ओली र प्रचण्डका सर्वसम्मत महासचिव, जसलाई जनताले स्वीकारेनन् – Nepal Press

ओली र प्रचण्डका सर्वसम्मत महासचिव, जसलाई जनताले स्वीकारेनन्

ओली र प्रचण्डका उत्तराधिकारी !

काठमाडौं । कम्युनिष्ट पार्टीमा अध्यक्षपछि महासचिव पदलाई शक्तिशाली मानिन्छ । तर, प्रतिनिधिसभाको निर्वाचनमा कम्युनिष्ट घटकका ठुला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीका महासचिवको बर्हिगमन भएको छ ।

दाङ २ बाट प्रतिस्पर्धामा होमिएका एमाले महासचिव शंकर पोखरेल र लमजुङबाट माओवादीका महासचिव देव गुरुङ पराजित भएका हुन् ।

दाङ २ बाट माओवादीकी रेखा शर्माले महासचिव पोखरेललाई १९२ मतान्तरले पराजित गरिन् । शर्माले २६ हजार ८७७ मत ल्याउँदा पोखरेल २६ हजार ६८१ मा रोकिए ।

पराजित पोखरेल ०७४ सालको निर्वाचनमा प्रदेशसभामा निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बनेका थिए ।

यस्तै, माओवादीका महासचिव गुरुङ पनि एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट पराजित भए। पृथ्वीसुब्बाले ३४ हजार ९६९ र माओवादीका गुरुङले ३१ हजार ७८१ मत मात्रै पाए ।

निर्वाचित गुरुङ ०७४ मा लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भएर गण्डकीको संस्थापक मुख्यमन्त्री समेत बनेका थिए भने माओवादी महासचिव गुरुङ यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

ओली र प्रचण्डका उत्तराधिकारी !

एमालेभित्र महासचिव पोखरेल ओलीपछिको उत्तराधिकारीको रुपमा मानिन्थ्ये । ओलीले गत मंसिरमा भएको १० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल सर्वसम्मत महासचिवको रुपमा अगाडि सारेका थिए ।

उनी नवौं महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका थिए ।

तर, अहिले ओलीको उत्तराधिकारीको रुपमा देखिएका नेता नै निर्वाचनमा पराजित भएका छन् । उनको पराजितले एमालेमा ठूलो हलचल भएको छ ।

एमालेमा उनीमात्रै नभएर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, प्रभावशाली नेता महेश बस्नेत पनि पराजित भइसकेका छन् । ओलीले पार्टीभित्र रुचाएका नेतालाई जनताले अनुमोदन नगरेपछि उनी दबाव परेका छन् ।

यस्तै, माओवादीमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुचाएको महासचिव गुरुङ पराजित बने । लामो रस्साकस्सीपछि वर्षमान पुन र जनार्दन शर्मालाई थाँती राखेर प्रचण्डले गुरुङलाई अघि सारेका थिए । तर, पुन र शर्मा निर्वाचित भइसकेका छन् ।

पार्टीभित्र नेतृत्वले रुचाएको व्यक्तिहरू जनताबाट अनुमोदित नभएपछि अब कसरी अगाडि बढ्लान् ? भन्ने आम चासोको विषयसमेत बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर