टीकापुर घटनामा मृत्यु भएका २ वर्षीय बालकको सालिक बनाइने – Nepal Press

टीकापुर घटनामा मृत्यु भएका २ वर्षीय बालकको सालिक बनाइने

कैलाली । २०७२ भदौं ७ गतेको टिकापुर घटनामा मृत्यु भएका २ वर्षीय बालक टेक बहादुर साउदको सालिक निर्माण गरिने भएको छ । टीकापुर वडा नम्बर १ मा रहेको टेरबहादुर साउद स्मृति पार्कमा बालकको सालिक निर्माण गरिने भएको हो ।

२०७२ मा जारी भएको संविधानमा आफ्ना अधिकारको माग गर्दै भइरहेको आन्दोलन हिंसात्मक बन्दा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो । घटनाको आरोपमा रेशम चौधरी कारागारमा छन् । तर, चौधरी पक्षले भने घटनामा निर्दोषहरुलाई फसाइएको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

यसैबीच प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भए लगत्तै बालकका अभिभावकलाई भेटेर बालकलाई सहिद सम्झँदै सालिक बनाइने बताइन् ।

निर्वाचन भन्दा अघिबाटै २ वर्षिय बालकको सालिक बनाउने बताएकी रन्जिताले अब चाडै त्यो काम सुरु गर्ने बताएकी हुन् ।‘उहाँ कै (रेशम चौधरी) सल्लाहमा बालकको सालिक बनाउने र सहिदका रुपमा सम्झने हामीले योजना बनाएका छौँ ’उनले नेपाल प्रेसलाई भनिन्, ‘यो कुरा बालकका अभिभावकहरुलाई पनि जानकारी दिएका छौँ ।’

अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएको क्षेत्रमा अहिले उनको पत्नी फराकिलो मतान्तरले विजयी भइन् । विजय भए लगत्तै बालकका अभिभावकलाई भेट्दै उनले टेरबहादुर साउद स्मृति पार्कमा बालकको सालिक निर्माण गर्ने घोषणा गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *