प्रदेश १ मा एमाले पहिलो, मुख्यमन्त्री को ? – Nepal Press

प्रदेश १ मा एमाले पहिलो, मुख्यमन्त्री को ?

विराटनगर । प्रदेश १ का ४० निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसक्दा सरकारको नेतृत्वबारे बहस सुरू भएको छ । अन्तिम मत परिणाम आएका क्षेत्रमध्ये एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ । एमालेले प्रदेशका १६ निर्वाचन क्षेत्रमा जित्दा कांग्रेसले १२ वटा निर्वाचन क्षेत्रमा जित निकालेको छ । माओवादी केन्द्रले ८ सीट जित्दा नेकपा एस र राप्रपाले २/२ सीट जितेको छ ।

परिणामअनुसार सत्ता गठबन्धनले प्रदेशसभामा २२ सीट जितेको छ । एमाले र राप्रपाको जोड्दा १८ क्षेत्र रहेको छ । गणना भएका १४ मध्ये ७ स्थानमा एमाले अगाडि छ । नेपाली कांग्रेस ४ स्थानमा अगाडि छ भने समाजवादी दुई र माओवादी र एक स्थानमा अगाडि छ । दुई स्थानको मतगणना सुरू भइसकेको छैन । यदि अग्रता लिएका ७ वटै स्थानमा एमालेले जित्ने हो भने प्रत्यक्षतर्फ एमालेको २५ सीट हुनेछ ।
सत्तागठबन्धनको भने प्रत्यक्षतर्फ २९ सीट हुनेछ ।

यहाँ मुख्यमन्त्रीका दाबेदारहरूबारे चर्चा गरिएको छ ।

कांग्रेसबाट अमृत !

गठबन्धन दलका तर्फबाट सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बन्नेछ । उसको नेतृत्वमा सरकार बन्ने हो भने मुख्यमन्त्रीको दाबेदारी गर्नेमध्ये अमृत अर्याल, भीम पराजुली, केदार कार्की विजयी भइसकेका छन् । मुख्यमन्त्रीको दाबी गरेका गुरुराज घिमिरे भने पराजित भए ।

प्रदेश १ का सभापति उद्धव अर्याल समानुपातिक सूचीमा पहिलो नम्बरमा छन् । उनी पनि मुख्यमन्त्रीकै दाबेदारीमा छन् ।

मुख्यमन्त्रीकै आकांक्षी हिमाल कार्की र राजिव कोइरालाले अग्रता लिएका छन् । यदि कांग्रेसको नेतृत्वमा सरकार बन्ने हो भने ६ जनाका बीचमा संसदीय दलको नेता को बन्ने भन्ने दौडधुप सुरू भइसकेको छ ।
दौडधुप सुरू भएपनि अमृत अर्याल मुख्यमन्त्रीको लाइनमा सबैभन्दा अगाडि हुने छन् । उनी देउवानिकट नेता हुन् । उनीसँगै प्रदेश १ का सभापति थापा पनि देउवा लाइनकै नेता हुन् । कोइराला पक्षबाट राजिव कोइरालाको सम्भावना रहनेछ ।

निर्वाचनका बेला क्षेत्र बाँडफाँटमा जस्तै मुख्यमन्त्री बाँडफाँटमा प्रदेश १ कोइराला पक्षकोमा परे राजिव कोइराला मुख्यमन्त्री बन्न सक्ने छन् । कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले अहिले नै मुख्यमन्त्रीको भन्ने विषय हतारो भएको बताए । उनले सवै क्षेत्रको नतिजा र समानुपातिक मतबाट सांसद संख्या प्राप्त भएपछि मुख्यमन्त्री को भन्न सकिने बताए ।

सत्ता गठबन्धनमै मुख्यमन्त्री बाँडफाँट भएको अवस्थामा प्रदेश १ मा मुख्यमन्त्री माओवादीले पाएमा इन्द्रबहादुर आङ्वो मुख्यमन्त्रीको लाइनमा रहने छन् । भने समाजवादीको भागमा परे पुन: राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन् । तर, सामाजवादीको न्यून सीट भएकाले उनले मुख्यमन्त्री पाउने सम्भावना टरेको छ ।

एमालेबाछ  हिक्मत

ठूलो दलको हिसाबले एमालेले सरकार बनाउने अवस्था आए एमालेबाट निर्विकल्प हिक्मत कार्की मुख्यमन्त्री बन्ने छन् । पोलिटब्युरो सदस्यसमेत रहेका कार्की यस अघि पनि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीमा थिए । उनी निर्वाचनमा जाँदा नै आगामी मुख्यमन्त्रीको नारा लिएर चुनावमा होमिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर