खर्च विवरण पेश गर्न उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन – Nepal Press

खर्च विवरण पेश गर्न उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन

समानुपातिकतर्फको खर्च सम्बन्धित राजनीतिक दलले पेश गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा सहभागी उम्मेदवरालाई निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ बमोजिम तोकिएको ढाँचामा निर्वाचन खर्चको विवरण ३५ दिन भित्र पेश गर्न सबै उम्मेदवारलाई निर्देशन दिएको हो ।

निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयको खर्चको विवरण उल्लेख गरी निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने आयोगले जनाएको छ ।

उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नु पर्ने आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा आफ्नो प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको मितिले पन्ध्र दिन भित्र निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने भन्दै उक्त विवरण पनि उल्लेख गर्न निर्देशन दिइएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ४ बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेश गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र पेश गर्न पनि निर्देशन दिएको छ ।

निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन (हेलिकप्टर प्रयोग गरेको भए सो समेत), प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयको खर्च उल्लेख गर्नु पर्ने आयोगले जनाएको छ ।

राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नु पर्ने आयोगका प्रवक्ता पौडेलले बताए ।

निर्वाचन खर्चको विवरण समयमै पेश गर्ने प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराउन कार्यालयमा सूचना प्रकाशन गर्ने र त्यसै बमोजिम प्रत्यक्षतर्फ निर्वाचन खर्चको विवरण संकलन गरी आयोगको णालीमा अभिलेख राखी त्यस सम्बन्धी कागजात सुरक्षित राख्न सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा राजनीतिक दलले खर्चको विवरण पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर