राप्रपासँग हारे ३ पूर्वगृहमन्त्री र गृह राज्यमन्त्री, बहालवाला खाण ‘रेड जोन’मा – Nepal Press

राप्रपासँग हारे ३ पूर्वगृहमन्त्री र गृह राज्यमन्त्री, बहालवाला खाण ‘रेड जोन’मा

काठमाडौं । दुई पूर्वगृहमन्त्री र एक गृह राज्यमन्त्रीलाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । बहालवाला गृहमन्त्री बालकृष्ण खाण पनि राप्रपाकै उम्मेदवारसँग जीतको लागि संघर्ष गरिरहेका छन् ।

राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङदेनले नेपाली कांग्रेसका कृष्ण सिटौलालाई लगातार हराएका छन् । झापा ४ मा पूर्वगृहमन्त्री सिटौला लिङदेनसँग लगातार दोस्रोपटक पराजित भएका हुन् । लिङदेनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई माओवादी केन्द्र र नेकपा एसलगायतको समर्थन थियो ।

लिङदेनले तीन हजारभन्दा बढी मतले सिटौलालाई पराजित गरे । लिङदेनले ४० हजार ६६२ र सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरे । अघिल्लोपटक सांसद निर्वाचित भए यता लिङदेन पार्टी अध्यक्षसमेत निर्वाचित भएका थिए ।

राप्रपा अध्यक्षमा लिङदेनसँग पराजित पूर्वगृहमन्त्री कमल थापा राप्रपाकै उम्मेदवार दीपकबहादुर सिंहसँग पराजित भए । पार्टी अध्यक्षमा हारेपछि राप्रपा नेपाल ब्युँताएका थापा नेकपा एमालेसँग गठबन्धन गरेर मकवानपुर १ मा प्रतिनिधिसभामा उठेका थिए ।

तर, उनलाई पराजित गरी राप्रपाका दीपकबहादुर सिंह पहिलोपटक सांसद निर्वाचित भए । सिंहले २४ हजार १९५ मतसहित थापाभन्दा करिब २ हजार बढी मत प्राप्त गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा गृहमन्त्री भएका थापा गणतन्त्र आएयताका सरकारमा पनि मन्त्री बनेका थिए ।

उनी अघिल्लोपटक नेकपा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए ।

राप्रपाका अर्का उम्मेदवार ध्रुवबहादुर प्रधान पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गर्दै प्रतिनिधिसभा सांसद निर्वाचित भएका छन् । प्रधानले कँडेलभन्दा करिब १५ हजार बढी मत प्राप्त गरे । प्रधान नेपाल प्रहरीका पूर्वप्रमुख पनि हुन्।

बहालवाला गृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ मा राप्रपाकै दीपक बोहोरासँग पछिल्लो मतगणनाको परिणाममा पछाडि छन् । पूर्वगृह राज्यमन्त्रीसमेत रहेका बोहोराले २७ हजार ६३१ मत ल्याएका छन् । खाण २७ हजार १५८ मत ल्याएर बोहोरालाई पछ्याइरहेका छन् । बोहोरा करिब ५ सय मतले अगाडि छन् ।

खाण अघिल्लोपटक समानुपातिकबाट सांसद बनेका थिए । नेपाली कांग्रेसको समर्थनसहित उम्मेदवार बनेका बोहोरा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए । यसपटक बोहोरालाई नेकपा एमालेको सहयोग थियो । बहालवाला गृहमन्त्री खाण सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर