चारवटा चुनाव हारेका दीपक सिंहलाई पाँचौं प्रयासमा सफलता – Nepal Press

चारवटा चुनाव हारेका दीपक सिंहलाई पाँचौं प्रयासमा सफलता

हेटौ‌डा । मकवानपुर १ मा मतगणनाको अधिकांश समय तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार दीपकबहादुर सिंहले अन्तिममा एकाएक फड्को मार्दै चुनाव जितेका छन् । यो विजय उनका लागि विशेष यसकारण छ कि पाँचौं प्रयासमा उनले जीतको स्वाद चाख्न पाए ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य सिंह यसअघि प्रतिनिधिसभा, संविधानसभा र हेटौंडाको मेयरमा गरी चारपटक लडेर पराजित भएका थिए । तर, अहिले एमाले र सत्ता गठबन्धनका बलिया प्रतिस्पर्धीलाई पराजित गर्दै उनले शानदार जीत दर्ता गरेका छन् । अझ महत्वपूर्ण के छ भने एमालेबाट चुनाव लडेका कमल थापा उनकै पार्टी राप्रपा फुटाएर निस्केका पूर्वअध्यक्ष हुन् ।

सिंहले मकवानपुर १ मा खसेको ९१ हजार ४८६ मतमध्ये २७ हजार ८१६ ल्याए । उनका निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिना २५ हजार ४२३ मतमा रोकिइन् । एमालेबाट चुनाव लडेका कमल थापा २५ हजार ४२० मत ल्याएर तेस्रो भए ।

२०५४ सालमा तत्कालीन हेटौंडा नगरपालिकामा मेयर उम्मेदवार सिंहले डोरमणि पौडलसँग पराजय भोग्नु परेको थियो । त्यसपछि २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा विरोध खतिवडासँग पराजय व्यहोर्दा २०७० सालको दोस्रो संविधानसभामा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा एमालेका अनन्त पौडेलसँग हारेका थिए ।

पटक-पटक पराजित हुँदा पनि उनमा प्रत्यक्ष निर्वाचन लडेरै जित्ने आत्मविश्वास कम भएन । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिए । तर, सिंहको चुनाव जित्ने सपना त्यो वेला पनि पूरा भएन् । यद्यपि उनले २० हजारभन्दा बढी मत ल्याउँदै हेटौंडाका मतदाताको वैकल्पिक रोजाइ बनेका थिए ।

मेयरमा चुनाव हारेकै दिनबाट मकवानपुरको सिंहले प्रतिनिधिसभाको तयारी गरेका हुन् । अन्ततः पाँचौं प्रयासमा सफल भएका छन् ।

भ्रष्टाचारविरुद्धको कडा भाषण तथा रवाफिलो जीवनशैलीको कारण सधैं चर्चामा रहने सिंहको सम्बन्ध भारतको तत्कालीन ‘स्टेट’ राजपरिवारसँग पनि गाँसिएको छ । उनको ससुराली भारतको हाल बनारसमा रहेको राजपुत परिवार हो । मकवानपुरमा व्यवसाय सञ्चालन गरिरहेका सिंहलाई हक्की स्वभावको नेताको रुपमा लिने गरिएको छ ।

निर्वाचनमा जीत हासिल गरेपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै सिंहले भने, ‘मकवानपुरमा पटक-पटक जितेर सांसद भएकाहरुले आफ्नाहरुको मात्र विकास गरे । म सर्वप्रथम त्यो परम्परालाई हटाउँदै समान विकासको अवधारणा निर्माण गर्छु ।’

मकवानपुरलाई नमुना जिल्ला बनाउने र आफ्नो क्षेत्रमा रहेको विकट स्थानको विकासमा दिनरात नभनी काम गर्ने भन्दै उनले आफूलाई जिताउने सबै मतदातालाई धन्यवाद दिए ।

‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’ भन्ने राप्रपाको मूल मान्यतालाई आफूले कार्यान्वयन गर्दै जिल्लामा सुशासन कायम गर्ने विषयमा आफू सधैं चनाखो रहने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर