विश्वकपमा आज ४ खेल –  ग्रुप अफ डेथमा जर्मनी र स्पेनलाई दबाब – Nepal Press

विश्वकपमा आज ४ खेल –  ग्रुप अफ डेथमा जर्मनी र स्पेनलाई दबाब

दोहा। कतार विश्वकपमा बुधबार चार खेल हुँदैछन्। पौने ४ बजे सुरु हुने खेलमा मोरक्को र क्रोएसिया, पौने ७ बजे जर्मनी र जापान, पौने १० बजे स्पेन र कोस्टारिका र पौने १ बजे सुरु हुने खेलमा बेल्जियम र क्यानडा भिड्दैछन्।

ग्रुप अफ डेथ मानिएको समूह ईअन्तर्गतको आ-आफ्नो प्रतिस्पर्धामा जर्मनी र स्पेन मैदान उत्रन लागेका हुन्। चारपटकको विजेता जर्मनी गत संस्करणमा पहिलो चरणबाटै बाहिरिएको थियो। रुस विश्वकपअघि जर्मनीले यो प्रतियोगिताका पछिल्ला ९ मध्ये ७ संस्करणमा कम्तिमा सेमिफाइनल खेलेको थियो। खराब नतिजासँगै नयाँ प्रशिक्षइक हान्सी फ्लिकको प्रशिक्षणमा आएको जर्मनी यसपटक समूहगत चरणमा सचेत देखिने छ।

यसपटक पछिल्लो पिडा भुल्दै उत्कृष्ट सुरुवात गर्न चाहन्छ जर्मनी। तर जर्मनीको पछिल्लो लय उल्लेख्य छैन। पछिल्ला ८ खेलमा ५ बराबरी, दुई जित र एक हार ब्यहोरेको छ। जापान मंगलबार एसियाली टोली साउदी अरबले अर्जेन्टिनामाथी प्राप्त गरेको ऐतिहासिक जितबाट प्रभावित भएर उच्च मनोबलसहित प्रस्तुत हुन प्रयाश गर्ने छ।

जापानले पछिल्ला दुई खेलयता जित हात पार्न सकेको छैन। जर्मनी र जापान अन्तिमपटक सन् २००६ मा प्रतिस्पर्धा गरेकामा उक्त खेल २-२ गोलको बराबरीमा सकिएको थियो। सन् २०१८ को रुस विश्वकपमा पहिलो चरणबाटै जर्मनी बाहिरिँदा एसियाली टोली दक्षिण कोरियासँग पनि पराजित भएको थियो।

त्यसअघि जर्मनी गत वर्ष आयोजना भएको युरो कपमा पनि क्वार्टरफाइनल पनि पुग्न सकेको थिएन।

सोही समूहको अर्को खेलमा कोस्टारिकाविरुद्ध उत्रने स्पेन पनि उपाधि दावेदार टोली हो। टिकी टाका पुस्ताका अधिकांश खेलाडीहरु स्पेनिस टोलीबाट बाहिरिसकेका छन्। स्पेनको टोलीका २६ खेलाडीमध्ये २० जना खेलाडी पहिलोपटक विश्वकप खेल्दैछन्।

गत वर्ष युरोकपको सेमिफाइनल खेलेका अधिकांश खेलाडीहरु अहिलेको स्पेनिस टोलीमा छन्। स्पेनले १३ खेलयता एउटा मात्र हार ब्यहोरेको छ। यसबीचमा २ बराबरी र १० जितको नतिजा निकालेको छ भने पाँच खेलयता हार ब्यहोरेको छैन। विश्वकपमा स्पेन र कोस्टारिका पहिलोपटक भिड्न लागेका हुन्।

कोस्टारिका ८ वर्षअघिको इतिहास दोहोर्‍याउन चाहन्छ। सन् २०१४ को विश्वकपमा इङ्ल्यान्ड, इटाली र जापान रहेको समूहमा विजेता बन्दै कोस्टारिका अगाडि बढ्दै क्वाटरफाइनलसम्म पुगेको थियो। कोस्टारिकाले पनि पछिल्ला १३ खेलमा एउटा मात्र हार ब्यहोरेको छ भने दुईवटा बराबरी खेलेको छ। कोस्टारिकाले पनि ५ खेलयता हार ब्यहोरेको छैन। यी दुई टोलीबीच अन्तिमपटक ५ वर्षअघि प्रतिस्पर्धा भएको थियो जसमा स्पेन ५-० गोलले विजयी भएको थियो।

समूह एफमा रहेका बेल्जियम र क्रोएसिया पनि सुखद् सुरुवात गर्न चाहन्छन्। क्रोएसिया चार वर्षअघि फाइनलसम्म पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर