योगेशको टिप्पणी- गठबन्धनको औचित्य जनताले समाप्त पारे, चुनावमा सत्ताको दुरुपयोग भयो – Nepal Press

योगेशको टिप्पणी- गठबन्धनको औचित्य जनताले समाप्त पारे, चुनावमा सत्ताको दुरुपयोग भयो

काठमाडौं । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराईले जनताले सत्ता गठबन्धनको औचित्य समाप्त पारिदिएको टिप्पणी गरेका छन् । निर्वाचित भएको प्रमाणपत्र बुझेपछि पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले प्रचण्ड र माधव नेपालले अब देउवाको सहयोगी भूमिकामा रहनुको औचित्य पनि गुमाएको बताए ।

भट्टराईले भने- मंसिर ४ गतेको चुनावले तपाईहरुको गठबन्धनको औचित्य समाप्त भएको छ । कांग्रेसलाई बोक्नुपर्ने, प्रचण्ड र माधव नेपालले देउवाको दुईतिर समातेर कुर्सीमा बसाउनुपर्ने औचित्य समाप्त भएको छ । उहाँहरुले पनि अब नयाँ ढंगले सोच्नुहोस् भन्ने आग्रह गर्छु ।

नेता भट्टराईले ताप्लेजुङको चुनावका क्रमा सत्ता गठबन्धनले जातीय सद्भाव भड्काउने, जिल्लालाई अशान्त बनाउने र चुनावको बेला बदमासी गरेर धाँधली भएको भन्दै प्रदेश २ को चुनाव पराजयको समिक्षा हुने बताए । उनले चाँडै पार्टीको केन्द्रीय कमिटी बैठक बसेर पार्टीले अबको नीति तय गर्ने समेत बताए ।

भट्टराईले एमालेसँग मिलेर चुनाव लड्दा ५३ सीट जितेको माओवादीले यसपटक कांग्रेससँँग मिलेर लड्दा २५ सीटमा खुम्चिने अवस्था रहेको दाकी गरे । उनले कांग्रेससँगको समिकरण फाइदाजनक भयो कि भएन भनेर समीक्षा गर्न माओवादीलाई सुझाव दिए ।

भट्टराईले भने- प्रचण्डले यही ताप्लेजुङ आएर अनन्तकालसम्म गठबन्धन रहन्छ भन्नुभयो । तर एकपटक सोच्नुस् आज तपाईंको हालत के भयो ? एमालेको विरोध गरेर, केपी ओलीको विरोध गरेर केही फाइदा छैन तपाईंहरुलाई । सत्ताको भर्‍याङमात्र बन्ने हो भने माओवादीको एक औचित्य छ ?

उनले एमालेको विभाजन गरेर माधव नेपालले लगेको सीटको ब्याज त होइन साँवा पनि जित्न नसकेको बताए । एमालेको नेतृत्वमा विशाल कम्युनिस्ट आन्दोलन अघि बढ्न नदिन प्रचण्ड माधवले साथ दिएको आरोप लगाए । उनले पार्टी विभाजनको औचित्य चुनावले पुष्टि गर्न नसकेको बताए ।

उनले फेरि पनि त्रिशंकु प्रतिनिधि सभा बन्ने अवस्था रहेको र त्यो मुलुकको हितमा नरहेको बताए ।

 


प्रतिक्रिया

One thought on “योगेशको टिप्पणी- गठबन्धनको औचित्य जनताले समाप्त पारे, चुनावमा सत्ताको दुरुपयोग भयो

  1. गठबन्धन भारतले बनाईदिएको हो ।जनताले होईन ।यो ठगहरूको बन्धन हो । लुटन र देश भारतलाई बेच्न बनेको । काँष्रेसले विना पैसाका नोकरहरू प्रयोग गरेर देशलाई अस्थिर बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर