मधेसमा उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्दै विद्युत प्राधिकरण – Nepal Press

मधेसमा उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्दै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन मधेस प्रदेशका जिल्लाहरुमा करिब ४ हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण सञ्जाल बनाउने भएको छ ।

प्राधिकरणले सन् २०५० भित्र मधेसका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानव बस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको हो ।

प्राधिकरणका अनुसार भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसन निर्माण गरिनेछ । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिनेछ ।

स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसनहरुको निर्माण गरिने प्राधिकरणले जनाएको छ । अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरु रहने स्थान तय गर्ने काम भइरहेको छ ।

बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब ३२०० र जनकपुर क्षेत्रमा ८०० मेगावाट विद्युत खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिनेछ । यसबाट शहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेसका जिल्लाहरुमा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति हुने प्राधिकरणको विश्वास छ ।

प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्न ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ । यो रकम नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

यसैबीच प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परामर्शदातालगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार प्रस्तावित लाइन निर्माणस्थलको स्थलगत अनुगमन गरेको छ । टोलीले ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत माग तथा खपतको अवस्थालगायतका विषयमा जानकारी लिएको छ ।

कार्यकारी निर्देशक घिसिङले आन्तरिक रुपमा खपत बढाउन र देशभित्र खपत गरी बढी भएको विद्युत भारत निर्यात गर्न दक्षिण करिडोर प्रसारण लाइन चरणबद्ध रुपमा निर्माण गर्न लागिएको बताए ।

‘पहिलो फेजमा खपत वृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसनहरु, दोस्रो फेजमा दक्षिण करिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन निर्माण गरिनेछ’, उनले भने, ‘केही प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माण भइरहेका छन्, केही तत्काल सुरु हुँदैछ । अन्य दीर्घकालीन रुपमा निर्माण गर्ने गरी सबस्टेसनका लागि जग्गा लिने, प्रसारण लाइनको रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया सुरु गर्नेलगायतका काम भइरहेका छन् ।’

उनले भारतको मोतीहारी, सीतामणि, जयनगर विन्दुतर्फ विद्युत निर्यात गर्न सकिने बताए । उनका अनुसार बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा ४०० केभीको सबस्टेसन निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।

त्यही ४०० केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रुपमा जनकपुरतिर विस्तार गरिनेछ । बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माण गर्न जग्गा अधिग्रहणको गरिएको छ ।

जनकपुर क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्म १३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ । लोहरपट्टीमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ । यसैगरी ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर