेकपाले साढे ३ वर्ष सरकार चलाएको थियो । नेकपा विभाजनपछि माओवादीको नेतृत्वमा डेढ वर्ष सरकार चल्यो ।

को को रोकिए मुख्यमन्त्रीका दावेदार ?

कांग्रेसबाट मुख्यमन्त्री दाबी गरेका यसअघिका संसदीय दलका नेता वीरेन्द्र कनौडिया कपिलवस्तु ३ (२) मा पराजित भए । कांग्रेस प्रदेश सभापति अमरसिंह पुन रोल्पाबाट चुनाव जित्न असफल रहे ।

एमालेबाट मुख्यमन्त्रीका दाबेदारमध्येका दधिराम न्यौपाने रुपन्देही १ (२) र घनश्याम पाण्डे दाङ ३ (१) बाट पराजित भए । माओवादीबाट सुदर्शन बराल गुल्मी १ (१) मा रोकिँदा मुख्यमन्त्री बन्ने आकांक्षा यसपटक सम्भव भएन ।

को को छन् दौडमा ?

एमालेबाट प्रदेश सरकारका निवर्तमान मन्त्री तथा पोलिटव्युरो सदस्य लीला गिरी र केन्द्रीय सदस्य तथा पूर्वसंसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल निर्वाचित भएका छन् । चुनाव जितेपछि उनीहरूले मुख्यमन्त्रीको लागि दौडधूप बढाएका छन् । गिरी रूपन्देही २ (१) र ढकाल रूपन्देही ५ (१) बाट निर्वाचित भएका छन् । एमाले नेताहरुका अनुसार गिरी संसदीय दलको नेता बन्ने सम्भावना बढी छ ।

कांग्रेसबाट केन्द्रीय सदस्य तथा पूर्वखानेपानी राज्यमन्त्री अब्दुल रज्जाक, महासमिति सदस्य डिल्लीबहादुर चौधरी र प्रदेश उपसभापति राजु खनाल मुख्यमन्त्रीका आकांक्षी हुन् । पार्टीको संस्थापन खेमाका नेता रञ्जाक रूपन्देही १ (२) बाट, चौधरी दाङ ३ (१) र राजु खनाल दाङ २ (१) बाट निर्वाचित भएका छन् ।

माओवादीमा भने सुदर्शन बराल पराजित भएसँगै रोल्पा १ (१) बाट निर्वाचित जोखबहादुर महराले दलको नेता बन्ने र पालो पाए उनैले नेतृत्व गर्ने निश्चित जस्तै छ । महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव थिए र दाहालकै प्रस्तावमा उनी प्रदेशमा झरेका थिए ।

प्रत्यक्षबाट प्रदेशसभामा ७ दलको उपस्थिति

यसअघि ५ दल रहेको लुम्बिनी प्रदेशसभामा अहिले प्रत्यक्षतर्फ ७ वटा पार्टीले निर्वाचन जितेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसद प्रदेशसभामा रहनेछन् । एमालेबाट १८, कांग्रेसबाट १७, माओवादीबाट ५, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्तिबाट २-२, जनमतबाट १ र स्वतन्त्रबाट ३ जना निर्वाचित भएका छन् । समानुपातिकबाट जनमोर्चा र नेकपा एस थपिने सम्भावना छ ।

कस्तो छ समानुपातिकको अवस्था ?

समानुपातिकमा पनि एमाले अगाडि रहेको छ । सोमबार साँझसम्म एमाले ५ लाख ६९ हजार हुँदा कांग्रेस ४ लाख ९८ हजार रहेको छ । माओवादीको १ लाख ९८ हजार रहेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १ लाख २७ हजार २८९, नागरिक उन्मुक्ति पार्टीको १ लाख २४ हजार ६४५, जनमत पार्टीको ८१ हजार ५७७, जनता समाजवादी पार्टीको ६० हजार ८६० र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको ४२ हजार ५९३ मत पुगेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले ३७ हजार ६३१ राष्ट्रिय जनमोर्चाको ३२ हजार ६४५, हाम्रो नेपाली पार्टीको २७ हजार ६९०, राष्ट्रिय जनमुक्ति पार्टीको १७ हजार ८६७, जनता प्रगतिशील पार्टीको १५ हजार १०९, मंगोल नेशनल अर्गनाइजेशनको ११ हजार ८६७, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादीको ६ हजार ४४१, नेपाल जनता पार्टीको ५ हजार २२२, बहुजन शक्ति पार्टीको ४ हजार ४६ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको ३ हजार ३४७ मत आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर