किन गलत भयो सुनसरीको चुनावी प्रक्षेपण ? – Nepal Press

किन गलत भयो सुनसरीको चुनावी प्रक्षेपण ?

इटहरी । चुनाव सुरु हुनुअगाडि धरान र आसपासका क्षेत्रहरु समेटिएको सुनसरी क्षेत्र नम्बर १ को चुनावी आँकलन गर्दा धेरैले भनेका थिए, ‘प्रतिस्पर्धा सत्ता गठबन्धन र एमाले-जसपा तालमेलको हुनेछ । त्यसमा चनौती पूर्वमेयर मनोज मेन्याङ्बोको हुनेछ ।’

जब मत गणना सुरु भयो तब यो अनुमान गलत सावित भयो । धरानमा एकाएक राप्रपाका उम्मेदवार अशोक अबिरल राईले लिड गर्न थाले । केही समयपछि सत्ता गठबन्धनका माओवादीका नेता मुक्सामहाङ मेन्याङ्बोको अग्रता आयो । एमाले-जसपाका एकल उम्मेदवार अशोक राई पछि परे ।

अहिले पुनः सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) १२ हजार ८५५ मतसहित शीर्ष स्थानमा देखिएकी छन् । दोस्रोमा रहेका अशोक राईको १२ हजार ५०५ मत छ ।

सुनसरी क्षेत्र नम्बर २ मा गठबन्धनका कांग्रेस नेता सीताराम मेहेता र एमाले/जसता तालमेलका साझा उम्मेदवार भीम आचार्यको सुरुबाटै प्रतिस्पर्धाको चर्चा गरिएको थियो । तर, यो अनुमान पाँच दिनपछि गलत भयो । दोस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रोमा झर्‍यो ।

झन्डै ६ हजार मतान्तरमा भीम आचार्यले जिते । उनले ३२ हजार ८ मत ल्याए । दोस्रो स्थानमा रहेका महतोको २६ हजार ५८ मत छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाको १९ हजार ३८६ मत आएको छ ।

सुनसरी २ मा गत चुनावमा वाम गठबन्धन हुँदा पनि नेपाली कांग्रेसले जितेको थियो । यो चुनावमा एमाले-जसपा तालमेलमा भन्दा सत्ता गठबन्धन बलियो हुने धेरैको अनुमान थियो । तर, गलत सावित भयो ।

इटहरी दुहबी र आसपासको क्षेत्र समेटिएको सुनसरी क्षेत्र नम्बर ३ मा समेत चुनावी आँकलन गलत सावित भएको छ । चुनाव अगाडिसम्म कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरीले पहिलेका दुई चुनावमा जस्तै अहिले पनि सुरुबाटै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो । तर, मत गणनाका तीन-चार दिनले त्यो आँकलन गलत सावित ग¥यो । तीन दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कमलबाबु मौनालीले अग्रता लिए । पछि दोस्रो मत आयो । अहिले भने उनी तेस्रो भएका छन् ।

यो सामग्री तयार गर्दासम्म भगवती चौधरीको २० हजार ५७५ मत छ । दोस्रो स्थानका विजय गच्छदारले १५ हजार ५५४ मत ल्याएका छन् ।

सुनसरीको क्षेत्र नम्बर ४ मा मात्रै पूर्वानुमानअनुसारकै गठबन्धनका कांग्रेस नेता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले-जसपा तालमेलका उम्मेदवार जगदीशप्रसाद कुसियैतको प्रतिस्पर्धा देखिएको छ । यो सामग्री तयार गर्दासम्म २३ हजार ४३९ मत ल्याएर कार्की झिनो मतान्तरले कुसियैतभन्दा अगाडि छन् । कुसियैतको २३ हजार ३४१ मत आएको छ । तेस्रो शक्तिको रुपमा हेरिएको खालिद हुसेन क्षेत्र नम्बर ४ मा छैटौं स्थानमा छन् । उनीभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठ, राप्रपाका विद्यानन्द यादव र जनमत पार्टीका देवराम यादव रहेका छन् ।

मिडियादेखि राजनीतिक विश्लेषकसम्मले अनुमान गरेकोभन्दा भिन्न जनमत सुनसरीमा आएकोमा स्वयं नेता-कार्यकर्ताहरु अचम्मित छन् । इटहरीका कांग्रेस नेता चेतन धमला राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको सुनसरीमा नसोचिएको मत आएको बताउँछन् । इटहरीमा सुनसरीका अन्य क्षेत्रको तुलनामा राप्रपा राम्रो भए पनि धरानमा समेत राम्रो मत आउनुले धेरै अनुमान गलत सावित गरेको उनी बताउँछन् । धमला भन्छन्, ‘यो चुनाव सरप्राइज गर्दै भयो ।’

नेकपा एमाले सुनसरीका नेता जीबी गजल आफ्नो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रतिस्पर्धीकै रुपमा नलिएको बताउँछन् । उनी भन्छन्, ‘सुनसरी एमालेले सत्ता गठबन्धनलाई मात्रै प्रतिस्पर्धी मानेको थियो । तर, जनमत त घण्टीमा पनि आएको देखियो ।’

गजलले समानुपातिकमा घण्टीको चर्चा भए पनि प्रत्यक्षमा भने नसोचिएको मत आएको बताए ।

धरानका पर्यटन अगुवा वासुदेव बराल धरानलाई जन्मजात विद्रोही भनिएकोमा अहिले सुनसरीका अरु क्षेत्रमा पनि त्यो संकेत आएको बताउँछन् ।

‘धरानलाई कम्युनिष्टहरुले पूर्वको सांघाइ भन्थे । तर, २०१५ को चुनावमा धरानमा कांग्रेसका उम्मेदवारले जिते । २०६४ को पहिलो संविधानसभामा एमालेले जित्ने निश्चित भनेर चर्चा हुन्थ्यो । तर, माओवादीले जित्यो’, बराल भन्छन्, ‘उपनिर्वाचनमा नेकपाको एकछत्र हुँदा कांग्रेसलले मेयर जित्यो भने बैशाखको दुई गठबन्धनका मेयर उम्मेदवार हराएर स्वतन्त्रले जितेर धरानले विद्रोही छवि कायमै राखेको छ ।’

धरानमा जस्तै सुनसरीका अन्य क्षेत्रमा समेत अब विद्रोह चेत आउन थालेको बरालको तर्क छ ।

इटहरीको जनता क्याम्पसका लेक्चरर देवराज नगरकोटी सुनसरीमा सोचिएभन्दा भिन्न मत आउनुको मुख्य दुुई कारण मान्छन् । पहिलो, स्थापित दलहरुमा आएको आन्तरिक किचलो र गठबन्धन तथा तालमेलको नाममा हुने जथाभावी टिकट वितरण भएको उनी बताउँछन् । दोस्रो, मतदातामा नयाँ दलहरुमा आएको आशा भएको उनको तर्क छ ।

‘सुनसरी क्षेत्र नम्बर १ मा प्रमुख दल एमाले र कांग्रेसका उम्मेदवार छैनन् । त्यहाँ यी दलका कार्यकर्ताले विरोध गरेर राप्रपा र रास्वपालाई मत हालेको देखिन्छ’, नगरकोटी थप्छन्, ‘२०४८ देखि चुनाव लडेका नेताहरुसँग नेता तथा कार्यकर्तामात्रै होइन आम मतदाता आजित थिए । त्यसैले मतदान गर्दा उनीहरुले यो चुनावमा मत र मन दुवै परिवर्तन गरे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर