सिरहा : जसपा परित्याग गरी एमाले प्रवेश गरेका दुईजना प्रदेशसभामा विजयी – Nepal Press

सिरहा : जसपा परित्याग गरी एमाले प्रवेश गरेका दुईजना प्रदेशसभामा विजयी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) बाट टिकट नपाएपछि नेकपा एमालेमा प्रवेश गरेका दुई नेता सिरहाबाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

नेकपा एमालेले मनोनयन दर्ता गर्ने बेलामा पार्टी प्रवेश गराएर टिकट दिएका मनोज सिंह सिरहा ३ (१) र शत्रु धन प्रसाद सिंह सिरहा २ (२)बाट विजयी भएका हुन् ।

मनोजले १५ हजार ८८६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसगुन यादव १२ हजार ८९९ मत पाए ।

विजयी भएका मनोज जनता समाजवादी पार्टीबाट गोलबाजार नगरपालिकाको मेयरमा पराजित भएका थिए । अचम्म त के भने जोसँग मेयरमा मनोज प्रतिस्पर्धा गरे, एमालेबाट मेयरमा जितेका उही श्याम श्रेष्ठ उनलाई प्रदेशसभा सदस्यमा जिताउन दिनरात मेहनत गरे ।

यस्तै मनोनयन दर्ता गरेकै दिन एमालेमा प्रवेश गरी टिकट पाएका शत्रु धन पनि प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका मदनसेन श्रीवास्तवलाई पराजित गरे ।

शत्रु धन तत्कालीन मधेसी जनअधिकार फोरमबाट पहिलो संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । उनी पर्यटन राज्यमन्त्री पनि बनेका थिए ।

लामो समय उपेन्द्र यादवको साथमा रहेका शत्रु धन ०७४ मा सिरहा २ बाट पराजित भएका थिए । यो पटक टिकट नपाएपछि उनी जसपा परित्याग गरे र अहिले प्रदेशसभा सदस्य बन्न सफल भए । उनी जसपा त्यागे पनि एमालेसंग गठबन्धन भएकाले जसपा प्रतिनिधिसभा सदस्यको उम्मेदवार राजकिशोर यादवको पनि मत मागे ।

मनोज र शत्रु धन एकै पटक नेकपा एमालेमा केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठको हातबाट सदस्यता लिएका थिए । उनी दुबै जना आफन्त पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर