स्याङ्जा चापाकोटका मतदान प्रतिनिधि भन्छन्- ज्यान मार्ने धम्की आएपछि बुथ छाडेर दिनभर लुकेर बस्यौं – Nepal Press

स्याङ्जा चापाकोटका मतदान प्रतिनिधि भन्छन्- ज्यान मार्ने धम्की आएपछि बुथ छाडेर दिनभर लुकेर बस्यौं

'अनधिकृत व्यक्तिहरू छिरेर आक्रमण गर्दै हामीलाई बाहिर निकालेर फर्जी मत खसालियो'

पोखरा । स्याङ्जा २ मा अहिलेसम्म मतगणना सुरू हुन सकेको छैन । सत्तागठबन्धनबाहेकका दलले चापाकोटका ४ बुथमा पाँच दलीय गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मृतक र विदेशिएकाको नाममा मत हालेको भन्दै पुन मतदान गर्न माग गरेका छन् ।

चापाकोटका दिसिङकोट आधारभूत विद्यालय, राम माध्यमिक विद्यालय, जनसक्रिय आधारभूत विद्यालय र दीनदयालु आधारभूत विद्यालयका बुथ कब्जा फोटो भिडिओ सार्वजनिक भइसकेको छ ।

बुथ कब्जा गरेर मरेका र विदेशिएका मतदाताका नाममा अस्वाभाविक रूपमा ९८ प्रतिशतसम्म मत खसाएको भनेर एमालेले सूची नै सार्वजनिक गरेको छ ।

यसैबीच चापाकोटका ती ४ बुथमा खटिएका मतदान प्रतिनिधिहरूले सामूहिक प्रेस विज्ञप्ति निकाल्दै आफूहरूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

नेकपा एमालेबाट स्याङ्जा २ की उम्मेदवार पद्मा अर्याल, प्रदेशसभा सदस्य उम्मेदवार बुद्धिमान श्रेष्ठ, स्वतन्त्र उम्मेदवार ढालप्रसाद पाण्डेलगायतका उम्मेदवारका ११ बुथ प्रतिनिधिले प्रेस विज्ञप्ति निकालेका हुन् ।

मतदान केन्द्रमा अनधिकृत व्यक्तिहरू छिरेर आफूहरूलाई आक्रमण गरेको र हुलहुज्जत गरी बाहिर निकालेर फर्जी मत खसालिएको उनीहरूको दाबी छ । जनताको मताधिकार खोसिएको भनी मतदान अधिकृतलाई निवेदन दिँदा अधिकृतले पनि आफूलाई ज्यानको खतरा भएको भन्दै निवेदन नलिएको उनीहरूले उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस्- स्याङ्जा चापाकोटमा अनौठो बुथ कब्जा, मरेका र विदेशिएकाका नाममा कसरी खस्यो मत ?

निवेदन दिएको रिसमा गठबन्धनका कार्यकर्ताहरूले मतदान केन्द्रबाट निकालिदिएको र फर्केर त्यहाँ गए ज्यान मार्नेसम्मको धम्की दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । दिनभर आफूहरू डरले लुकेर बसेको उनीहरूले बताएका छन् । उनीहरूका अनुसार मतगणनास्थलमा मतपेटिका लैजाँदासमेत आफूहरूको कीर्ते हस्ताक्षर गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुचुल्कामा हाम्रो समेत सहीछाप गरिएको छ र त्यस्तो कीर्ते सहीछाप गरी मुचुल्का तयार गर्ने व्यक्तिलाई निर्वाचन अपराध, फौजदारी कसुर अन्तर्गत कारबाही गर्नुहुन अनुरोध गरेका थियौं ।’

यस घटनाले संविधानद्वारा प्रत्याभूत अधिकारबाट वञ्चित भएको अवस्थामा निर्वाचन आयोगले चासो नदिनु दु:खद भएको उनीहरूको भनाइ छ ।

निर्वाचनमा धाँधली भएको र सुरक्षा निकाय पनि निकम्मा सावित गराइएको भन्दै उनीहरूले पुन मतदानको माग गरेका छन् ।

‘मतदाताको अधिकार खोसी गरिएको विकृत मतदान बदर गराई स्वच्छ, लोकतान्त्रिक निर्वाचनका निम्ती कब्जा भएका मतदान केन्द्रमा पुनः मतदान गराउन निर्वाचन आयोगसमक्ष हामी जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर