गुल्मी १ मा आश्चर्यजनक नतिजा निकालेका चन्द्र भण्डारीको संसदयात्रा – Nepal Press

गुल्मी १ मा आश्चर्यजनक नतिजा निकालेका चन्द्र भण्डारीको संसदयात्रा

रुपन्देही । ०६४ सालदेखि गुल्मीमा एमाले नेता प्रदीप ज्ञवालीसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने नेता हुन् डा. चन्द्र भण्डारी । २०६४, २०७० र २०७४ को निर्वाचनमा गुल्मी २ बाट अहिलेका प्रतिस्पर्धीसँग उम्मेदवार बनेकोमा २०७० मा मात्र विजयी बनेका थिए उनी । अहिले उनको दोस्रो संसदयात्रा हो ।

मतगणनाको सुरुवाती चरणदेखि नै कहिले को अगाडि कहिले को अगाडि बन्दै आएको यहाँको परिणाम निकै प्रतिस्पर्धामा रहेको थियो । अन्तिम समयसम्म पनि कसले जीत हात पर्ने भन्ने विषयमा धेरैलाई कौतुहलता लागेको थियो । ०५१ सालदेखि एमालेले जितेको यो क्षेत्रमा २० वर्षपछि ७० सालमा कांग्रेसको पोल्टामा ल्याउन सफल भएका भण्डारी ७४ सालमा पराजित भएपनि यसपटक पुनः सत्ता गठबन्धनको सहयोगमा इतिहास दोहोर्‍याउन सफल भएका छन् ।

चौथो पटक पनि उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीसँगै परेको भएपनि यस पटक गुल्मेली जनताले भण्डारीलाई विजयी बनाएर पठाएका छन् । दुवै उम्मेदार प्रखर र पार्टीको उच्च तहमा पहुँच भएका कारण पनि यहाँका तटस्थ मतदातालाई समेत कसले जीत हात पार्छ भन्ने चासो बढाएको थियो ।

छत्रकोटको हुँगामा जन्मिएका भण्डारी नेपाली कांग्रेसमा प्रखर र निडर नेताको पहिचान बनाएका नेता हुन्् । पार्टीको आन्तरिक लोकतन्त्रमा होस् वा जनतामा ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने आँट भएका नेताकारुपमा भण्डारीले आफूलाई दर्ज गरेका छन् । २

०१८ सालमा पिता ईश्वरी प्रसाद भण्डारी र आमा हरिकला भण्डारीको कोखबाट जन्मेका भण्डारीको माध्यमिक तह हुँगाकै ठुलापोखरास्थित जनता जागृति माबिमा पूरा गरे । विद्यार्थीकालमा नै राजनीतिमा आकर्षित भण्डारीले विद्यालय पढ्दाकै अवस्थामा अन्यायका विरुद्ध आवाज उठाउनु पर्छ भन्ने गरेको उनीसँग पढेका सहपाठीहरु स्मरण गर्ने गर्दछन् ।

गाउँमा नै भएको धनीले गरिवलाई गर्ने शोषण, ठुला जातले साना जातलाई गर्ने अवहेलनाबाट भण्डारी राजनीतिमा आकर्षित भएको उनका निकस्थहरु बताउँछन् ।

नेपाल बिद्यार्थी संघबाट राजनीतिमा जोडिएका भण्डारी २०३४ सालमा पाल्पा क्याम्पसमा भर्ना भएलगत्तै क्याम्पस इकाई समितिको सभापति बने र स्ववियु निर्वाचनमा सभापतिमा २ पटक पराय भोगेपनि तेस्रो पटक स्ववियु सभापतिमा विजयी बनेका थिए । २०३४ देखि झण्डै १५ वर्ष विद्यार्थी राजनीति गरेका भण्डारी २०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।

भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । दशौं महाधिवेशनबाट १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्यमा जितेका उनी २०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा भने उपसभापति पदमा उठेर पराजित भएका थिए । अहिले पार्टीमा संस्थापन इतर समूहको बलियो नेताको रुपमा उनी चिनिन्छन् । पंचायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पक्राउ परेर झण्डै ६ वर्ष उनले जेल जीवन बिताएका छन् ।

नेपाली लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण घटनामध्ये कांग्रेस नेता गिरिजा प्रसाद कोइरालाको हत्या गर्ने योजनासहित घटाइएको सुर्यपुरा घटनाको डा. भण्डारी जिउँदो साक्षी पनि हुन् । उक्त घटनामा भण्डारी गम्भीर घाइते भएका थिए । पञ्चायती मण्डले समूहबाट भएको सांघातिक आक्रमणमा परि कांग्रेस नेता यादवनाथ आलोकको मृत्यु भएको थियो ।

नेपाली कांग्रेसको देशव्यापी अभियान अन्तरगत नेपाली कांग्रेसका नेताहरु गिरिजा प्रसाद कोइराला, शेर बहादुर देउवा, सैलजा आचार्य,रामचन्द्र पौडेलसहितको टोली २०४० फागुन २० गते रुपन्देहीको कार्यकर्ता प्रशिक्षणमा भाग लिन आएको थियो ।

रुपन्देहीको हाल देवदह नगरपालिका ३ तत्कालीन केरवानी पञ्चायतको सुर्यपुरा गाउँमा त्यतिखेरका कांग्रेसका रुपन्देही सभापति पुष्पानन्द गिरीको घरमा आयोजना भएको सो कार्यक्रमको सूचना पाएका तत्कालीन सिडिओ दानवहादुर शाही, अञ्चलाधिस काजिमान कंगदवहा र दिपक बोहराले बुटवलको अञ्चलाधीश कार्यलयमा बसेर कांग्रेसको नेतृत्वलाई हत्या गर्ने योजना बनाएका थिए ।

यो घटनामा २०० जना घाइते, ३२ जना अंगभंग र २ जनाको हत्या भएको त्यतिखेरका प्रत्यक्षदर्शीहरु बताउँछन ।  सोही घटनामा गुल्मीका कलाधर भण्डारी र चन्द्र भण्डारी पनि गम्भीर घाइते भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर