विश्वकप फुटबल : उपाधि दावेदार अर्जेन्टिना साउदी अरबसँग स्तब्ध – Nepal Press

विश्वकप फुटबल : उपाधि दावेदार अर्जेन्टिना साउदी अरबसँग स्तब्ध

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिना साउदी अरबसँग २–१ गोलको नतिजामा पराजित भएको छ ।

लुसाइल रंगशालामा सम्पन्न खेलमा साउदीलाई जित दिलाउन सालेश एन्हेरी र सालिम अल्लावासरीले गोल गरे । अर्जेन्टिनाका लागि मेसीले पेनाल्टी गोल गरे ।

पहिलो हाफमै अग्रता बनाए पनि त्यसलाई बचाउन नसक्दा दक्षिण अमेरिकी टिम अर्जेन्टिनाले साउदीसँग पराजय बेहोरेको हो ।

कप्तान लियोना मेसीले खेलको १०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ८औं मिनेटमा बक्सभित्र साउदीका डिफेन्डर अल बुलाइहीले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीलाई सदुपयोग गर्दै मेसीले अर्जेन्टिनाका लागि गोल गरेका थिए ।

त्यसपछि पहिलो हाफमा अर्जेन्टिनाका तीन गोल आफसाईड भएको थियो ।

खेलको ४८औं मिनेटमा साउदीका फरवार्ड सालेश एन्हेरीले साउदीका लागि बराबरी गोल फर्काएका थिए ।

मिडफिल्डर सालिम अल्लावासरीले खेलको ५३औं मिनेटमा गोल गर्दै साउदीलाई अर्जेन्टिनाविरुद्ध २–१ को अग्रता दिलाए । अलुलावारीले गरेको गोल साउदीको जितका लागि पर्याप्त बन्यो ।

दोस्रो हाफमा अर्जेन्टिनाले गोल गर्ने केहि अवसर सृजना गरे पनि साउदीका किपरले त्यसलाई विफल पारे ।
जितसँगै साउदीले समूह ‘सी’ मा तीन अंक जोडेको छ ।

समूह ‘सी’को आजै हुने दोस्रो खेलमा मेक्सिको र पोल्यान्ड राती पौने १० बजे प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर