नेकपा एसका ‘चार नाथ’ को दुर्भाग्य- एक हारे, अरु तीन हार उन्मुख – Nepal Press

नेकपा एसका ‘चार नाथ’ को दुर्भाग्य- एक हारे, अरु तीन हार उन्मुख

काठमाडौं । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना जारी छ । सत्तारुढ गठबन्धन र नेकपा एमालेसहितका नेताहरुबीच मुख्य प्रतिस्पर्धा रहेको निर्वाचनको परिणाम रोचक एवम् अनपेक्षित देखिएको छ ।

खासगरी गठबन्धनका दलहरुले आफूले धेरै सीट जित्ने दाबी गर्दै आएकोमा प्रारम्भिक परिणाममा त्यस्तो देखिएन । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले समग्रमा लिड गरिरहँदा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको निराशाजनक सुरुवाती देखिएको छ ।

सत्तारुढ एउटा घटक नेकपा एकीकृत समाजवादीले गठबन्धनमा बार्गेनिङ गरेर १९ सीटमा निर्वाचन लडेकोमा पछिल्लो अपडेटअनुसार धेरै स्थानमा पछि परेको छ । हालसम्म नेकपा एस ६ स्थानमा मात्रै लिड गरिरहेको छ भने अन्य स्थानमा पछि परेको छ ।

पछि पर्नेहरुमा पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका नेताहरु रहेका छन् । एक वर्षअघि नेकपा एमाले फुटाएर नेकपा एस गठन गरी अघि बढेको सो पार्टीले स्थानीय निर्वाचनमा पनि आफ्नो दाबीअनुसारको नतिजा हात पार्न सकेन ।

मूलतः नेकपा एमालेलाई पछि पार्नुमा आफ्नो सफलता ठानेको एसका आफ्ना प्रभावशाली नेताहरु संसदबाहिर हुनसक्ने अहिलेको परिस्थितिले देखाएको छ ।

संयोग नै मान्नुपर्छ नेकपा एसले महत्वका साथ गठबन्धनमा सीट लिएर उम्मेवार बनाएका ‘चार नाथ’ मध्ये प्रतिस्पर्धामा सबैजना पछाडि छन् । नेकपा एसमा झलनाथ खनाल,जगन्नाथ खतिवडा,धर्मनाथ साह र श्रीनाथ बराललाई चार नाथ भनेर चिनिन्छ ।

यसै क्रममा इलाम १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका झलनाथ खनाल ८७८० मत ल्याएर दोस्रो स्थानमा रहँदा उनलाई नकेपा एमालेका महेश बस्नेतले पछि पारेका छन् । बस्नेतले १०२८७ मत प्राप्त गरेका छन् । खनालले यसै क्षेत्रबाट २०७४ मा ३६८०५ मतसहित नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई पराजित गरेका थिए ।

त्यस्तै, उदयपुर २ मा नेकपा एसका महासचिव जगन्नाथ खतिवडा पराजित बनेका छन् । उनलाई नेकपा एमालेका अम्बर बहादुर रायमाझी १५२५१ मतसहित हराएका हुन् । खतिवडाले १२८९३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, सिरहा ४ मा धर्मनाथ प्रसाद साह पनि परेका छन् । पछिल्लो अपडेटअनुसार उनले ५१३७ मत मात्रै प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टीका विरेन्द्र प्रसाद महतोले ७८७८ मतसहित अग्रता कायम गरेका छन् ।

उता कास्की २ मा पनि नेकपा एसकै श्रीनाथ बराल तेस्रो स्थानमा रहेका छन् । त्यहाँ नेकपा एमालेकी विद्या भट्टराईले १११८५ मत प्राप्त गर्दा बरालले भने ६०५१ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर