मधेसमा माओवादी ‘निरीह’, महिन्द्रले क्लिनस्वीप हुनबाट जोगाए – Nepal Press

मधेसमा माओवादी ‘निरीह’, महिन्द्रले क्लिनस्वीप हुनबाट जोगाए

जनकपुरधाम । मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्र ‘निरीह’ देखिएको छ । प्रदेशका ३२ क्षेत्रमध्ये सत्तागठबन्धनको भागबण्डामा माओवादीले ६ सीट पाएको थियो ।

सर्लाही २ मा माओवादीकै चिन्हमा उठेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव भने विजयी बने । यादवले मधेसमा माओवादीको इज्जत जोगाइदिएका छन् । ५ क्षेत्रमा आफ्ना नेतालाई मैदानमा पठाए पनि रौतहट ३ मा रवीन्द्र पटेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्‍यो ।

रौतहट ३ मा एमालेका बागी उठेका पूर्वनेता प्रभु साह माओवादीसहितका गठबन्धनको समर्थनमा विजयी भए । उनी माओवादीमै फर्किने/नफर्किने निश्चित छैन ।

मधेसमा विगतदेखि नै कमजोर माओवादीलाई गठबन्धनको बलमा जित्नसक्ने क्षेत्रमा उम्मेदवार उठाएपनि तालमेल फापेन ।

प्रभावशाली मानिने नेताहरू मातृकाप्रसाद यादव धनुषा १, विश्वनाथ साह सिरहा ३, गिरिराजमणि पोखरेल महोत्तरी १ र शिवचन्द्रप्रसाद कुशवाहा बारा २ मा पराजित भएका छन् ।

पोखरेल जनमोर्चा हुँदै माओवादीमा आएका नेता हुन् । ०६४, ०७० र ०७४ मा लगातार जितेका पोखरेलको यसपटकको जितयात्रामा एमालेका लक्ष्मी महतोले ब्रेक लगाइदिए ।

माओवादीमा आएदेखि पोखरेल र मातृकाबीच लामो समय गुट उपगुटको राजनीति चल्यो । स्थानीय तहको निर्वाचनअघि उनीहरू मिलेपछि मधेसमा एकढिक्का हुने धेरैको आँकलन पनि यो नतिजाले फेल खाएको छ ।

प्रदेशसभातर्फ पनि माओवादीका अधिकांश नेता पराजित भए । प्रदेशसभा सदस्यका लागि १५ क्षेत्रमा उम्मेदवार खडा गरेका माओवादीले ४ सीटमात्र जित्यो ।

माओवादीले प्रदेशमा जितेका र हारेका क्षेत्रहरू :-

जितेका क्षेत्रः महोत्तरी १ (२), सर्लाही ४ (२), रौतहट ४ (१), पर्सा १ (१)

हारेका क्षेत्रः सप्तरी १ (१), सप्तरी २ (२), सिरहा २ (१), सिरहा ४ (१), धनुषा २ (२), महोत्तरी ४ (२), सर्लाही २ (१), बारा ३ (१), बारा ४ (१), पर्सा ३ (१), पर्सा ४ (२)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर