एक सीटको नतिजामा अड्किएको प्रदेश १ सरकारकाे भविष्य – Nepal Press

एक सीटको नतिजामा अड्किएको प्रदेश १ सरकारकाे भविष्य

विराटनगर । प्रदेश १ का ५६ मध्ये तीन क्षेत्रको नतिजा आउन बाँकी हुँदासम्म आगामी सरकारको नेतृत्व कसले गर्ने अन्यौल देखिएको छ ।

अहिलेसम्म एमाले प्रत्यक्षमा २४ सीट जितेर पहिलो छ । राप्रपाले २ क्षेत्र जितेको छ । एमाले–राप्रपाको सीट जोड्दा २६ पुग्छ । सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसले १५ ठाउँ जितेको छ । माओवादीले ९ र एकीकृत समाजवादीले ३ क्षेत्र जितेको छ । प्रत्यक्षतर्फ गठबन्धनको सीट २७ पुगेको छ ।

सुनसरी ४ (१) र २ तथा सुनसरी क्षेत्र नम्बर ३ (२) को अन्तिम मत परिणाम आउन बाँकी छ । ती क्षेत्रमा कांग्रेसका उम्मेदवार अगाडि रहेकोमा ३ को २ मा एमालेको र कांग्रेसका बराबरी अवस्था छ । लिड गरिरहेका सबै सीट यदि कांग्रेस विजयी भयो भने सत्तागठबन्धनको प्रत्यक्षतर्फ ३० सीट हुनेछ । तर, सुनसरी ३ (२) मा कांग्रेसका विन्देश्वर यादवसँग २१ मतले मात्र पछाडि रहेका एमालेका रामदेव यादवले अग्रता लिएर जित्ने सम्भावना पनि उत्तिकै छ ।

यदि यीमध्ये कुनै एक क्षेत्रमा मात्र एमालेले जित्दा एमाले नेतृत्वको सरकार बन्ने देखिन्छ । गणना जारी तीनै क्षेत्रमा जित निकाल्न नसके एमालेले समानुपातिककै नतिजा पर्खनुपर्छ । त्यसका लागि थप १४ सीट चाहिन्छ । राप्रपाले ६ सीट समानुपातिकमा पाए पनि एमाले–राप्रपा गठबन्धनको सरकार बन्नेछ ।

प्रदेश १ मा प्रत्यक्षको ५६ र समानुपातिकतर्फ ३७ गरी जम्मा ९३ सीट छ । बहुमतका लागि ४७ सीट चाहिन्छ ।

समानुपातिकमा कसको कति मत ?

हालसम्मको मतअनुसार यस प्रदेशमा समानुपातिकर्फ पनि एमाले नै अगाडि छ । यो समाचार तयार पार्दासम्म एमालेले ५ लाख ७५ हजार ३८४ मत ल्याउँदा झण्डै एक लाख कम ४ लाख ८५ हजार ७६५ मतका साथ कांग्रेसले पछ्याइरहेको छ । राप्रपाले १ लाख ७७ हजार ८७ मत प्राप्त गरेको छ । माओवादी केन्द्र १ लाख ६१ हजार ९८१ मतका साथ तेस्रो स्थानमा छ ।

जनता समाजवादीले ५४ हजार ८४ मत पाउँदा नेकपा एसको ५० हजार २०० मत छ । प्रदेशमा मङ्गोल नेश्नल पार्टीले २४ हजार ३३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २३ हजार मत पाएका छन् । यी दुई पार्टीले थ्रेस होल्ड कटाउन संघर्ष गरिरहँदा उनीहरूले पाएको मतले ठूला दललाई फाइदा भइरहेको छ ।

अहिलेसम्मको मतलाई हेर्दा एमालेले समानुपातिकमा १३ सीट पाउने निश्चित छ । कांग्रेसले ११ सीट पाँउदा राप्रपाको ४ सीट निश्चित छ । माओवादीको ४ सीट, जसपाको २ सीट निश्चित भइसकेको छ । नेकपा एसले २ सीट पाउने सम्भावना छ । समानुपातिकको ३७ सीटमध्ये एउटा सीट कसको भागमा पर्छ अझै निर्णय नहुँदा भावी सरकारको गठजोड चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर