युवा शक्तिकाे उदय र अबकाे राजनीतिक दिशा – Nepal Press

युवा शक्तिकाे उदय र अबकाे राजनीतिक दिशा

दलदलमा फसेको नेपालको राजनीतिमा युवाको आगमनले अन्ततः बहस तातेको छ । नेपालको राजनैतिक दलको रवैया र त्यसले दिएको परिणामविरुद्धको आवाज हो, आम निर्वाचनमा युवाको जबरजस्त प्रवेश । विचार र सिद्धान्तविहीनतामा रहेको नेपालको राजनैतिक दल अब वादमा हैन, प्रतिस्पर्धामा लाग्न बाध्य बनेको छ । लामो समयसम्म राणाशासनका विरुद्ध लडेका नेपालका राजनैतिक दलहरु लोकतन्त्र प्राप्तका लागि पुनः लडे । यो समय विचारको थियो । राजनैतिक दलमा इमान र निष्ठा थियो । जसले गर्दा राणाशासनको विरुद्धमा एकमना एकताका साथ आन्दोलन भयो । त्यसले उपलब्धि पनि प्राप्त गर्‍यो ।

लोकतन्त्र प्राप्तिपछि गणतन्त्र प्राप्तिका लागि जनयुद्ध लडेको माओवादी र त्यसपछि गणतन्त्र नै अबको विकल्प सोचेको नेपालका राजनैतिक दलहरुको साझा आन्दोलनपछि गणतन्त्र संस्थागत भयो । मुलुक संस्थागत गणतन्त्रमा अगाडि बढ्यो । यो बीचमा विभिन्न घटना घटे पनि संविधान निर्माण, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक शासन व्यवस्थामा दलहरु अगाडि बढे । जुन शासन व्यवस्थामा हामी छौं ।

फेरिएको शासन व्यवस्थालाई अंगीकार गरेको पनि मुलुकमा धेरै वर्ष बितिसकेको छ । अबको राजनैतिक पार्टीहरुको विचार र दृष्टिकोण के त ? गएको चुनावमा पनि विचार र सिद्धान्तविहीन बनेर चुनावमा होमिएको राजनैतिक दलहरुको अहिलेको चुनावी नारा भनेको समृद्ध नेपाल हो । जुन राजनैतिक दलले जे भने तापनि सबैको सार देशको विकास र जनताको समृद्धि नै हो ।

यही बीचमा घोत्लिएका राजनैतिक दलहरुले विभिन्न वादमा आश्रित बने पनि चुनावमा ठोस कार्यनीति र विचार प्रस्तुत गर्न सकेनन् । नेपालको राजनीति कम्युनिष्ट विचारधारा र लोकतान्त्रिक विचारधारामा अगाडि बढे तापनि अहिलेको चुनावमा भने भिन्न देखिएन । कारण थियो, वाम लोकतान्त्रिक गठबन्धन । केपी ओली सरकारले संसद विघटन गरेपछि देखिएको मोर्चावन्दी चुनावसम्म कायम रह्यो । फरक-फरक विचारधारा बोकेका राजनैतिक दलको गठबन्धन साझा घोषणापत्र के बनाउने भन्ने अलमलमा परेका थियो । जसले गर्दा ती राजनैतिक दलहरु विनाएजेण्डा चुनावमा होमिए ।

आफूलाई लोकतान्त्रिक दाबी गर्नेहरुको रवैया सामन्ती प्रवृत्तिभन्दा फरक नहुनु नै नयाँ शक्तिको उदय हो । जसले आम नेपालीको प्रतिनिधित्व गरेको छ ।

नेपालको सन्दर्भमा अबको प्रतिस्पर्धा भनेको लोकतन्त्र कि समाजवाद भन्नेमा नै केन्द्रित छ । देश ध्रुवीय राजनीतिमा विभाजित बने तापनि अबको प्रतिस्पर्धा भनेको कम्युनिष्ट शासन व्यवस्था कि लोकतान्त्रिक व्यवस्था भन्ने नै हो । यही विभक्त विचारधारामा होमिएको नेपालको राजनीति अहिलेको आम निर्वाचनमा भने केही फरक देखियो । जुन विचारधारामा आश्रित नभई राजनैतिक दलहरुले अंगीकार गरेको शासन व्यवस्थामा युवाको हस्तक्षेप नै हो । जुन निर्वाचनमा जबरजस्त पटाक्षेप भइदियो ।

नेपालको राजनीतिमा सबैको विचार र सिद्धान्त समान देखिए तापनि त्यसले दिने ठोस परिणाम भने देखिँदैन । दलबदलको हुण्डरी र राजनीतिमा साम, दाम, दण्ड र भेदको अस्त्रलाई नयाँ उदय भएको राजनैतिक पार्टीको जीतले नयाँ कोर्स सिर्जना गरेको छ । सिद्धान्त र विचारको दृष्टिकोणमा खासै फरक नभएको नयाँ शक्तिको उदयले नेपालको राजनीति कागजी हैन, व्यवहारिक कार्यान्वयनमा जोड दिएको पाइन्छ । आफूलाई लोकतान्त्रिक दाबी गर्नेहरुको रवैया सामन्ती प्रवृत्तिभन्दा फरक नहुनु नै नयाँ शक्तिको उदय हो । जसले आम नेपालीको प्रतिनिधित्व गरेको छ ।

पछिल्लो दशकदेखि नेपालको राजनीति शक्ति र सत्तामा केन्द्रित बनिदियो । गणतन्त्रको अभ्यास र त्यसले अंगीकार गरेको शासन व्यवस्थामा टेकेर राजनीतिक दलले गरेको व्यवहार सह्य हुन सकेन । जनतालाई विवेकहीन सोच्ने र जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति मौलाउँदा अहिलेको चुनाव राजनैतिक दलका लागि कोसेढुङ्गा सावित भयो । जनताको इच्छा र आंकाक्षाभन्दा पनि जनविरोधी काम गर्ने र जनतालाई रैती सम्झने परिपाटीले अन्ततः नेपालको राजनीति जबरजस्त विचार र सिद्धान्तमा अभ्यस्त बन्न बाध्य बनेको छ ।

गणतन्त्रको अभ्यास र त्यसले अंगीकार गरेको शासन व्यवस्थामा टेकेर राजनीतिक दलले गरेको व्यवहार सह्य हुन सकेन । जनतालाई विवेकहीन सोच्ने र जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति मौलाउँदा अहिलेको चुनाव राजनैतिक दलका लागि कोसेढुङ्गा सावित भयो ।

शासन व्यवस्था परिवर्तन गर्न जनयुद्धमा होमिएको माओवादी र यही शासन व्यवस्था टिकाउन खेलेको राजनैतिक दलको गठजोडले अन्ततः नेता र नेतृत्व के चाहन्छन् भन्ने कुरा पुष्टि भएको छ । विचारको समानतामा गठजोड आवश्यकता छ । तर, सत्ता र शक्ति प्राप्त गर्न फरक ध्रुवमा उभिएका राजनैतिक दलहरु पनि गठबन्धनमा गए । नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन नै यस चुनावको लागि अभिसाप बनिदियो । संख्यात्मक रुपमा नेपाली कांग्रेसलाई संसदीय गणतन्त्रमा केही उकेसो लागे तापनि गठबन्धनको मर्मले अबको राजनीति नेपालको पुरातनवादी सोच बोकेका राजनैतिक दलमा मात्र सीमित छैन भन्ने कुरा सावित गरिदियो ।

गठबन्धन केका लागि ? गठबन्धनकर्ता राजनैतिक दलहरुले ठोस जवाफ दिन नसक्दा, देश आर्थिक रुपमा कमजोर भइरहँदा, भ्रष्टाचार मौलाइरहँदा, रोजगारीको अवसर सिर्जना नहुँदाको विकल्प अहिलेको चुनावमार्फत जनताले प्रस्फुटन गरेका छन् । अबको राजनीतिमा हिजोको जस्तो यही राजनैतिक संस्कारबाट हिँड्न कदापि सम्भव छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको जबरजस्त उदय, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवारको विजयले पनि अबका पुराना राजनैतिक दलहरु कि त सच्चिन सक्नु पर्दछ । नत्र जनताबाट तिरस्कृत हुँदै जाने देखिन्छ ।

रवैयाको पनि सीमा हुन्छ भन्ने कुरा अहिलेको आम निर्वाचनले प्रस्ट पारेको छ । समान विचारधारा, हराएको सिद्धान्तको बीचमा नयाँ पुस्ताको आगमनले साँच्चै नेपालको राजनीतिलाई तरंगित बनाएको छ । यथास्थितिमा देश चल्न सक्दैन । अबको युग भनेको प्रतिस्पर्धाको हुनेछ भन्ने कुरा युवाहरुको जबरजस्त उदयले पुष्टि गरेको छ । युवामा पनि पुराना पार्टीमा आवद्ध युवा हैन, नयाँ पुस्ताका कुनै पनि राजनैतिक दलमा आस्था नराखेका, विचार र दृष्टिकोण दिन सक्ने युवाको जीतले देश तथा विदेशमा रहेका आम नेपालीमा नयाँ रक्तसञ्चार प्रवाह गरेको छ ।

अबको युग भनेको प्रतिस्पर्धाको हुनेछ भन्ने कुरा युवाहरुको जबरजस्त उदयले पुष्टि गरेको छ । युवामा पनि पुराना पार्टीमा आवद्ध युवा हैन, नयाँ पुस्ताका कुनै पनि राजनैतिक दलमा आस्था नराखेका, विचार र दृष्टिकोण दिन सक्ने युवाको जीतले देश तथा विदेशमा रहेका आम नेपालीमा नयाँ रक्तसञ्चार प्रवाह गरेको छ ।

सरकार बन्न जस्तो पनि गठबन्धन गर्ने, सरकार टिकाउन विभिन्न हत्कण्डा गर्ने, जनअभिमतको कदर नगर्नेको प्रतिफल हो, अहिलेको चुनावी नतिजा । जुन एक्काइसौं शताब्दीमा आवश्यक पनि हो । सत्ता र शक्तिका लागि जनताको नाम भजाउने तर शक्ति र सत्तामा पुगेपछि स्वार्थ केन्द्रित व्यवहारको बीचको लडाइँले अबको राजनीति प्रतिस्पर्धामा केन्द्रित हुनुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिदिएको छ । राजनीतिका नाममा गरिएका तिकडम अब जनतालाई सह्य छैन भन्ने कुरा स्थानीय तहमा बालेन, हर्कको उदयले पनि नबिउँझेका नेपालका राजनैतिक दलहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जबरजस्त उदय, स्वतन्त्र व्यक्तिको जीतले पक्कै पनि झस्काएको हुनुपर्दछ ।

देश किन बनेन ? नेपाल किन परनिर्भर बन्यो ? रोजगारीको अवसर किन सिर्जना भएन ? यी प्रश्नहरु आम जनताको प्रश्न हुन् । जुन प्रश्न नेपाली जनताले पटक-पटक नेतालाई सोधिरहे । नेताहरुको दादागिरीमा आजित जनताले यही प्रश्न सोध्ने युवालाई संसदमा जिताएर पठाएका छन् । जनताका प्रश्नहरु सधैं सोध्ने युवाहरु अब आम युवाको प्रतिनिधित्व गर्ने भएका छन् । नीति निर्माण गर्ने, कानून बनाउने अभिभारा बोकेका युवाहरु अब आम नेपालीको आशाका किरण हुन् ।

वर्षौंदेखिको एकाधिकारवादी सोचमा ब्रेक लगाउने युवाहरु नै अबको नयाँ नेपाल निर्माणका अभियन्ता बनेका छन् । पुरानै संसदीय व्यवस्थामा फस्ने छुट नयाँ संसदहरुलाई छैन । यही चुनौतीको पहाडमा उभिएका युवाहरुको दबाब र खबरदारीले पुराना राजनैतिक दलहरु पनि जनताप्रति बफादार बन्नेमा आम जनता आशावादी छन् । जनताको यो अभिमतलाई स-सम्मान ग्रहण गरी विकसित नेपाल र समृद्ध नेपाल निर्माणमा लाग्नुको विकल्प देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *