बैंकको नाफामा स्प्रेडदरको डण्डा ! – Nepal Press

बैंकको नाफामा स्प्रेडदरको डण्डा !

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको नाफामा घटाउने गरी डण्डा चलाएको बैकर्सहरुको आरोप छ । केन्द्रीय बैंकले आइतबार साँझ जारी गरेको मौद्रिक नीति समीक्षाले लिएको नीतिका कारण बैंकको ब्याज आम्दानी नराम्ररी प्रभावित हुने बैङ्किङ विज्ञहरूले बताएका छन् ।

वाणिज्य बैंकको स्प्रेडदर (कर्जा र निक्षेपको ब्याजदरबिचको अन्तर) ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झार्नुपर्ने गरी नीतिगत व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यता विकास बैङ्क र फाइनान्स कम्पनीको स्प्रेडदर पनि ५ प्रतिशतबाट ४.६ प्रतिशतमा झारिएको छ ।

घटाइएको स्प्रेडदरलाई औसतमा ०.३ प्रतिशत मान्दा पनि १४ अर्ब रुपैयाँ भन्दा बढी ब्याज आम्दानी प्रभावित हुने देखिएको एक बैंकर्सले बताएका छन् ।

उनले भने, ‘बैङ्कहरूको ब्याज आम्दानी घट्ने बित्तिकै नाफा पनि घट्ने देखिन्छ । अहिले कुल कर्जा प्रवाहलाई र घटाइएको स्प्रेडदरको औसत अंकलाई आधार मान्दा ब्याज आम्दानी १४ अर्ब भन्दा बढीले कम हुने देखिन्छ ।’

अर्का बैंकर्स पनि राष्ट्र बैंकको यो कदमले बैङ्कहरूको नाफामा डण्डा लगाएको बताउँछन् । उनका अनुसार व्यापारीको माग सम्बोधन गर्दा बैंकको नाफा र आम्दानी प्रभावित हुने देखिन्छ ।

तर यता केन्द्रीय बैंकले भने यसबाट बैङ्क तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा सन्तुलन आउने बताउँछ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले स्प्रेडदर घटाउनुको उद्देश्य नै ब्याजदर सन्तुलन ल्याउनु भएको बताए ।

उद्योगी व्यावसायीहरुले स्प्रेडदर, ब्याजदर र सिडि रेसियोको विषयमा पुनर्विचार गर्न राष्ट्र बैंकलाई ध्यानाकर्षण गराउँदै आएका थिए ।

कुन बैंकले कति घटाउनुपर्छ स्प्रेडदर ?

असोज मसान्तसम्मको अवस्थामा प्रभु बैंकको स्प्रेडदर ३.९८ प्रतिशत छ भने एनसीसी बैकंको ३.८५ प्रतिशत छ । यता ग्लोबल आइएमइको ४.१४ प्रतिशत छ । यसले ०.१४ प्रतिशत स्प्रेडदर घटाउनु पर्छ ।

सिभिल बैंकको ४.३२ प्रतिशत स्प्रेडदर छ यसले ०.३२ प्रतिशत घटाउनुपर्छ । एनआईसी एशिया बैंकको स्प्रेडदर ४.३९ प्रतिशत छ । केन्द्रीय बैंकले भनेअनुसार नै सीमामा ल्याउन एनआइसीले ०.३९ प्रतिशत घटाउनुपर्छ । राष्ट्रिय वाणिज्य बैंकको ४.२६ प्रतिशतबाट ०.२६ प्रतिशत स्प्रेडदर घटाउनुपर्ने हुन्छ ।

प्राइम बैंकको ४.३१ प्रतिशत स्प्रेडदर छ यसले ०.३१ प्रतिशत घटाउनुपर्छ । यता बैङ्क अफ काठमाण्डूले पनि ०.२४ प्रतिशत स्प्रेडदर घटाउनुपर्छ भने माछापुच्छ्रे बैंकले ०.१९ प्रतिशत घटाउनुपर्छ ।

एभरेष्ट बैंकलाई ०.१७ प्रतिशत र सनराइज बैंकले ०.१३ प्रतिशतले स्प्रेडदर घटाउनुपर्ने देखिन्छ । यता कुमारी बैंकको अहिले केन्द्रीय बैकले तोकेभन्दा ०.१३ प्रतिशत, लक्ष्मीको ०.०९ प्रतिशत, मेगाको ०.०५ प्रतिशत, नबिलको ०.०३ प्रतिशत बढी स्प्रेडदर छ । एसबिआई बैंकले ०.०१ प्रतिशत घटायो भने केन्द्रीय बैंकको नीतिलाई भेट्न सक्छ ।


प्रतिक्रिया

One thought on “बैंकको नाफामा स्प्रेडदरको डण्डा !

  1. ४.४ % नाफा खान्छु भन्दा पनि कैँची लगाउने ? अपारदर्शीहरूले २००% नाफा खाएका छन् । तिनैलाई पोस्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर