घरमा ब्यहोरेको लज्जास्पद हार विर्सन २० वर्षदेखि विश्वकप उपाधि कुरिरहेको ब्राजिल – Nepal Press

घरमा ब्यहोरेको लज्जास्पद हार विर्सन २० वर्षदेखि विश्वकप उपाधि कुरिरहेको ब्राजिल

दोहा। दक्षिण अमेरिकी टोलीले २० वर्षदेखि विश्वकप उपाधि जित्न सकेका छैनन्।

सन् २००२ मा जर्मनीलाई हराएर ब्राजिलले दक्षिण अमेरिकी टोलीका रुपमा अन्तिमपटक विश्वकप जितेको थियो। सन् २०१४ मा अर्जेन्टिना फाइनलमा पुगेपनि उपाधि जित्न सकेन।

सन् २०१० अघिसम्म युरोपेली टोलीले युरोपभन्दा बाहिर आयोजित विश्वकप जित्न सकेका थिएनन्। तर दक्षिण अफ्रिकामा आयोजित विश्वकपमा फाइनल पुग्ने दुवै टोली युरोपका भएपछि दक्षिण अमेरिकी शक्ति कमजोर हुन थालेको संकेत सुरु भएको थियो।

सन् २०१४ मा ब्राजिलमै पुगेर युरोपले उपाधि जित्यो। सर्वाधिक पाँचपटकको विजेता भएकाले ब्राजिलमाथी दक्षिण अमेरिकाले बढि अपेक्षा गर्छ। तर ब्राजिल आफैले पनि रोनाल्डो, रोनाल्डिन्हो, रिभाल्डो, रोमारियोसहितको पुस्ताले विश्व फुटबलमा ल्याएको पछिल्लो बहाब फर्काउन सकेको छैन।

सन् १९९४ देखि २००२ सम्म आयोजित लगातार तीन विश्वकपमा ब्राजिल फाइनल पुगेको थियो जसमध्ये दुईवटामा ब्राजिल  विजेता बनेको थियो। ब्राजिलको इतिहास हेर्ने हो भने उसले विश्व फुटबलमा दुईपटक यस्तै बहाब सृजना गरेको छ।

पहिलो बहाब सन् १९५८ देखि १८७० सम्म थियो जसमा चारमध्ये तीनवटा विश्वकप संस्करणको उपाधि ब्राजिलले जितेको थियो। डिडी, भाभा, गारिन्चा, पेलेसहितको पुस्ताले त्यो बहाब सृजना गरेका थिए। तर ब्राजिलको पछिल्लो पुस्ता त्यति प्रभावशाली देखिएको छैन। सन् २०१४ को विश्वकपको सेमिफाइनलमा ब्राजिलले घरेलु मैदानमै ७-१ गोलले पराजय ब्यहोरेपछि त्यसमा थुप्रै खराब कीर्तिमानहरु बनेका थिए।

विश्व फुटबलले नै अनुमान नगरेको त्यो नतिजाको पिडा भुल्न ब्राजिललाई त्यति सहज छैन। सन् २०१९ मा कोपा अमेरिका जितेर १२ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय उपाधि खडेरी टारेपनि ब्राजिल सन्तुष्ट छैन। २० वर्षअघि  झैँ यसपटक पनि एसियाली भूमिमा उपाधि जित्ने प्रयाशमा रहेको छ ब्राजिल।

ब्राजिलले बिहीबार सर्बियासँग खेल्दै कतार विश्वकप यात्रा सुरु गर्दै छ। ब्राजिल १५ खेलयता सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अपराजित छ। पछिल्ला लगातार ७ खेल जितेको छ। ब्राजिलले अन्तिमपटक सन् २०२१ को जुलाईमा आयोजित कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग १-० गोलको हार ब्यहोरेको थियो। त्यसयता उसले १२ जित र ३ बराबरी खेलेको छ।

ब्राजिलका स्टार स्ट्राइकर नेमार पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गर्नबाट २ गोलले मात्र पछाडि छन्। ब्राजिलका लागि नेमारले हालसम्म ७५ गोल गरेका छन्। पेलेले ७७ गोल गरेका थिए। यो सिजन उनी शानदार लयमा देखिन्छन्। नेमारले पीएसजीका लागि यो सिजन  २० खेलमा १५ गोल गरेका छन्। उनले सन् २०२२ मा ब्राजिलका लागि ५ खेलमा ५ गोल गरेका छन्। ब्राजिलले विश्वकपको समूहगत चरणमा १५ खेलयता हार ब्यहोरेको छैन। ती खेलमा १२ जित र तीन बराबरीको नतिजा निकालेको थियो।

यता सर्बिया ब्राजिलका लागि तुलानात्मकरुपमा कमजोर प्रतिद्धन्द्धी मानिएको छ। तर जारी प्रतियोगितामा कमजोर भनिएका टोलीले ठुला टोलीलाई निराश बनाइरहेकाले ब्राजिल ढुक्क छैन। सर्बिया अन्तिमपटक सन् १९९८ मा दोस्रो चरण पुगेको थियो।

त्यसयताका तीन सहभागितामा समूहगत चरणमै सिमित भएको छ भने ती प्रतियोगितामा खेलेका ९ खेलमा केवल  दुईवटा मात्र जिते निकालेको थियो। ७ वटामा पराजित भएको थियो। ब्राजिलले अघिल्लो विश्वकपमा पनि सर्बियासँग समूहगत चरणमै खेलेको थियो जसमा २-० गोलको जित हात पारेको थियो। त्यसयता यी दुई टोली आपसमा भिडेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *