आमनिर्वाचन २०७९ : सर्वाधिक मतमा फेरि ओली अगाडि, अन्तरालमा रवि – Nepal Press

आमनिर्वाचन २०७९ : सर्वाधिक मतमा फेरि ओली अगाडि, अन्तरालमा रवि

काठमाडौं । आमनिर्वाचनको चुनाव परिणाम अब उत्तरार्द्धतर्फ लम्किएको छ । अधिकांश चर्चित उम्मेदवारहरुको मत परिणाम आइसकेको छ भने अबको राजनीतिक शक्ति सन्तुलनको चित्र पनि लगभग प्रस्ट भइसकेको छ ।

यो चुनावको सबैभन्दा हट टपिक रह्यो- राष्ट्रिय स्वतन्त्र पार्टीको उदय । करिब पाँच महिनाअघि मात्रै निर्माण भएको यस पार्टीले अहिलेसम्म प्रत्यक्षमा ६ सीट जितिसकेको छ । ठूला दलहरुलाई चक्मा दिँदै काठमाडौं उपत्यकामा ५ र चितवनमा १ सीट यो पार्टीले आफ्नो पोल्टामा पारेको हो ।

चितवन २ बाट पार्टी अध्यक्ष रवि लामिछानेले विशाल अन्तरालको जीत हासिल गरेका छन् । उनले यो चुनावकै सर्वाधिक अन्तरको जीत हासिल गर्ने निश्चित प्रायः छ । तर, सर्वाधिक मतमा भने उनी दोस्रो स्थानमा छन् ।

अहिलेसम्मको परिणाममा सर्वाधिक मत ल्याउने उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओली हुन् । झापा ५ बाट विजयी ओलीले मुख्य प्रतिस्पर्धीभन्दा दोब्बर मत ल्याएका छन् । ओलीले ५२ हजार ३१९ मत ल्याएर चुनाव जित्दा उनका मुख्य प्रतिस्पर्धी खगेन्द्र अधिकारी २३ हजार ७४३ मतमा सीमित भए । अधिकारीसँग ओलीले २८ हजार ५७६ मतको अन्तर कायम गरेका छन् ।

संयोगले २०७४ सालको संसदीय चुनावमा पनि ओलीले लगभग यही अन्तरको जीत हासिल गरेका थिए । त्यसवेला जीतको अन्तर २८ हजार ८४२ मत थियो । उक्त चुनावमा पनि ओली सर्वाधिक मत ल्याउने उम्मेदवार थिए । सर्वाधिक मतान्तरमा भने उनलाई एमालेकै पार्वत गुरुङले उछिनेका थिए ।

सर्वाधिक मतान्तरको रेकर्ड यसपालि रविको नाममा गएको छ । अन्तिम परिणामअनुसार उनले ४९ हजारभन्दा बढी मत ल्याएका छन् भने प्रतिस्पर्धीसँग उनको ३४ हजारभन्दा बढी मतको दूरी छ । पाँच महिनाअगाडि मात्रै पार्टी निर्माण गरेर चुनावमा होमिएका व्यक्तिका निम्ति यो आफैंमा आश्चर्यजनक सफलता हो ।

रविले एकदमै अन्तिम समयमा चितवन २ बाट उठ्ने निर्णय लिएका थिए । मनोनयनको दिनसम्म पनि उनले लड्ने निर्वाचन क्षेत्रको टुंगो लागेको थिएन । सुरुमा चितवनमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध नै लड्ने तयारी गरे पनि प्रचण्ड चितवन छाडेर गोरखातिर लागेपछि रवि अलमलमा परेका थिए ।

उनले काठमाडौंलाई पनि विकल्पमा राखेका थिए । तर, अन्तिममा चितवन रोजे । चितवनवासीले उनलाई अभूतपूर्व माया र साथ दिएका छन् ।

अर्कोतर्फ ओलीले प्राप्त गरेको मत पनि उनका निम्ति र एमालेका निम्ति उत्साहजनक हो । पछिल्लो केही समयदेखि ओलीको व्यक्तित्वमा ह्रास आएको र लोकप्रियता ह्वात्तै घटेको चर्चा भइरहेको थियो । कतिपयले मिडियाले झापामा उनलाई यसपालि चुनाव जित्नै चुनौती रहेको भनेरसमेत टिप्पणी गरेका थिए ।

तर, झापा ५ का मतदाताले फेरि पनि ओलीमाथि विश्वास देखाएका छन् । यस क्षेत्रबाट ओलीले चुनाव जितेको यो छैटौंपटक हो । २०४६ यता हरेक चुनावमा उनी यही क्षेत्रबाट लड्दै आएका छन् । २०६४ सालको पहिलो संविधानसभामा बाहेक हरेक चुनावमा उनी विजयी भएका छन् । २०६४ सालमा भने माओवादीको लहर आएका वेला उनले पराजयको स्वाद चाखेका थिए ।

अघिल्लो चुनावमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो । यसपटक राप्रपा र राप्रपा नेपालले ओलीलाई सघाएको थियो । त्यस्तै एमालेमा विभाजन आएको तथा कांग्रस नेतृत्वमा बलियो गठबन्धन बनेको अवस्थामा पनि ओलीले आफ्नो मतान्तर घट्न दिएनन् । यसले झापा ५ मा ओलीले सहजै हल्लाउन नसक्ने गरी जरो गाडेको पुष्टि हुन्छ ।

यता उनको पार्टी एमालेले पनि विश्लेषकहरुले सोचेभन्दा राम्रो नतिजा ल्याइरहेको छ । एमालेका धेरै हस्ती नेताहरु पराजित पनि भएका छन् । तर, संख्यात्मक हिसाबले कांग्रेसको हाराहारीमा सीट जित्नु पनि एमालेका लागि उपलब्धिपूर्ण मानिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *