जेरीलाई शंकरको सुझाव : कोही भेटियो भने विवाह गर्दा हुन्छ ! (भिडियो अन्तरवार्ता) – Nepal Press

जेरीलाई शंकरको सुझाव : कोही भेटियो भने विवाह गर्दा हुन्छ ! (भिडियो अन्तरवार्ता)

लोकदोहोरी क्षेत्रका चर्चित जोडी बबिता बानियाँ (जेरी) र शंकर क्षेत्रले तीन वर्ष लामो वैवाहिक सम्बन्धमा हालै पूर्णविराम लगाए । औपचारिक सम्बन्ध विच्छेद गरेर अलग भएसँगै उनीहरू ‘टक अफ द टाउन’ बनिरहेका छन् ।

डिभोर्सलगत्तै केही युट्युब च्यानलमा जेरीको अन्तर्वार्ता सार्वजनिक भयो, जसमा उनले पूर्वपतिमाथि थुप्रै गम्भीर आरोप लगाएकी छन् । श्रीमानले आफूलाई विवाहको १४ दिनदेखि नै शारीरिक र मानसिक यातना दिन थालेको उनको दाबी छ । साथै, उनले श्रीमान परस्त्रीसँग लागेर आफूलाई तिरस्कार गरेको पनि बताइन् ।

शंकरले भने डिभोर्सपछि मुख खोलेका छैनन् । आफूहरूबीच डिभोर्सपछि मिडियालाई यो विषयमा अन्तर्वार्ता नदिने समझदारी भए पनि जेरीले त्यसलाई तोडेको उनको आरोप छ । नेपाल प्रेससँगको कुराकानीमा उनले जेरीले लगाएका सबै आरोपहरू खण्डन गरे । कसैको एकपक्षीय कुरा सुनेर आफूमाथि नकारात्मक टिप्पणीहरू नगर्न उनको आग्रह छ । अहिले बाहिर आएको भन्दा वास्तविकता फरक भएको दाबी गर्दै उनले यसबारे अहिले नबोल्ने बताए ।

गायक क्षेत्रीको सांगीतिक यात्रा, वैवाहिक जीवन, सम्बन्ध विच्छेद र आरोपहरूबारे नेपाल प्रेससँग गरिएको भिडियो कुराकानी–

– संगीत क्षेत्रप्रति कहिलेदेखि र कसरी रुचि जाग्यो ?

पढाइको हिसाबले हेर्ने हो भने कुनै समय डाक्टर बन्ने ठूलो सपना थियो । तर, समय र परिस्थितिले सोचेजस्तो भएन । पढाइमा अब्बल भए तापनि नाच्न र गाउन औधी मनपर्ने । बाल्यकालदेखि नै संगीत क्षेत्रमा मेरो छुट्टै लगाव थियो । अझ भनौं गायनमा भन्दा नृत्यमा धेरै रुचि थियो । त्यो समय पनि मैले नाच्दा, गाउँदा सबैले रुचाउँथे । कार्यक्रमहरुमा पनि अधिकतम समय पहिलो, दोस्रो नै हुन्थें ।

त्यो बेलादेखि नै मनमा कुनै समय म कलाकार बन्छु वा भनौं पर्दामा देखिन्छु भन्ने थियो । पछि काठमाडौं आएँ । अग्रज व्यक्तित्वहरुको साथ र सहयोगले विभिन्न दोहोरीहरुमा जोडिएँ । यसरी नै मेरा यात्राहरु अघि बढेका हुन् ।

– यो क्षेत्रमा प्रवेश गर्दा परिवारको साथ मिल्यो कि मिलेन ?

सुरुवाती दिनहरूमा त परिवारको साथ मिलेन । तर, परिवारको साथ छैन भनेर मैले हार भने कहिल्यै मानिनँ । मम्मी–बुवा सधैं पढे लेखेर केही बन्नुपर्छ, कलाकारिता क्षेत्रमा भविष्य छैन भन्ने खालका कुराहरू गर्नुहुन्थ्यो । उहाँहरूलाई यो क्षेत्रप्रति कुनै रुचि नै थिएन ।

बीचमा एकचोटि साथीहरूको लहैलहैमा लागेर विदेश (आवुधावी) पनि गएँ । विदेशी जीवन पनि राम्रै थियो । करिब दुई वर्ष जति बसेर म फर्कें । अनि फेरि यही क्षेत्रलाई निरन्तरता दिएँ । सुरुमा खासै साथ थिएन । तर, अहिले त खुशी नै हुनुहुन्छ ।

– तपाई दोहोरी क्षेत्रमा स्थापित गायकको सूचीमा पर्नुहुन्छ । तर. दर्शकले तपाईंको यो लोकप्रियताको श्रेय त जेरीलाई दिइरहेका छन् नि ? जेरीकै कारण शंकरको नाम चलेको हो त ?

होइन । उहाँले मलाई धेरै सहयोग गर्नुभएको छ, त्यो म मान्छु । मेरो सफलतामा उहाँको पनि हात छ । तर, मेरो लोकप्रियताको पछाडि उहाँको मात्र भूमिका छ भन्ने चाहिँ म मान्दिनँ । मेरो करियरमा उहाँ मेरो अभिन्न अङ्ग हुनुहुन्थ्यो । सुरुवाती दिनहरूमा उहाँले थुप्रै ठाउँमा मेरो सिफारिस गरिदिनुभएको थियो । त्यसको मतलब यो होइन कि मैले केही नै नगरी यहाँसम्म आइपुगें । मसँग पनि ट्यालेन्ट थियो । विनाकला त पक्कै पनि कसैले कसैलाई यत्रो माया दिनुहुँदैन होला ।

– तपाईंकै भनाइअनुसार विदेशमा सुखी जीवन हुँदाहुँदै पनि एक्कासि नेपाल फर्किनुभयो । जेरीजीसँग विवाह गर्नकै लागि हो ?

होइन नि ! म खासमा बाहिर जानु हुँदैन, नेपालमै बसेर केही गर्नुपर्छ भन्ने धारणा भएको व्यक्ति हो । त्यति वेला म साथीहरूको लहैलहैमा लागेर विदेश गएँ । त्यहाँ हुँदा पनि कलाकार बन्छु भन्ने सपना कहिल्यै मनबाट हटेन । त्यसैले यही केही गर्छु भनेर म फर्केको हो । विवाह त मैले विदेशबाट आएको पाँच वर्षपछि मात्र गरेको हो ।

– तपाईंलाई कतिपयले ‘प्ले ब्वाई’ को आरोप पनि लगाउँछन् । जेरी तपाईंको कतिऔं प्रेमिका हुनुहुन्थ्यो ?

त्यस्तो होइन । उहाँ मेरो पहिलो प्रेम हो । सम्बन्ध विच्छेद भयो, त्यो आफ्नो ठाउँमा छ । तर, मलाई पहिलो प्रेम नै अन्तिम प्रेम बनाउनुपर्छ जस्तो लाग्छ ।

– पहिलो प्रेम नै अन्तिम त भन्नुभयो । तर, तपाईंको विवाहेत्तर सम्बन्धहरू रहेको कुराहरू आए नि ?

यो सय प्रतिशत गलत आरोप हो । मेरो कोही परस्त्रीसँग सम्बन्ध छ भने प्रमाण देखाउनुहोस् । हावाको भरमा जे पनि बोलेको छ । सम्बन्ध विच्छेद भइराख्दा बाहिरी मान्छेहरूले त्यस्तो सोच्नु स्वाभाविक पनि हो । दर्शकहरूको मनमा कतै अरूसँग लागेर पो धोका दियो कि भन्ने खालका धारणाहरू पनि आए होलान् । तर, मेरो कसैसँग कुनै सम्बन्ध छैन । न त यो कुराले नै हाम्रो सम्बन्ध बिग्रेको हो । भित्री कारणहरू अरू नै छन् ।

– सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गर्दा तपाईंको मनमा के खेलिरहेको थियो ?

मनमा दुःख थियो । यत्रो सात वर्षको लामो सहयात्रा टुग्याउँदा कसको मन खुशी हुन्छ र?

– लोकप्रिय गायक भनेर चिनिएको नामलाई दर्शकहरूले एक्कासि ‘प्लेवाई’ भन्ने ट्याग लगाइदिनुभयो । आफूमा लागेको यो ट्यागलाई कसरी हटाउनुहुन्छ ?

जो मानिसको मानसिकता नै नकारात्मक हुन्छ, उसलाई केही गर्न सकिँदैन । निदाएकोलाई उठाउन पो सजिलो हुन्छ त ! निदाएको नाटक गर्नेलाई बिउँझाउन सकिँदैन । म कोही अरू स्त्रीसँग लागेको छैन । जेरीजीले बारम्बार मिडियामा आएर यस्ता बनावटी कुरा गर्नुभएकोले गर्दा सबैको मनमा यो भाव पसेको हो ।

म हिजो पनि यही क्षेत्रमा थिएँ, आज पनि छु र भोलि पनि यही क्षेत्रमा लगनशीलताका साथ काम गरिरहेको हुनेछु । समय परिवर्तनशील छ । मप्रति दर्शकहरूको जुन नकारात्मक धारणा छ, त्यो एकदिन अवश्य बदलिनेछ भन्ने कुरामा विश्वस्त छु ।

– विवाहअघि करिब चार वर्ष ‘लिभ ईन रिलेसन’ मा बस्नुभयो । त्यो समयमा कहिले खटपट भएन ? यदि खटपट हुन्थ्यो भने विवाहको निर्णयसम्म कसरी पुग्नुभयो?

लिभ ईनमा बस्दा त्यस्तो खटपट कहिल्यै भएन । कहिलेकाहीँ झगडा र मनमुटाव भनेको त हरेक घरमा हुन्छ । म त्यस्तो गलत र खराब थिएँ भने उहाँले मलाई त्यही समय नै छोड्न सक्नुहुन्थ्यो । हामी विवाह गर्ने निर्णयसम्म नै पुग्दैन थियौँ नि । होइन र?

आउने दिनमा तपाईँहरू दुईजनाको सहकार्य देख्न सकिन्छ कि सकिँदैन?

अहिलेको परिस्थिति हेर्ने हो भने सम्भव छैन । भविष्यमा के हुन्छ त्यो भन्न सकिँदैन । जे पनि हुन सक्छ । यदि उहाँले चाहनुभयो भने हुनसक्छ । सम्बन्ध विच्छेद पश्चात् हाम्रो बोलचाल पनि भएको छैन । सबैलाई थाहा भएकै कुरा हो, हाम्रो छोरी पनि छ भनेर । छोरीको कारणले बोल्नुपर्ने हुन्छ, त्यही हो ।

टिकटक बनाउने बेला मात्र छोरीलाई माया देखाउने गरेको आरोप पनि जेरीले लगाउनुभएको छ नि ?

एउटा बाउले आफ्नो छोरीलाई टिकटक बनाउने बेलामात्र कसरी प्रयोग गर्न सक्छ ? उहाँले यस्तो भन्न त के सोच्न पनि कसरी सक्नुभयो ? यी सबै हावा कुराहरू हुन् । उहाँ व्यस्त हुँदा, कार्यक्रमहरूमा जानुपर्दा, घरमा छोरी हेरेर बस्ने मान्छे म हो । आफ्नो बच्चाको लालन पालनको कुन बुवालाई चाहिँ चिन्ता हुँदैन र ? उहाँले गलत बोल्नुभएको छ । आफूलाई राम्रो देखाउन अरूलाई त्यति साह्रो गिराउनु पनि हुन्न ।

भ्यूजको लागि मैले छोरी प्रयोग गरेँ अरे । मैले होइन, हाम्रो कारण देखाएर उसको आफन्तहरूले चाहिँ भ्यूजको लागि मेरो छोरी काखमा राखेर टिकटक बनाइरहेका छन् । एकजोर लुगा किन्दिएको छैन समेत भन्नुभयो । एउटा बाउले आफ्नो छोरीलाई लुगा नकिन्दिने, लालन पालन र खानपनमा ध्यान नदिने भन्ने हुनै सक्दैन । कोही ढुङ्गाको मुटु भएका बाउले पनि त्यसो नगर्ला ।

शारीरिक र मानसिक यातना दिएको आरोपबारे के भन्नुहुन्छ ?

मैले यसलाई कसरी बुझेको छु भने, मन परिञ्जेलसम्म आफ्नो पार्टनरले जे गरे पनि राम्रो लाग्दो रहेछ । आफूलाई मन पर्न छोडेपछि जतिसुकै राम्रो गरेता पनि नराम्रो नै लाग्ने रहेछ । भए–नभएका कुराहरू थपथाप पारेर, यो मान्छे गलत नै हो भन्ने पार्ने रहेछन् । त्यही हो ।

तपाईँले श्रीमती राम्री नभएको र आफूभन्दा जेठी भएको, गरगहना वा दाइजो पर्याप्त नदिएको भनेर पनि टर्चर दिनुभएको आरोप छ नि ?

त्यस्ता कुराहरूले मलाई फरक पर्ने भएको भए, म ‘लिभ ईन’ पछि विवाह नै किन गर्थे र ? त्यतिबेला नै म विवाह चाहिँ गर्दिन है भन्थे होला नि । यी सबै बनावटी कुराहरू हुन् । सुनेर म आफैँ चकित छु ।

मैले कहिले पनि यति सुनचाँदी चाहियो वा यति दाइजो चाहियो भन्ने खालका कुराहरू गरेको नै छैन । म पनि एक शिक्षित व्यक्ति हो । त्यस्तो अनपढ नबुझ्ने होइन । उहाँले बहिनीलाई यो माग्यो, दाइलाई त्यो माग्यो भन्नुभयो । त्यत्रो सामान माग्दा मैले आफ्नो लागि पनि पक्कै माग्नुपर्ने हो । मैले आफ्नो लागि चाहिँ केही मागेको रहेनछु ? उहाँले त्यो कुराहरू त गर्नु नै भएन । आएका सबै कुराहरू बनावटी हुन् । उहाँले यस्तो किन भन्नुभयो र यो कुराहरू कहाँबाट आए भन्ने विषयमा म आफैँ अनभिज्ञ छु ।

अब दोस्रो विवाहको बारेमा के सोच्नुभएको छ?

यो विषयमा मैले केही सोचेको नै छैन । ‘डिभोर्सपश्चात् नै विवाह गर्दैछन् शंकर क्षेत्री’ भन्ने खालका थुप्रै समाचारहरू आइरहेका छन् । मैले सबै हेरिरहेको छु । खै, के भन्ने ? अहिले मैले विवाहलाई लिएर त्यस्तो केही सोचेको छैन । भविष्य धेरै लामो छ । भाग्यमा लेखेको छ भने पछि फेरि विवाह होला । सबै समयको खेल हो ।

उहाँले के गर्नुहुन्छ भन्ने पनि मलाई थाहा छैन । म त उहाँलाई यही भन्न चाहन्छु,, यदि सही र उपयुक्त लाग्यो वा कोही भेटियो भने विवाह गर्दा हुन्छ । मसँग छुट्यो भन्दैमा एक्लै जिन्दगी कटाउनुपर्छ भन्ने छैन । छोरीको लागि हामी दुवै छँदै छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर