एक शब्दै नबोली बोहराले गृहमन्त्री खाणलाई कसरी हराए ? – Nepal Press

एक शब्दै नबोली बोहराले गृहमन्त्री खाणलाई कसरी हराए ?

रुपन्देही । निर्वाचनमा उम्मेदवारले विभिन्न आश्वासन र प्रतिबद्धता बाँड्ने कुरा कुनै नौलो होइन । मतदातालाई विभिन्न योजनाहरु सुनाउने, मतदाताले राखेका विभिन्न जिज्ञासालाई तत्काल बोलेरै सम्बोधन गर्ने अनि चुनावीसभाहरुमा भाषण गरेर मतदातालाई आफूतर्फ आकर्षित गर्नु उम्मेदवारको धर्म नै हो । तर, रुपन्देहीमा यस्ता चुनावी आश्वासन र प्रतिबद्धताबारे एक शब्द पनि नबोली एक उम्मेदवारले प्रतिनिधिसभाको चुनाव जितेका छन् ।

ती उम्मेदवार हुन् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहोरा । रुपन्देही क्षेत्र नं ३ मा बोहोराले संघीय गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई पराजित गरे । ६ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा खाँणको पार्टी कांग्रेसको वर्चश्व देखिएको थियो ।

तर, बोहोराले चुनावी कार्यक्रममा एक शब्द पनि भाषण नगरिकनै चुनाव जिते । यसो भन्दा उनको कार्यक्रममा सहभागी नभएकालाई विश्वास नलाग्न सक्छ । तर, यथार्थमै बोहोराले बोल्दै नबोली चुनावी जीत निकालेका छन् । त्यो पनि देशकै शक्तिशाली पदमा रहेका गृहमन्त्रीलाई पछि पार्दै उनले जीतको झण्डा गाडेका छन् ।

उनी हरेक चुनावी कार्यक्रममा पुग्थे । तर, कहीं केही बोल्दैनथे । मञ्चमा आसनग्रहण गर्थे, सबैका विचार सुन्थे । तर, जवाफ दिँदैनथे । घरदैलोमा पनि चिटिक्क परेर जान्थे । मतदातालाई नमस्कार गर्थे, धाप मार्थे, मुस्कुराउँथे । तर, कसैलाई आश्वासन दिने र जवाफ दिँदैनथे ।

उम्मेदवारी मनोनयन गर्ने केही समय पहिले नै बोहोराले बोल्न छाडेको विषय बाहिर आएको थियो । तर, धेरैलाई यथार्थ के हो ? पत्तो थिएन । उनले उम्मेदवारी मनोनयन गरे । उनका विपक्षी समूहले बोहोरा अब बोल्न नसक्ने गरी बिरामी परेको, क्यान्सर भएकालाई किन सदनमा पठाउने भन्दै मतदातालाई मात्र सुनाएनन् सार्वजनिक मञ्चमै बोल्न थाले ।

सार्वजनिक भएका यस्ता अभिव्यक्तिलाई उनले केही दिन त कटाए । पछि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने दिनमा यसको वास्तविकता खोल्यो उनको पार्टी र परिवारले ।

राप्रपाका केन्द्रीय सदस्य तथा उनकी छोरी स्वाती थापामार्फत नेता बोहोराले आफ्नो धारणा सार्वजनिक गरे, ‘मेरो व्यक्तिगत स्वास्थ्य जस्तो गम्भीर विषयमा अतिरञ्जना गरेर आनन्द नलिन आग्रह गर्दछु, पोष्ट कोभिडका कारण घाँटीमा समस्या आएको हो, मंसिर दोस्रो सातासम्म भ्वाइस रेस्टको लागि डाक्टरको सुझावअनुसार यस्तो गर्नुपरेको हो । तर, विपक्षीले यसैलाई गलत व्याख्या बनाएको देख्दा आश्चर्य लागेको छ ।’

दीपकको विषयमा छोरी स्वातीले भनिन्, ‘कोही मुखले चिप्ला कुरा गरेर हिँडेरमात्रै हुँदैन । उहाँले सबै समस्या टिपोट गर्नुभएको छ, घरदैलोमा पुग्नुभएको छ, मंसिर दोस्रो साता सदनमा गएर उहाँ बोल्नुहुन्छ ।’

विपक्षीले यही विषय उठाएर उनको मत काट्न सकिने योजना बनाए । तर, उल्टो भयो । बोहोराले ‘पोष्ट कोभिड’ इफेक्टको कारण घाँटीमा समस्या देखिएपछि चुनावी सभामा भाषण गरेनन् । बिरामी रहेको भन्ने सन्देशका कारण पनि मतदाताले उनलाई सहानुभूतिको भोट हाले ।

बोहोरा मञ्चमा कालो चस्मा लगाएर बसिरहँदा राप्रपा नेता तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले उनको तर्फबाट भाषण गरेका थिए । बोहोराको चुनावी कमाण्डर बनेकी उनकी छोरी स्वातीले हरेक योजना उनीसँग सल्लाह गरेर बनाएकी हुन्थिन् ।

बोहोरा रुपन्देहीका लागि नयाँ अनुहार थिएनन् । पञ्चायतकालदेखि मन्त्री बनेका उनी गणतन्त्र स्थापनापछि पनि पटक-पटक मन्त्री बनेका छन् । माधवकुमार नेपाल प्रधानमन्त्री रहेको समयमा बोहोरा वनमन्त्री बनेका थिए । त्यो वेलाको संविधानमा गैरसांसद पनि मन्त्री बन्न पाउने व्यवस्था थियो ।

२०७० सालको संविधानसभामा रूपन्देहीबाट चुनाव जितेपछि उनी २०७३ सालमा फेरि मन्त्री बने पुष्पकमल दाहाल नेतृत्वको सरकारमा । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अहिलेको प्रतिस्पर्धी बालकृष्ण खाणको समर्थनमा वामपन्थी गठबन्धनका उम्मेदवार घनश्याम भुसालसँग चुनाव हारेका बोहोराले यसपटक उनै खाणविरुद्ध रोमाञ्चक जीत निकाले ।

बहालवाला गृहमन्त्रीलाई पराजित गरेका बोहोराको अहिले हाई–हाई भइरहेको छ । २ हजार ६०० मतान्तरसहित विजयी भएर उनले जीवनको उत्तरार्द्धमा पुनः संसद यात्रा तय गरेका छन् ।

नेपालको राजनीतिमा चार दशकदेखि क्रियाशील नेता बोहोराको संसदीय यात्रा २०३६ सालदेखि सुरु भएको थियो । उनी रुपन्देहीबाट २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि २०३८ र २०४० मा पर्यटन राज्यमन्त्री बनेका बोहोरा २०५७ मा बैंक अफ काठमाडौंको अध्यक्ष बने । बोहोरा २०६७ मा वन तथा भूसंरक्षण मन्त्री तथा २०६७ मै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बने ।

२०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचित उनी २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए । सिद्धार्थनगर नगरपालिका–३ खजहाना निवासी बोहोरा २००७ साल चैत १८ गते पाल्पामा जन्मेका हुन् ।

एमालेको बलियो संगठन रहेको, जसपाको पनि समर्थन पाएका बोहोराको आफ्नै पार्टीको भोट पनि यो क्षेत्रमा धेरै थियो । तर, बालकृष्ण खाणसँग उनलाई जीत निकाल्ने विषय त्यति सहज थिएन । कांग्रेस नेता खाणले श्रीमती मञ्जु खाणलाई समानुपातिक सूचीको पहिलो प्राथमिकतामा राखेको, दुई श्रीमतीका कारण नैतिक रुपमा संकटमा परेको, जिल्लामा आफ्नै भाइलाई पार्टी तथा तिलोत्तमा नगरपालिकामा स्थान दिएको, गृहमन्त्रीको शक्ति दुरुपयोग गरेको विषय निरन्तर मिडियामार्फत बाहिर आए र बोहोरा पक्षधरले पनि उठाए ।

एक वर्षअघि पार्टीको आन्तरिक निर्वाचनमा ती विषय छताछुल्ल हुने गरी बाहिरिएको थियो । तर, सबै विषय थामथुम पारेका खाणका लागि बोहोरा संसद यात्राका बाधक बने । २०४८ सालमा रुपन्देहीबाट निर्वाचन जितेर चर्चामा आएका खाणलाई पञ्चायतकालदेखि मन्त्री बन्दै आएका बोहोराले ब्रेक लगाएका छन् ।

खाण पार्टी सभापति शेरबहादुर देउवाको पिल्लरका रुपमा रहेका छन् । खाणको पराजयले उनीमात्र होइनन् देउवा र पार्टीको संस्थापन पक्ष नै संकटमा पर्ने खतरा बढेको छ ।


प्रतिक्रिया

One thought on “एक शब्दै नबोली बोहराले गृहमन्त्री खाणलाई कसरी हराए ?

  1. खाँडले सरकारमा रहँदा गरेको कुकर्म नै हारको पहिलो कारण हो । प्रहरी सरूवा बढुवा नियुक्तीमा व्यापक अनियमितता गराउने उनै हुन् । अनि पार्टीमा पनि उनकै श्रीमती, उनकै दाइलाई मात्र चाहिने अरू त मान्छै नै होईनन जस्तो गर्ने । हुन त ठगबन्धनको यसैगरी देशव्यापी हार हुनुपर्ने हो । जनताले अझै कुरा बुझ्न बाँकी छ । यो भारतले देश लुटन र लुटाउन बनाईदिएको ठगबन्धन हो । अब उसले नेपालको जलविद्युतमा कब्जा जमाउछ र कौडीको भाउमा विजुली लैजान्छ । हामी यता लोडसेडिङमा हुनेछौं , विजुली सबै उता जानेछ । यो लुटेराहरूको सरकार नबन्ला भनेर लैनचौरवालाको घरदैलौ शुरू भैसक्यो । यस्तो हस्तक्षेप त कुनै देशमा पनि हुँदैन । देउवा, प्रचण्ड र माधवजस्ता विकाउ माल भएसम्म भारतले खेलाईरहन्छ । जनताले झन दुःख पाउने दिन आउने भयो चिन्ता त्यसमा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर