तिलोत्तमाबाट चर्चामा आएका घिमिरेको रोचक संसदयात्रा – Nepal Press

तिलोत्तमाबाट चर्चामा आएका घिमिरेको रोचक संसदयात्रा

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर बनेर चर्चामा आएका वासुदेव घिमिरे नेपाली कांग्रेसले आधार इलाका मानेको क्षेत्रमा फराकिलो जित निकालेर पुनः चर्चामा आएका छन् ।

०७४ सालमा एमाले माओवादीको तालमेलमा अधिकांश क्षेत्र सोही गठबन्धनले जितेका समयमा अहिलेका माओवादी सचिव डिलाराम आचार्यले भन्दा १४ हजार बढी मत ल्याएर कांग्रेस नेता भरत शाहले आफ्नो किल्लाजस्तै बनाएको क्षेत्रमा उनले ९ हजारभन्दा बढी मतले जित निकालेका छन् ।

रुपन्देहीको क्षेत्र नं ३ मा स्थायी घर भएका उनी सोही क्षेत्रबाट उम्मेदवार बन्ने गरी पार्टीबाट सिफारिस भएका थिए तर सो क्षेत्र पार्टीले राप्रपाका दीपक बोहरालाई दिने सहमति गरेपछि निराशजस्तै थिए । त्यसो त उनीसँगै तत्कालीन एमाले नेता घनश्याम भुसाल पनि सोही क्षेत्रबाट सिफारिस भएका थिए । भुसालले टिकट नपाएपछि पार्टी नै छाडेर क्षेत्र नं १ पुगेर सत्तारुढ दलको उम्मेदवार बने तर घिमिरेले धैर्य गरे ।

उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन त्यो भन्दा पहिला खासै धेरै नघुमेको क्षेत्र रुपन्देही ५ मा उनलाई पार्टीले टिकट दिने निर्णय गरेको समाचारले फेरी वासुदेव चर्चामा आए । किनकि सो क्षेत्रमा नेता खिमलाल भट्टराईको नाम एकल सिफारिस भएको थियो । राष्ट्रिय सभामा विपक्षी दलको नेता भएको र कार्यकाल पनि अझै डेढ वर्ष भएकाले पार्टीले बनाएको उम्मेदवार चयन गर्ने आधारमा भट्टराई परेका थिएनन् तर उनी बाहेक सो क्षेत्रमा चुनाव जित्न सकिँदैन भन्ने पार्टीमा बहस भएको थियो । तर पार्टीबाट टिकट पाएका नेता घिमिरेले तिलोत्तमामा कमाएको काम गर्ने नेता गरेको ब्याकअप पूँजी क्षेत्र नम्बर ५ मा छोटो समयमै पुर्याउनसके

रुपन्देही–५मा निरन्तर नेपाली काँग्रेसले जित्दै आएकोमा घिमिरेले काँग्रेसको अखडा भत्काउँदै जित नेकपा एमालेको पक्षमा पार्न सफल भएका छन् । यो सबैको एउटै कारण हो, २०७४ सालमा तिलोत्तमाको नगर प्रमुख हुँदा घिमिरेले गरेको काम र योगदान । पाँच वर्षमा घिमिरेको नेतृत्वमा तिलोत्तमामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रूपान्तरणको क्षेत्रमा थुप्रै रचनात्मक कामहरू भए । तिलोत्तमाले गरेका कतिपय काम राष्ट्रिय रुपमै चर्चामा मात्र रहेनन्, अन्य पालिकाहरूको लागि सिकाई समेत बन्दै आएका थिए । काठमाडौं महानगरका अहिलेका मेयर बालेन शाहले आफ्नो चुनावी रणनीति बनाउन पहिले तिलोत्तमा आएर घिमिरेसँग केही समय बसेका थिए । चुनावको अघि पनि उनी लुम्बिनी आएर वासुदेवलाई सान्त्वना दिएका थिए ।

रुपन्देहीको क्षेत्र नं ५ मा ०५६ सालदेखि शाह लड्दै आएको रुपन्देही ५ मा विगत तिन कार्यकाल त विजय हासिल गरेका थिए । उनी चौथो जित निकाल्न चुनावी मैदानमा रहेका थिए । तर पहिलो पटक संसदीय निर्वाचन लडेका तिलोत्तमा नगरपालिकाका निवर्तमान नगर प्रमुख वासुदेव घिमिरे ९ हजारभन्दा बढी मतले शाहलाई पराजित गर्दै प्रतिनिधिसभाको सदस्य बनेका छन् । यति धेरै फराकिलो मतले विजयी हुनुको पछाडिको कारण भने उनले तिलोत्तमामा गरेको काम नै हो ।

काम गर्नेलाई जनताले जिताउँछन् भन्ने उदाहरण हेर्नका लागि टाढा जानु पर्दैन । र पार्टी त छँदै छ, तर व्यक्तिको व्यक्तित्व र उसले समाजमा पुर्‍याएको योगदानले नै उसलाई सफल बनाउन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् रुपन्देही–५ वाट निर्वाचित प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे ।

२०७४ मा तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर घिमिरेले नौला र अनुकरणीय कामहरू मार्फत तिलोत्तमालाई मुलुककै उत्कृष्ट नगरपालिका बनाउन सफल भएका थिए । घिमिरेले आफूले पाउने ५ वर्षकै सेवा सुविधा सरकारी विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति बाँड्नेदेखि काठमाडौं बाहिर पहिलो लगानी सम्मेलन, नगरलाई खुल्ला प्लास्टिकमुक्त नगर, बालमैत्री नगर र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र दिलाउँदै दुई पटक उत्कृष्ट नगरपालिका बनाएका थिए ।

यही पहिचानका कारण अब्बल जनप्रतिनिधिको रूपमा प्रमाणित भएका कारण घिमिरेलाई नयाँ निर्वाचन क्षेत्र प्राप्त भए पनि मतदाता परिचित हुन धेरै समय लागेन । जसको फलस्वरूप घिमिरे जित आफ्नो पक्षमा पार्न सफल भए ।

पाँच वर्षमा घिमिरेको नेतृत्वमा तिलोत्तमा नगरपालिकामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रूपान्तरणको क्षेत्रमा थुप्रै रचनात्मक कामहरू भए । तिलोत्तमाले गरेका कतिपय काम राष्ट्रिय रूपमै चर्चामा मात्र रहेनन्, अन्य पालिकाहरूको लागि सिकाई समेत बन्दै आएका छन् ।

संसदीय राजनीतिको लागि उनको दाबी क्षेत्र नं. ३ मा थियो, जहाँ एमालेले राप्रपालाई सिट छाडेपछि यो पटक उनले संसदीय राजनीतिको आशा मारेका थिए । तर, परिस्थिति यस्तो बन्यो कि क्षेत्र नं. ५ मा अप्रत्याशित टिकट लिएर पार्टीभित्रको सुरुवाती असन्तुष्टिका बीच घिमिरे जीतको ताज पहिरिन सफल भएका छन् । हुन त घिमिरेलाई तिलोत्तमाको नगर प्रमुखको टिकट पाउँदा पनि पार्टीभित्र ठूलै संघर्ष गर्नु परेको थियो । । पार्टीले मोहन चापागाईँलाई दिएको टिकट खोसेर घिमिरेले पाएपछि निर्वाचित भएका थिए । अहिलेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि त्यस्तै भयो । सुरुमा वासुदेवले टिकट लिएर आएपछि पार्टीकै अर्का नेता खिमलाल भट्टराईले एकाएक राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर अर्को टिकट लिएर आएपछि को आधिकारिक भन्ने विवाद चर्कियो ।

विवाद मात्र भएन, खिमलाल पक्षधर र उनी पक्षधर कार्यकर्ताबीच फाइल खोसाखोससमेत भयो । घिमिरेले मनोनयन दर्ता गरेको केही घण्टापछि भट्टराईले पनि मनोनयन दर्ता गरे । यसपछि घिमिरेलाई मनोनयन दर्ता फिर्ता लिन चारैतिरबाट दबाब आयो । तर घिमिरे पछि हटेनन् ।

त्यसपछि खिमलालले आफ्नो उम्मेदवारी फिर्ता लिए र वासुदेवको चुनावी कमाण्डर बने । तर वासुदेवले हार खाएनन् र आफू नगरप्रमुख हुँदा गरेका कामहरू संस्थागत गर्न र अझ समग्र निर्वाचन क्षेत्रकै विकासका लागि मत मागिरहे । परिणाम स्वरूप पूर्व नगर प्रमुख घिमिरेले फराकिलो मतान्तरमा संसदयात्रा तय गरेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीसमेत यही क्षेत्रमा रहेको र रुपन्देहीको ५ नम्बर क्षेत्रलाई नमुना बनाउने योजना बनाएको बताउने घिमिरेको कार्यकाल कसरी पूरा हुनेछ त्यो समयले बताउने छ ।

को हुन् घिमिरे ?

प्रतिनिधिसभा सदस्य पदमा रुपन्देही क्षेत्र नं. ५ बाट विजयी हुनुभएका वासुदेव घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाको निवर्तमान नगर प्रमुख हुन् । नयाँ नगरपालिका भएर पनि उनको नेतृत्वमा भएका कामका कारण तिलोत्तमा देशकै उत्कृष्ट नगरपालिकाको स्थापित छ । तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थायी ठेगाना भएका घिमिरेको जन्म वि.सं. २०२५ असार २६ गते गुल्मीको बडागाऊँ (हाल मुसिकोट नगरपालिका) मा भएको हो । बुबा स्व. छायादत्त र आमा भीमादेवीको कोखबाट जन्मिएका चार भाइमध्ये वासुदेव साइँला हुन् । उनका तीन दिदीबहिनी छन् ।

उनको सुरुवाती शिक्षादीक्षा गुल्मीको मैदानस्थित पृथ्वी माविमा भएको थियो । घिमिरे परिवार वि.सं. २०४० सालमा रुपन्देहीको सङ्कर नगर ड्राइभर टोलमा बसाइसराइ गरेपछि उनले शान्ति माविमा पढेर एसएलसी सोही विद्यालयबाट उत्तीर्ण गरे । उनले बुटवलको वाणिज्य क्याम्पसबाट स्नातक तहको औपचारिक अध्ययन पूरा गरे । शान्ति घिमिरेसँग विवाह गरे घिमिरेका दुई छोरी र एक छोरा छन् ।

वासुदेव राजनीति यात्रामा २०४४ सालबाट जोडिएका हुन् । उनले २०४८ मा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरे । उनले पार्टीको साबिक सङ्कर नगर गाउँ कमिटी सचिव भएर दुई कार्यकाल पूरा गरे । इलाका सचिव हुँदै उनले क्षेत्रीय अध्यक्ष तथा रुपन्देही जिल्ला कमिटीमा तीन कार्यकाल सदस्य भएर काम गरे । हाल उनी पार्टीको प्रदेश कमिटी सदस्य तथा केन्द्रीय स्थानीय तह विभाग सदस्य छन् । युवा संघको गाउँ कमिटी हुँदै दुई पटक जिल्ला अध्यक्ष बनेका घिमिरे एक कार्यकाल केन्द्रीय सदस्यको भूमिकामा रहेर काम गरेका थिए ।

विभिन्न संघ–संस्थाहरूको कुशल व्यवस्थापन गरेको अनुभवसमेत उनीसँग छ । दुई कार्यकाल तत्कालीन मिसन डेभलपमेन्ट बैंकको अध्यक्ष, विभिन्न कलेज तथा विद्यालयहरूको अध्यक्ष रहेका घिमिरेलाई सरकारी कार्यालय तथा विभिन्न आयोजनामा काम गरेको अनुभव संगालेका छन् । सरलता, सबैलाई मिलाएर लैजान सक्ने, निर्णय क्षमता नि पूर्णता उनका विशेषता रहेको उनका समर्थकहरू बताउँछन् । घिमिरेले चीन, स्वीट्जरल्याण्ड, फ्रान्स, जर्मनी, कोरिया, नेदरलेण्ड, सिंगापुर, मलेसिया, थाइल्याण्डलगायतका विभिन्न २० मुलुक भ्रमण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर