डाेजर राेक्न सुकुम्बासी बस्ती जाग्राम : १५ सयजनाकाे मेस (भिडिओ) – Nepal Press

डाेजर राेक्न सुकुम्बासी बस्ती जाग्राम : १५ सयजनाकाे मेस (भिडिओ)

‘एसपी पाण्डेको टाउकोमा ढुंगा लागेको होइन, चामलको गेडो लागेको हो’

काठमाडौं । सोमबार दिउँसो अचानक काठमाडौं महानगरको डोजर छिरेपछि आन्दोलित बनेको थापाथलीस्थित सुकुम्बासी बस्ती राति पनि जाग्राम बसिरहेको छ । रातको मौका छोपेर जुनसुकै बेला पनि बस्तीभित्र डोजर लिएर महानगर आइपुग्ने शंशयले बस्तीका मान्छेहरु प्रतिकार गर्ने पूर्ण तयारीका साथ बसिरहेका छन् । करिब १५ सयलाई खाना बनाइरहेका उनीहरु ज्यान गए जाओस्, तर बस्तीभित्र मुसो पनि छिर्न नदिने भनेर बस्तीका तीनै चोकमा ‘हाइ अलर्ट’ अवस्थामा छन् ।

बस्तीका तिनै चोकमा ड्युटीको पालो मिलाएर टायर बालिरहेका छन् । वस्तीको मुख्य चोकमा ठूलो आगो बालिएको छ । जहाँ एक कफिन राखिएको छ । कफिनमा काठमाडौं महानगरका मेयर बालेनन्द्र शाहको ब्ल्याक एण्ड ह्वाइट फोटो राखिएको छ । र फोटोमा जुत्ताको माला लगाइएको छ ।

यसबारे बस्तीका पूर्वअध्यक्ष चन्द्र बहादुर लामाले भने, ‘यो प्रतिकात्मक विरोध र विद्रोह हो । परिआएको खण्डमा बालेनमाथि जहाँ पनि आक्रमण हुन सक्छ ।’ आफूहरुले मेयर शाहलाई यस्तो अवस्थामा राख्नुपर्ला भनेर कहिल्यै नसोचेको बताउँछन् लामा । बरु युवाले महानगरको नेतृत्व गर्न आएपछि आफूहरुको समस्यामाथि गम्भीर बनिदिने अपेक्षा वस्तीका सबैले गरेका थिए ।

आफूहरुको सबै अपेक्षालाई कुल्चिँदै सडकमा पुर्याउने दुर्नियत बोकेर बालेनले डोजर पठाएपछि स्वयं बालेनसमेत अबका दिनमा सुरक्षित नरहेको जाग्राम बसिरहेका पदम बहादुर सिजापतिले धम्कीपूर्ण भाषामा हामीलाई बताए । राष्ट्रिय सुकुम्बासी मोर्चाको केन्द्रिय सल्लाहकार सिजापतिले भने, ‘प्राण जाला, तर बस्तीभित्र डोजर छिर्न दिने छैनौं । यदि छिरेमा हाम्रो लाशमाथि गुडेर मात्रै टहरा भत्काउने ठाउँमा पुनेछ डोजर । नत्र जे पनि गर्न हामी तयार छौं । यदि यसको समाधान खोज्ने हो भने राज्यले हामीसँग वार्ता गर्न तयार हुनुपर्छ । र हाम्रो समस्यालाई व्यवस्थित ढंगले सम्बोधन गरिनुपर्छ ।’

सोमबार दिउँसो महानगरले डोजर लिएर बस्तीअघि पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो । वर्षौंदेखि बस्दै आएका निहत्था नागरिकलाई डोजरको भरमा राज्यले पेल्न खोजेपछि उनीहरु हिंसात्मक आन्दोलनमा उत्रिन बाध्य भएका थिए । केटाकेटीदेखि युवा हुँदै वृद्धसम्म भाला, खुडा, खुकुरी, रड, लाठी, इँटालगायत हातहतियार लिएर प्रतिकारमा उत्रिएपछि महानगरले डोजर फिर्ता गर्न बाध्य भएको थियो ।

टहरामा डोजर लगाउन पुगेका नगर प्रहरी एसपी पाण्डेको टाउकोमा चोट लागेपछि नगर प्रहरीको टोली नै ब्याक भएको थियो । ज्यान माया मारेर प्रतिकारमा सिंगो बस्ती उत्रिएपछि परिस्थिति नियन्त्रणमा लिन पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि पछि हट्न बाध्य भएको थियो । तर सिजापतिले एसपी पाण्डेको टाउकोमा ढुंगा लागेको नभएर चामलको गेडो लागेको दाबी गरे । उनले भने, ‘एसपी पाण्डेको टाउकोमा ढुंगा लागेको होइन, चामलको गेडो लागेको हो ।’

नेपाल प्रेस टिम राति १० बजे बस्तीमा पुग्दा मुख्य चोक सुनसान मात्रै थिएन । चोकमा रहेको प्रहरी वृत्तमा ताला लगाइएको थियो । सुकुम्बासी बस्ती आफ्नो टहरा र सन्तानको भविष्य जोगाउन हिंसात्मक आन्दोलनमा उत्रिएपछि वृत्तबाट बाहिरिएका प्रहरीहरु राति पनि वृत्तमा नआएका हुन् ।

भिडिओ

हाम्रो टिम बस्तीभित्र छिर्दा त्यहाँ १५ सयका लागि खाना तयार हँुदै थियो । कोही मस्यौराको तरकारी बनाइरहेका थिए भने कोही भात पकाइरहेका थिए । छेवैमा समूह–समूहमा बसेर आगो ताप्दै दिनभरको समीक्षा गरिरहेका थिए । महानगरको ‘एक्सन’को भर्त्सना गरिरहेका थिए ।

बस्तीकै बीच भागमा प्रोजेक्टरमार्फत् दिउँसो भएका झडप र हताहतीको भिडियो स्क्रिनिङ भइरहेको थियो । सयौं मान्छेहरु भिडिओलाई ध्यान दिएर हेरिरहेका थिए । जब आन्दोलनकारीको आक्रमणमा नगर प्रहरी हताहती भएको देख्थे, हुटिङ लगाउँथे । कुनै महासंग्राम जिते जसरी ताली पिट्थे । सिठ्ठी मार्थे ।

बस्तीमा आइतबार साँझमा बितेका व्यक्तिको शदगदका लागि सोमबार बिहान उनीहरुले तयारी गरिरहेका थिए । तर, अचानक डोजर आएपछि लासलाई भूइँमै राखेर ढुंगामुढामा उत्रिएका उनीहरुले अहिलेसम्म लाश उठाउन सकेका छैनन् । उनीहरुलाई लाशभन्दा ठूलो विषय त वर्षौंदेखि बस्दै आएको बस्ती जोगाउनु छ । जसका लागि आफैं लाश हुन तयार छन् उनीहरु । एक महिला भन्दै थिइन्, ‘यो लाश त विस्तारै शदगद गरौंला । सबैभन्दा पहिले त हाम्रो टहरा जोगाउनु छ । टहरा जोगाउन सकेनौं भने त हामी सासै नगई मरे सरह हुन्छौं ।’

०६९ सालमै डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेको बेला वागमती किनारमा रहेको यो बस्तीमा डोजर पसेको थियो । भलै डोजरले त्यति धेरै क्षति पुर्याउन भने सकेन । त्यसबेलादेखि अहिलेसम्म दश वर्षको अन्तरालमा राज्यले कुनबेला डोजर पठाएर उठिबास लगाउँछ भन्ने भयले सिंगो बस्ती नै त्रसित भएर बाँचिरहेको छ । बस्तीमा मान्छेहरु यही चिन्ताले हरेक रात राम्रोसँग निदाउन सकेका छैनन् । उनीहरुलाई थाहा छ, उनीहरुसित लालपूर्जा छैन । र उनीहरुलाई थाहा छ, यस बस्ती छाडेर जाने ठाउँ कतै छैन ।

नक्कली सुकुम्बासीबारे राज्यले अनुसन्धान गरोस्

त्राससहित बाँचिरहेका उनीहरुबारे बेलाबेला हल्ला पनि सुनिन्छ, सक्कली सुकुम्बासी कम छन् । प्राय नक्कली सुकुम्बासी ज्यादा छन् । यदि त्यसो हो भने राज्यलाई अनुसन्धानको बाटो सदैव खुल्ला रहेको बताउँछन् सिजापति । सिजापति भन्छन्, ‘तर, नक्कली र सक्कलीको खेल यो राज्यले खेलेको हो । यदि यहाँ त्यस्ता नक्कली सुकुम्बासी पनि छन् भने राज्यले अनुसन्धान गरोस् । हामीले त्यसमा कहिल्यै अवरोध गरेका छैनौं । तर, यहाँ जसको साँच्चिकै जाने ठाउँ कतै छैन, टहरा भत्काउनुअघि उनीहरुको सही व्यवस्थापन हुनुपर्छ ।’

सिजापतिका अनुसार काठमाडौंभित्र मात्रै ६५ सुकुम्बासी बस्ती छन् । उनीहरु राज्यद्वारा हुने अन्यायपूर्ण दमनको भयले राम्रोसँग हाँस्न पनि सक्दैनन् । आफूहरु यही देशको नागरिक भएको र बाँच्न पाउनुपर्ने हक समेत भएकाले यदि बस्ती उठाउने हो भने उचित व्यवस्थापन हुनुपर्ने सिजापतिको जिकिर छ ।

नीतिगत तवरबाट समाधान नखोजी पटाका पड्काएर बालेन र महानगरले आफूहरुलाई तर्साउन खोजे त्यसको परिणति भोग्न राज्य र महानगर तयार हुनुपर्ने सिजपतिको उद्घोष छ । तर, हिंसात्मक आन्दोलनको पक्षमा आफूहरु नरहेको र दिउँसो एसपी पाण्डेको टाउकोमा लागेको चोट पनि उनले वस्तीलाई हेपेर ‘हान हान’ भन्दै अगाडि बढेकाले त्यस्तो घटना घट्न पुगेको सिजापतिको दाबी छ ।

वस्तीका पूर्वअध्यक्ष लामा थप्छन्, ‘बालेनले सुकुम्बासी वस्तीलाई चलाएर आफू हिरो हुन खोजेका छन् । यो सुकुम्बासी वस्ती मात्रै होइन, ठूलो जनमत पनि हो । गएको चुनावमा हामीले नै भोट हालेर उनले जितेका हुन् । त्यसैले हाम्रो जनमतलाई बालेनले लात हान्न खोज्छ भने त्यसको नतिजा भोग्न ऊ तयार हुनुपर्छ ।’

राष्ट्रिय सुकुम्बासी मोर्चाको युवा संगठनको परिचालक प्रज्वल लिम्बु भन्छन्, ‘चाहे महिनौं भोकै बस्नु परोस् । तर, हामी यो बस्तीमा डोजर छिर्न दिँदैनौं । यो वस्तीमा हाम्रा बालबच्चा छन्, हाम्रो सपना छ र जीवन छ । त्यसको खातिर सय डोजर आए पनि रोक्न तयार छौं ।’

स्थानीयको विरोधपछि महानगर ब्याक

सुकुम्बासी बस्तीले डरलाग्दो विद्रोह गरेपछि महानगर ब्याक हुन बाध्य भयो । अबको कदमबारे बुझ्न नगर प्रहरीका एसपी पाण्डेलाई सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । उता महानगरका प्रवक्ता नवीन मानन्धरले एक विज्ञप्ति जारी गर्दै अधिकार सम्पन्न वागमती सभ्यात एकीकृत विकास समितिको अनुरोधमा थापाथलीस्थित वागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन गएको महानगर प्रहरीका प्रमुख राजु पाण्डेसहित १८ जना प्रहरीमाथि आक्रमण भएको जनाएको छ ।

एकीकृत विकास समितिबाट पटकपटक सार्वजनिक सूचना जारी गरी सम्बन्धिन स्थानीय प्रशासनसँग समेत समन्वय र पत्राचार भए पनि महानगर प्रहरीमाथि आक्रमण हुनु दुःखद भएको विज्ञप्तिमा भनिएको छ ।

केही समयअघि वस्ती खाली गराउन महानगरले एक सूचना जारी गर्दै दुई महिनाको समय दिएको थियो । तर, सूचनाको त्रास दिएर आफूहरुलाई मानसिक रुपमा कमजोर बनाउन खोज्ने महानगरको नियतको विरुद्धमा पनि आज प्रतिकार गरिएको लिम्बुको दाबी छ । उनले भने, ‘सूचना टाँसेर मानसिक रुपमा कमजोर बनाउन नखोजे हुन्छ । राज्यले उचित रुपमा हाम्रो व्यवस्थापनबारे नसोचेसम्म हाम्रो आन्दोलन निरन्तर रहनेछ ।’

०००

 


प्रतिक्रिया

4 thoughts on “डाेजर राेक्न सुकुम्बासी बस्ती जाग्राम : १५ सयजनाकाे मेस (भिडिओ)

  1. एउटा पनि सुकुम्वासी होइन । कव्जा गरेर भाडामा लगाएर खाएका छन् । यस्तालाई बल प्रयोग गरेरै हटाउने हो । नत्र त दल र बालेनमा के फरक ? दलका आडमा देशभरका जग्गा कब्जा गर्ने यिनलाई छोडनु हुँदैन । यहाँका एउटा हुकुमवासीको उपत्यकाभरी ५ वटासम्म यस्ता टहरा छन् । यस्तैठाउँबाट काठमाडौमा चोरी, डकैति , लुटपाट , डनगिरी मौलाएको छ । वालेनले कुनै हालतमा छोडनु हुँदैन । जनता तिम्रो साथमा छ । यो ठगबन्धनले भने पनि मान्नु हुँदैन ।

  2. राज्य हार्न हुँदैन , गैर कानुनी कुरामा राज्य हार्न थाल्यो भने अराजकता मौलाएर देश र समाज बस्न लायक हुन्न । यी सुकुम्बासी नै होइनन् । बिजुली ,पानी रोकेर भएपनि कारवाही पुर्ण गर्नै पर्छ ।

  3. यो समस्य बालेन सामधान गर्न सक्दैन । यो राज्यको समस्य हो । यसको हल गर्न राज्यले सुकुम्बासी आयोग गठन गरेको छ । यदि बालेनको यो हर्कत गरे बालेनलाई नागरिक अधिकार बिरूद्ध मुद्दा चलाउनु पर्छ । जहा बालबच्चा ,बृद्धा, असक्तहरू यहि देशको आकासमुनी बसेका छन । उनिहरूले पनी बाचन पाउने अधिकार छ ।यसरी मानबिय क्षति हुने गरी डोजर आतंक मच्चाइरहे बालेनलाई कुटेर मार्नु पर्छ । यो आक्रोस हैन मेरो बिचार हो । किनकी बालेन पनी मात्रै नागरिक हो , बालेनले मान्छे मर्दै छ भने बालेनलाई पनी मार्दा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *