समानुपातिकमा एमाले अगाडि, माओवादीलाई घण्टीले उछिन्दा अन्य दल कहाँ ? – Nepal Press

समानुपातिकमा एमाले अगाडि, माओवादीलाई घण्टीले उछिन्दा अन्य दल कहाँ ?

काठमाडौं । राजनीतिक दलको लोकप्रियता मापन गर्ने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भइरहेको मतगणनामा पहिलो पटकमात्रै निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ । परम्परागत दललाई चुनौती दिएको उक्त पार्टी पछिल्लो गणनामा माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा छ ।

देशभर प्रत्यक्षसँगै समानुपातिक मत पनि गणना भइरहेको छ । लाखौं मत गन्न बाँकी रहेकाले यही स्थान कायम रहन्छ भन्ने छैन तर, गणनाको रुझान हेर्दा समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको पार्टी तेस्रो बन्ने सम्भावना भने कायमै छ ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार समानुपातिकतर्फ एमाले पहिलो स्थानमा छ । अहिलेसम्म एमालेले २ लाख ४२ हजार ५३६ मतका साथ अग्रता लिएको छ भने कांग्रेस २ लाख १९ हजार ९०५ मतसहित दोस्रोमा छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख १२ हजार २९४ मत पाएको छ भने नेकपा (माओवादी केन्द्र) को एक लाख ७०८ मत छ । विघटित संसदको चौथो ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) भने निकै पछि परेको छ । अहिलेसम्म माओवादीपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७ हजार ८८९ मतसहित पाँचौं स्थानमा छ भने जनता समाजवादी पार्टी १८ हजार ७६० मतसहित छैटौं र सिके राउत नेतृत्वको जनमत पार्टी १७ हजार ५७८ मतसहित सातौं स्थानमा छ ।

नेपाल मजदूर किसान पार्टी १६ हजार ५१० मतसहित आठौं स्थानमा रहँदा नेकपा एसको अहिलेसम्म १३ हजार ३२६ मतसहित नवौँ स्थानमा छ । यस अघि १० औ नम्बरमा रहेको नेकपा (एस) अहिले नवौ नम्बरमा उक्लिएको हो । १० औ नम्बरमा रहेको नागरिक उन्मुक्ति पार्टीले ११ हजार ७३८ मतसहित नवौं स्थान लिएको छ ।

मतगणनाको रुझान हेर्दा नेकपा एसले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्नलाई निकै चुनौति देखिएको छ । प्रत्यक्षमा नेकपा एसले एक निर्वाचन क्षेत्रमा निर्वाचित भएर ५ वटा निर्वाचन क्षेत्रमा अग्रता लिइरहदाँ समानुपातिकमा भने पछि परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर