गणना सकिँदै गर्दा यस्तो छ बाँकी ६ ठाउँको अपडेट – Nepal Press

गणना सकिँदै गर्दा यस्तो छ बाँकी ६ ठाउँको अपडेट

काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६ ठाउँको नतिजा आउँन बाँकी छ । दोलखा, स्याङ्जा, बाजुरामा भने गणना सुरू नै भएको छैन ।

गणना जारी ठाउँमा कहीँ गणना बीचमा रोकिएको थियो । केही ठाउँमा धेरै मत गन्नुपर्ने भएकाले पनि समय लागेको बताइएको छ । सबैभन्दा बढी प्रदेश १ का ५ क्षेत्रबाट नतिजा आइसकेको छैन ।

इलाम १ मा अझै १२११९ मत गन्न बाँकी छ । यहाँ एमालेका महेश बस्नेतले नेकपा एसका सम्मानित नेतालाई निरन्तर पछाडि पारेका छन् । शनिबार खनालले धाँधली भएको भन्दै पुन: मतदानको माग गरेपछि विवाद बढेको थियो ।

उदयपुर १ मा नेपाली कांग्रेसका नारायण खड्काले १७१३ ले लिड गर्दै अग्रता कायम राखेका छन् । खड्काको २१८३३ मत छ । एमालेकी मञ्जुकुमारी चौधरी २०१२० मत ल्याएर पछ्याइरहेकी छन् ।

सुनसरीका ४ वटा क्षेत्रमध्ये २ को नतिजा आइसकेको छ । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १३,११७ मत ल्याएर अग्रस्थानमा छिन् । एमाले-जसपा गठबन्धनका अशोककुमार राईले १२७०७ र माओवादीका मुक्‍सामहाङ्ग सुब्‍बाको १०११६ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

सुनसरीको क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले निरन्तर लिड गरिरहेकी छन् । चौधरीको २२८४२ छ भने कांग्रेसका विजयकुमार गच्छदार ४५७५ मतले पछि पर्दै १८२६७ मतका साथ लम्किरहेका छन् ।

सुनसरी ४ मा भने विवादपछि रोकिएको गणना १७ घण्टा बित्दासम्म सुरू भएको छैन । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ ।

धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा कांग्रेस उम्मेदवार सञ्चारमन्त्री कार्कीले पुन: मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो । एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैतसँग कार्कीको तीब्र प्रतिस्पर्धा छ । आयोगका अनुसार पछिल्लो परिणाम अनुसार मन्त्री कार्की ९८ मतले मात्र अगाडि छन् । कार्कीको २३४३९ मत छ भने कुसियैतको २३३४१ छ ।

यता मधेसको धनुषा ४ मा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच उछिनपाछिन चलिरहेको छ । अहिले यादव १०२१ मतले अगाडि छन् ।

खसेको करिब ८० हजारमध्ये ५५ हजार गणना गर्दा यादवको २१२२४ र महासेठको २०२०३ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर