१० वर्षपछि संघीय संसदमा भीम आचार्य कमब्याकको सुनिश्चित, सुनसरी २ मा एमालेको क्लिनस्वीप – Nepal Press

१० वर्षपछि संघीय संसदमा भीम आचार्य कमब्याकको सुनिश्चित, सुनसरी २ मा एमालेको क्लिनस्वीप

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम प्रसाद आचार्य सुनसरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ ।

२६ सय मत गणना बाँकी रहँदा ५ हजार बढीले अग्रता लिएपछि आचार्यको जित सुनिश्चित भएको हो । सो क्षेत्रमा हालसम्म आचार्यले ३० हजार ८९७ मत पाएका छन् भने कांग्रेसका निवर्तमान सांसद सिताराम मेहताले २५ हजार ४०४ र रास्वपाका लालविक्रम थापाले १८ हजार ७८५ मत पाएका छन् ।

२०६४ र २०७० सालको निर्वाचनमा एमालेबाट तत्कालीन क्षेत्र नम्बर ६ बाट चुनाव जितेका आचार्य यस पटक २ नम्बरमा आएका थिए । अघिल्लो पटक प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका आचार्य १० वर्षपछि पुनः संघीय संसदमा फर्किएका छन् ।

एमालेको सचिवमा उम्मेदवार बनेर पराजित भएपछि केन्द्रीय राजनीतिमा कमजोर बनेको भनिएका आचार्यको पुनः कमब्याक भएको छ ।

सुनसरीका क्षेत्र नम्बर २ का दुवै प्रदेश सभा सदस्यमा पनि एमालेले जितेर गठबन्धनलाई क्लिनस्वीप गरेको छ । प्रदेश सभा १ बाट जिल्ला अध्यक्ष रेवती भण्डारी र २ बाट रामप्रसाद मेहता निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर