सुदूरपश्चिम : प्रतिनिधिसभामा कांग्रेस अघि, प्रदेशसभामा कांग्रेस र माओवादीको बराबर जित – Nepal Press

सुदूरपश्चिम : प्रतिनिधिसभामा कांग्रेस अघि, प्रदेशसभामा कांग्रेस र माओवादीको बराबर जित

कुन दलले कहाँ जिते ?

कैलाली । सुदूरपश्चिम प्रदेशमा अहिले १६ प्रतिनिधि सभा मध्ये ११ क्षेत्रको मतपरिणाम आइसकेको छ । बाजुरामा मतगणना अनिश्चित रहेको छ भने अन्य केही क्षेत्रमा मतगणना जारी रहेको छ ।

मतगणना सम्पन्न भएका क्षेत्र मध्ये प्रतिनिधिसभामा नेपाली कांग्रेसले सबै भन्दा धेरै क्षेत्रमा विजयी भएको छ । अहिले सम्म प्रदेशका १६ मध्ये ६ क्षेत्रमा कांग्रेस विजयी भइसकेको हो ।

सत्ता गठबन्धनमा कांग्रेसलाई ९ क्षेत्र भाग परेको थियो । ती मध्ये ६ क्षेत्रमा जित हासिल गरिसकेको छ भने २ क्षेत्रमा १ क्षेत्रमा अग्रता बनाइरहेको छ । एक क्षेत्रमा अझै मत गणन हुन सकेको छैन भने १ क्षेत्रमा पराजित भएको छ ।

अहिले सम्म कैलाली ४ मा कांग्रेसका वीर बहादुर बलायर, कञ्चनपुर २ मा एनपी साउद र ३ मा रमेश लेखक विजयी भएका छन् । त्यस्तै डडेल्धुरमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, अछाम २ मा पुष्प शाह र दार्चुलामा दिलेन्द्र बडू निर्वाचित भइसकेका छन् ।

नेकपा एकीकृत समाजवादीलाई तीन क्षेत्र भागमा परेको थियो ती तीनै क्षेत्रमा नेकपा एस विजयी भएको छ । डोटीमा प्रेम आले, अछाम १ मा शेरबहादुर कुवर र बझाङमा भानुभक्त जोशी विजयी भएका छन् ।

नागरिक उन्मुक्तिबाट कैलाली १ मा रन्जिता श्रेष्ठ र ३ मा गङ्गा चौधरी निर्वाचित भइसकेका छन् । अहिले सम्म कैलाली २ र५,कञ्चनपुर १ र बैतडीमा मत गणना जारी छ ।

प्रदेश सभामा कांग्रेस र माओवादी बराबर

सत्ता गठबन्धनमा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ एक क्षेत्र पनि जित्न नसकेको बेला प्रदेश सभामा भने सबै भन्दा धेरै क्षेत्र माओवादी केन्द्रले जितेको छ ।

अहिले सम्म प्रदेशमा माओवादी केन्द्रले ६ क्षेत्र, कांग्रेसले ६ क्षेत्र, ४ क्षेत्रमा नागरिक उन्मुक्ति २–२ क्षेत्रमा एमाले र नेकपा एकीकृत समाजवादी र १ क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

माओवादीबाट खगराज भट्ट, ओमविक्रम भाट,भीम बहादुर भण्डारी, शिवसिंह ओली, झपट बहादुर साउद र अक्कल रावल विजयी भएका छन् । काङ्ग्रेसबाट प्रकाश बम, बेलबहादुर राना मगर, बहादुर सिंह थापा, देवानसिंह विष्ट, पृथ्वी बहादुर सिंह र मेघराज खड्का विजयी भएका छन् ।

नागरिक उन्मुक्तिबाट घनश्याम चौधरी, खुसीराम थारु, लक्ष्मण किशोर चौधरी र कैलाश चौधरी विजयी भएका छन् । एमालेका चक्र मल्ल र वीर बहादुर थापा तथा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी तथा प्रकाश रावल विजयी भएका छन् । प्रदेशमा स्वतन्त्र उम्मेदवार तारा जोशी पनि विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर