शबाना आजमी : जसले काठमाडौंका चिसो अभिनयलाई तताएर गइन् ! – Nepal Press

शबाना आजमी : जसले काठमाडौंका चिसो अभिनयलाई तताएर गइन् !

मात्र ७२ वर्ष ! क्यालेण्डर पल्टाउँदै जाने हो भने सुप्रसिद्ध अभिनेत्री शबाना आजमी मान्छेले बाँच्ने एक जुनीको उत्तरार्द्ध हुन् । तर, समयको आँखीझ्यालबाट हेर्दा उत्तरार्द्ध होइनन्, सुरूवात हुन् ।

तपाईं कल्पिनुस्, आँखीझ्यालबाट के देखिँदैन ? अनन्तसम्मको बाटो देखिन्छ । त्यो बाटोमा अथक यात्रामा निस्किएका यात्री देखिन्छन् । ती यात्रीका काँधमा झाँसीकी रानीको हातमा चमचमाइरहेको तरबारजस्तो चहकिलो सपना देखिन्छ । त्यही सपनाको आरनमा उजिल्याइएका मुस्कान र मिहेनतका धारहरू देखिन्छन् । तिनका आँखाले नासाका वैज्ञानिकले नाप्ने प्रकाश वर्षभन्दा परसम्मको गन्तव्य देख्छन्, जहाँ क्यामेराको भाषामा कहीँकतै ब्लर देखिँदैन !

तिनै एक अद्भूत आँखीझ्याल हुन् आजमी । जसको आँखाबाट पहिलो बलिउड अभिनेत्री दुर्गाबाई कामतदेखि दीपिका पादुकोणसम्म देखिन्छन् । जसको आँखाबाट राजकपुर हुँदै नसिरुद्दिन शाहदेखि नवाजुद्दिन सिद्दिकीसम्म देखिन्छन् । जसको औँलामा जपमाला घुमेजसरी ब्ल्याक एण्ड ह्वाइट हुँदै रंगीन बलिउड फिल्मका रिल र इतिहास फनफनी घुम्छन् । जसको एक बोलीमा सिंगो बलिउड न्यायका खातिर एक सिंगो पृथ्वी फनफनी झैं घुम्छ । जसको एक ट्वीटले भारतीय सत्ताको निद्रा हराम गर्छ । जसको एक अन्तर्वार्ताले धर्मगुरुको खाइपाइ आएको भक्तजनलाई बिगार्छ ।

तिनै आजमी आँखामा तेजिलो ओज बोकेर, हृदयमा प्रेमील हिमनदीको खोँच बोकेर मण्डला थिएटरले आयोजना गरेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा भागीदार भइन् । उनी आकर्षण भन्दा ज्यादा अतिथि थिइन् । ‘अर्थ’, ‘पार’, ‘गडमोदर’ जस्ता सिनेमाका साक्षत् अभिनेत्री थिइन् । जसलाई परख गर्न ७० र ८० को दशकका हिन्दी सिनेमाका वजनदार पात्रले जीवनको आरोह-अवरोहमा कहीँकतै प्रभावित गरेका सौम्य दर्शकहरू समेत साक्षत् थिए ।

फरक भूगोलको मौसमका कारण रुघाले खोकिरहेकी आजमीले सम्भवतः सुरूवातमा बोल्नुपर्ने थियो, ‘कोइ रिस्ता पक्का नही होती । मौत आती है तो पक्के से पक्का रिस्ता भी काँची माटी कि तरह टूट जाती हैं ।’

तर, त्यही रिस्ता, त्यही नाता पक्का गर्न मण्डला थिएटरमा आइपुगेकी थिइन् आजमी । जोसँग भावनात्मक रूपमा जोडिएकी थिइन्, तिनैसँग प्रत्यक्ष संवाद गर्न आइपुगेकी थिइन् । धेरै मानिसलाई उनी चिन्दिन थिइन् सायद । र तिनै मानिसका लागि सबैभन्दा धेरै मुक्तिको लडाइँ लड्न साहस दिएकी थिइन् सायद । नजाने, आजमीलाई सुन्न आइपुग्ने कति धेरै मानिसले हिँड्ने न्यायको बाटोको गोहो थिइन् उनी ।

उनले पाएका सम्मानको पोको फुकाउने हो भने उनको पटुकीबाट बग्रेल्ती खस्छन्, भारतको प्रतिष्ठित् पद्मश्री, पद्मभूषण र राष्ट्रिय अवार्डहरू । तर, उनको पटुकीमा ती सम्मानभन्दा ज्यादा न्यायका खातिर उठेका बलिया मुठ्ठीहरू खसिरहेका थिए, जसलाई स-सम्मान ग्रहण गर्न समुपस्थित दर्शकहरू थिए ।

रंगकर्मी तथा महोत्सवकी कोअर्डिनेटर सृजना सुब्बाले कार्यक्रम सुरू हुनुअगावै गुनासो पोखेकी थिइन्, ‘आजमीमात्रै सुन्न आउने ? अरु खुराक नाटक महोत्सवमा छैनन् र ?’ कवि दीपा राई पुन र नाट्यकर्मी सविना गोपालीको सामुन्ने सृजनाले तेर्साएको सृजनशील प्रश्नको जवाफ उनकै प्रश्नमा थियो । आशय थियो कि, ‘आजमीहरूले थामेको विरासत हाम्रा बलिया काँधले अब थाम्नेछन् । नत्र २०६ हड्डी जडित यो बलियो काँधको के काम ?’

फरक भूगोलको मौसमका कारण रुघाले खोकिरहेकी आजमीले सम्भवतः सुरूवातमा बोल्नुपर्ने थियो, ‘कोइ रिस्ता पक्का नही होती । मौत आती है तो पक्के से पक्का रिस्ता भी काँची माटी कि तरह टूट जाती हैं ।’

सृजनाले व्यवस्थापनको नेतृत्व गरेको कार्यक्रममा आजमीको उपस्थितिको अर्थ विशाल छँदै थियो । सँगै आफूलाई ‘कथित्’ फिल्मी स्टारको रूपमा नउभ्याएका अभिनेता दयाहाङ राईको अनुहारमा दौडिएको ज्वजल्यमान खुसीको चहक अर्कै थियो । लामो ज्याकेट लगाएका राई ओहरदोहर गरिरहने हतारमा थिए । एकातिर सेल्फी दिनुको हतारो, अर्कोतिर अभिनयको समुद्र आजमीको आथित्यताको हतारो ! राईका अभिनयका गुरु अनुप बरालको अगाडि हतारहतार दौडिरहेका थिए राई । राईको हतारोले भनिरहेथ्यो, ‘कस्तुरीको विणाजस्तो अभिनयको रहस्य खोज्न आजमी त ७२ वर्षको उमेरमा पनि लागिपरेकी छिन्, म त को नै हो र !’

वरिष्ठ कवि विप्लव प्रतीक हातमा काँचो ए-फोर साइजको फोटोकपीमा उर्दु भाषा मिश्रित सवालहरू बोकेर हिँडिरहेका छन् ।

नाट्यकर्मी बराल छेवैमा आइपुग्दा प्रतीकलाई सोधियो, ‘अन्तरक्रिया नै गर्न जाबो प्रश्नहरूको फोटोकपी नै गर्नुपर्छ र ?’ प्रतीकको जवाफ थियो, ‘तिमी कैफी आजमी चिन्छौ ? शबाना आजमीको बुवा, जसले उर्दु साहित्यलाई बलिउडमा प्रवेश गराए । र बलिउड समृद्ध हुनुमा उनको ठूलो भूमिका छ ।’

कार्यक्रम सुरू हुनु अगाडि नै उत्तर र स्पष्टीकरण दिन तम्सिएका प्रतीकले कार्यक्रममा भने उत्तरको उर्वर भूमि खोजेनन् । दर्शक झैं बनेर सीधा सवाल तेर्साए, ‘कलाकार र स्टार हुनुमा फरक के हो ?’

आजमीले जवाफ दिन सक्थिन्, ‘जिन्दगी भी अजीव है ना ! जब आप जीना चाहते हैं तो जीने नही देती, और जब जीने की सारी ख्वाइश छोड देते हैं, तब केहती है, जिओ !’

सन् २००७ मा प्रदर्शन भएको आजमी अभीनित ‘हनिमुन ट्राभल्स प्राइभेट लिमिटेड’को यो संवादले पनि सवालको जवाफ टुंगाउन सकिन्थ्यो । तर, आजमी रेडिमेड जवाफतिर गइनन् । बलिउडका सुपरस्टार भनौदाहरू, जो आम मान्छे र खास जीवनबाट टाढा रहन्छन्, उनीहरूलाई इंगित गर्नु थियो उनलाई । र उनले भनिन्, ‘जब तपाईं कलाकार बन्नुहुन्छ, तब जीवनको न्यानोहरूमा ओत लिनुहुन्छ । रिक्सावाला तपाईंको साथी बन्छ, बस ड्रभाइभर तपाईंको सारथी बन्छ । र जीवनको सौन्दर्यलाई नजिकबाट नियाल्नुहुन्छ । तर, जब तपाई स्टार बन्नुहुन्छ, यो दुनियाँको न्यानोपनबाट विमुख बन्नुहुन्छ । सुरक्षा गार्ड, मेकअप ब्वाई, हेयर ड्रेसर र म्यानेजरको साँघुरो संसारमा खुम्चिनुहुन्छ ।’

आजमीको आशय थियो, स्टारसँग आकर्षण छ, तर ऊसँग कसैको अपनत्व छैन । दूरीमा रहने चिजहरू सबै सुन्दर देखिन्छन् । तर, जब नजिकबाट छामिन्छन्, ती साँच्चिकै भयावह हुन्छन् । जस्तोः जब नगरकोटका डाँडाबाट काठमाडौं हेर्दा खुब सुन्दर लाग्छन् । तर, जब नजिक आएर हेरिन्छ, यहाँ ढल छ, यहाँ फोहोर छ, यहाँ सडकमा सुतेका मानिस छन्, यहाँ आफ्नाको मृत्युमाथि आर्यघाटमा रोइरहेका आफन्त छन् । तर, स्टार त्यही हो, जसको आँखाले नगरकोट पुगेर हेर्दा मात्रै पनि सहर झिलीमिली देख्छ ।

त्यसैले अभिनय, सिर्फ अभिनय मात्रै होइन ! दर्शकदीर्घाको सबैभन्दा अघिल्लो फलकमा बसेकी नेपाली सिनेमा उद्योगकी चर्चित र सेलिब्रेटी भनिएकी अभिनेत्रीत्रयले आजमीलाई ध्यान दिएर सुनिरहेका थिए । तीमध्ये दुईले त सवाल नै सोधेकी थिइन् आजमीलाई ।

पात्रमा बाँच्न रुचाउने ती अभिनेत्रीमध्ये दुई अभिनेत्री त पंक्तिकारकै कुइनोमा ठोक्किने गरी ट्याक्सीको झ्याल खोलेर ठमेलतिर हान्निए । सम्भवतः पठाओको ड्राइभरले आजमीको अभिव्यक्तिको ह्याङओभर बोकेर निस्केका ती दुई अभिनेत्रीलाई पात्रैपात्रको संसार भनिने ठमेल नै पुर्‍याए सायद । एक दर्शकको सोचाई के हुन सक्छ भने उनीहरूले त्यहाँबाट जीवन्त पात्र टिपेर आफ्नो फिल्ममा उन्नेछन् । सम्भवतः नयाँ शानदार नेपाली सिनेमा नेपाली दर्शकले छिटै पाउनेछ । किनभने आजमीले आफूले अभिनय गरेका पात्रलाई एकदमै नजिकबाट नियाल्ने अवसर पाएको बताएकी थिइन् ।

र, पात्र बाँच्दै गर्दा सामुन्ने रहेकी उनकै सामुन्ने उनलाई सोधिएको थियो, ‘यो फिल्मको अभिनेत्री कहाँ छ ?’

आजमीले पहिलो राष्ट्रिय अवार्ड पाएको फिल्म ‘अंकुर’ मा एक महिलाको भूमिका निभाएकी थिइन् । गाउँले पात्रको भूमिकामा देखिएकी उनले गाउँसम्म टेकेकी थिइनन् । र गाउँ बुझ्न उनी गाउँ नै पुगेकी थिइन् । सहरमा आठ परिवारमा हुर्किए पनि, एउटै बाथरुम र ट्वाइलेट प्रयोग गरे पनि आजमीले छाउँ टेकेकी थिइनन् । केही पत्तो नपाएपछि स्वभाविक रूपमा दूधले हिरोइन नुहाउँछ भन्ने भाष्यले ओतप्रोत गाउँलेले सोध्ने नै भए, ‘यो फिल्मको हिरोइन कहाँ छ ?’

आजमीलाई अभिनयको नशा थियो, उनले चुनौती मोलिन् । ‘मण्डी’ मा देह व्यापार गरिन् । ‘पार’ मा झाडु लगाउने महिला बनिन् । यद्यपि, विकिपिडिया बन्ने हो भने उनी धेरैथोक बनिन् । र बाँकी जानकारी विकिपिडियामै छँदैछ– श्रीमान् कवि, पिता कैफी कवि, जान निशार ससुरा ! तर, आजमी कवि किन बनिनन् ? र त कवि प्रतीकको प्रश्नमा आजमीले भनिन्, ‘सानोमा कवि भनेको केही बुझ्दिनँ थिएँ । उनीहरू त दिनरात बसेर लेख्थे, अफिस पनि जाँदैन थिए । अरुको बुबा अफिस जान्थे । एक दिन अब्बाको फोटो पत्रिकामा छापियो । सबैले वाउ भने । र कवि भनेको के हो भनेर बुझेँ, सम्मान गर्न थालेँ ।’

लैंगिक समानता, जेन्युन महिला महिला हिंसाबारे वकालत गर्ने प्रेरणा सानैदेखि पाएकी रहिछन् आजमीले । ७ वर्षको हुँदा नै उनलाई बुवाले कालो गुडिया किन्दिए । तर, सबै साथीका नीलो आँखा भएका, कैलो कपाल भएका गुडिया थिए । कालो गुडिया गिफ्ट पाएपछि आजमीले बुवालाई सवाल सोधिन्, ‘सबै साथीले सेतो गुडिया खेलाउँछन्, मलाई किन कालो ?’

बुबा कैफीले भने, ‘कालो पनि आफैंमा सुन्दर हुन्छ नि छोरी !’.

बुबा कैफीको उक्त उवाच आजमीको अभिनयमा बत्ती वरिपरि पुतली झुम्मिए झैं झुम्मिरहन्छ अझैं पनि । उनी भन्छिन्, ‘अभिनयमा सत्यलाई नजिकबाट छोइनुपर्छ । स्टेजमा दर्शकसँग सीधै सम्पर्क हुन्छ । यदि तपाईंले हिजो ताली बजेको अभिनय ख्याल गरेर त्यसैलाई दोहोर्‍याइरहनुभएको छ भने तपाईंले तत्कालका लागि केही गरिरहनुभएको छैन । सत्यलाई नजिकबाट छोइरहनुभएको छैन । त्यो गलत हो । अभियमा इनोभेसन चाहिन्छ । अभिनयमा त तत्कालका लागि तपाईं हुने हो । तत्काल बाँच्ने हो, हिजोको ताली सम्झेर त्यसलाई दोहोर्‍याउने होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर