विश्वकपमा आज एसियाको सर्वाधिक सफल दक्षिण कोरियाले उरुग्वेसँग खेल्दै – Nepal Press

विश्वकपमा आज एसियाको सर्वाधिक सफल दक्षिण कोरियाले उरुग्वेसँग खेल्दै

दोहा– कतार विश्वकपमा बिहीबार पनि समूहगत चरणका चार खेल हुँदैछन्। नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा स्वीट्जरल्यान्डले क्यामरुन, पौने ७ बजे उरुग्वेले दक्षिण कोरिया, पौने १० बजे पोर्चुगलले घाना र राती पौने १ बजे ब्राजिलले सर्बियाको सामना गर्दै छ।

समूह एचको आफ्नो पहिलो खेलमा दक्षिण कोरियाले उरुग्वेसँग खेल्न लागेको हो। यो समूहमा घाना र पोर्चुगल पनि रहेका छन्। विश्वकपमा दक्षिण कोरिया सर्वाधिक सफल एसियाली टोली रहेको छ। सन् २००२ को विश्वकपमा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो। विश्वकपमा एसियाली टोली सेमिफाइनल पुगेको त्यही मात्र अवसर थियो। त्यतिबेला जापान र दक्षिण कोरियाले संयुक्तरुपमा विश्वकप आयोजना गरेका थिए।

यसपटक पनि घरेलु महादेशमा भइरहेको संस्करणमा एसियाली टोली साउदी अरब र जापानले शानदार सुरुवात गरेका छन्। साउदी अरबले अर्जेन्टिना र जापानले जर्मनीलाई हराएका हुन्। दक्षिण कोरियाले पनि शानदार सुरुवातको प्रयाशमा रहेको छ। अघिल्लो संस्करणमा दक्षिण कोरियाले जर्मनीलाई हराएपनि पहिलो चरण पार गर्न सकेको थिएन। १० पटक विश्वकप खेलेपनि दक्षिण कोरिया हालसम्म दुईपटक मात्र पहिलो चरण पार गर्न सफल भएको छ।

यता दुईपटकको विजेता उरुग्वे ७२ वर्षपछि विश्व विजेता बन्ने प्रयाशमा देखिन्छ। उसले पछिल्ला लगातार तीन संस्करणमा कम्तिमा पहिलो चरण पार गरेको छ। सन् २०१० को संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो। उरुग्वेले पछिल्ला ९ खेलमा ७ जित, एक हार र एक बराबरीको नतिजा निकालेको छ।

दक्षिण कोरियाले पछिल्ला ९ खेलमा ६ जित, दुई बराबरी र एक हार ब्यहोरेको छ। यी दुई टोली अन्तिमपटक सन् २०१८ मा भिडेका थिए जसमा दक्षिण कोरिया २–१ गोलले विजयी भएको थियो। त्यसअघि दक्षिण कोरियामाथी उरुग्वे लगातार हावी रहँदै आएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर