शीर्ष नेतासहित माओवादीका १२ उम्मेदवारको अग्रता, उपत्यकाका सबै उम्मेदवार पराजयनजिक – Nepal Press

शीर्ष नेतासहित माओवादीका १२ उम्मेदवारको अग्रता, उपत्यकाका सबै उम्मेदवार पराजयनजिक

काठमाडौं । आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मत गणना जारी छ । सत्ता गठबन्धनबाट चुनावमा होमिएको नेकपा माओवादी केन्द्रले दाबी गरेअनुसारको नतिजा ल्याउन नसक्ने प्रारम्भिक मतगणनाको क्रममा देखिएको छ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको १६५ सीटमध्ये ४६ सीटमा मात्रै उम्मेदवारी दिएको थियो । पछिल्लो मतपरिणमअनुसार माओवादीले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा शून्य बनेको छ । जबकी उसले कम्तीमा ३५ सीट जित्ने लक्ष्य राखेको थियो ।

०७४ सालको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेर प्रत्यक्षमा ३६ सीट जितेको माओवादी कमजोर बन्ने देखिएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा लहर देखिएको बेलामा दशवर्षे जनयुद्ध गरेर शान्ति प्रक्रियामा आएको माओवादी झन्‌झन् कमजोर बन्दै गएको हो ।

देशभर जारी मतगणनामा माओवादीका १२ उम्मेदवारले मात्रै अग्रता लिएका छन् । भने, अधिकांश हार्ने गणितसहित पछि परेका छन् ।

गोरखा २ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले अगाडि छन् । ०७४ सालमा चितवन ३ बाट निर्वाचित प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी र एमालेका अब्दुस मियाँसँग प्रतिस्पर्धामा छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ पराजयउन्मुख देखिएका छन् । सुरूदेखि नै एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पछि परेका उनी करिब २ हजार मतले पछाडि छन् ।

रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन् । उनको मुख्य प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगर हुन् । तर, रोल्पाबाट निरन्तर जित्दै आएका पुनलाई अहिले पनि ढुक्क देखिन्छ ।

माओवादीको गढ मानिने रुकुमपश्चिममा जनार्दन शर्मा फराकिलो मतान्तरले अगाडि छन् । सिन्धुली २ माओवादीका लेखनाथ दाहालले अगाडि छन् । भने त्यहाँ एमालेको मनोजजंग थापाले पछ्याइरहेका छन् । खोटाङमा माओवादीका रामकुमार राई र एमालेका विशाल भट्टराईको कडा टक्कर परिरहेको छ ।

रूकुमपूर्वमा माओवादीका पूर्णबहादुर घर्तीको सुरुवाती चरणदेखि नै अग्रता छ । माओवादीको गढ मानिएको यहाँ एमालेका कैलाशकुमार मल्ल प्रतिस्पर्धामा छन् । वागलुङ २ मा माओवादीका देवेन्द्र पौडेलको अग्रता कायमै छ ।

यस्तै, भोजपुरमा सुदन किरातीले अग्रता कायम राखेका छन् । उनीसँग एमालेका शेरधन राईको रोचक प्रतिस्पर्धा भइरहेको छ । मोरङ ४ मा अमनलाल मोदी, दाङ २ रेखा शर्माले पनि फराकिलो मतान्तर बनाएका छन् ।

रेखाविरुद्ध एमालेका महासविच शंकर पोखरेल चुनावी मैदानमा छन् । उनले अहिलेको अग्रता कायमै राख्ने नराख्ने निश्चित छैन ।

जाजरकोटमा माओवादीका शक्तिबहादुर बस्नेत, महोत्तरी १ मा गिरिराजमणि पोखरेल, सुनसरी १ मा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा अगाडि छन् । भने, सर्लाही २ माओवादीबाट उम्मेदवार बनेका नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय र रौतहट ३ मा प्रभु शाह पनि अगाडि छन् ।

उपत्यकाका उम्मेवार हार्ने निश्चित

माओवादी केन्द्रबाट काठमाडौं उपत्यकामा उम्मेदवार बनेकाहरू पराजित हुने देखिएको छ । काठमाडौं २ मा उम्मेदवार बनेकी पूर्वसभामुखसमेत रहेको ओनसरी घर्ती मगर तेस्रो स्थानमा छिन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले सुरुवाती चरणदेखिनै अग्रता लिएकी छन् ।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार काठमाडौं ७ की उम्मेदवार मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन् । त्यहाँ रास्वपाका गणेश पराजुलीले अग्रता लिइरहेका छन् । भने एमाले श्याम घिमिरेले पछ्याइरहेका छन् ।

काठमाडौं ९ मा उम्मेदवार रहेकी कल्पना धमला तेस्रो स्थानमा रहेर पराजित भइसकेकी छन् । त्यहाँ एमोलका कृष्णगोपाल श्रेष्ठ जित्दा रास्वपाका टेकबहादुर पोखरेल दोस्रो भए ।

काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसीले अग्रता लिइरहेका छन्। उनलाई रास्वपाका प्रदीप विष्ट, एमालेका हिमेश केसी र राप्रपाका बलराम थापाले पछ्याइरहेका छन्। त्यहाँ माओवादीकी उम्मेदवार अञ्जना विशंखे पाँचौ स्थानमा छिन्।

यस्तै, ललितपुर ३ मा उम्मेदवार रहेकी पम्फा भुसाल पराजित भइसकेकी छन् ।

अधिकांश प्रतिस्पर्धामा

उपत्यकामा मात्रै भएर प्रदेशगत रूपमा हेर्दा पनि माओवादी उम्मेदवारले दाबी गरेझैं नतिजा ल्याउन सकेका छैनन् । झापा २ मा हरिकुमार राना हार्ने निश्चित भइसकेको छ । त्यहाँ एमालेका देवराज घिमिरे र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।

यस्तै, नुवाकोट १ मा हितबहादुर तामाङ, महोत्तरी २ मा मातृका यादव, सिरहा ३ मा विश्वनाथ साह, महोत्तरी १ मा गिरिराजमणि पोखरेल, सर्लाही नरेन्द्र साह, सिन्धुपाल्चोक १ मा माधव सापकोटा सुवोध, चितवन ३ मा भोजराज ढकाल, भक्तपुर १ मा सुनिल गोठे पछाडि छन् ।

कास्की ३ रामजी बरालको पराजय लगभग निश्चित देखिएको छ । बागलुङ २ मा देवेन्द्र पौडेलले अग्रता कायम राख्दा कपिलवस्तु १ मा चन्द्रप्रसाद खनाल, बाँके १ महेश्वर गहतराज कठिन प्रतिस्पर्धामा पछि परेका छन् । बर्दिया २ मा सुरेन्द्र पन्थी र जुम्ला गोमा कुँवर राप्रपाका ज्ञानेन्द्र शाहीसँग हार्ने पक्का भइसकेको छ । कैलाली २ मा भगत बढुवाल र बैतडी नरेन्द्र कुँवर पनि पछाडि छन् । कन्चनपुर १ मा विना मगर पनि आधा मतले पछाडि छन् ।

यस्तै, मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डललाई माओवादीका शिवकुमार मंडलले पछ्याइरहेका छन् ।

भने, ताप्लेजुङ खेलप्रसाद बुढाथोकी रहेको क्षेत्रमा मत गन्न बाँकी छ । उनीसँग एमालको योगेश भट्टराई चुनावी प्रतिस्पर्धामा छन् । बारा २ मा रामचन्द्र कुशवाह, हुम्ला कार्चेन लामा, कालिकोट महेन्द्रबहादुर शाही रहेको क्षेत्रमा पनि मतगणना बाँकी छ ।

यसैबीच कालिकोटको सुरुवाती मतगणमा शाही पछि परेका छन् । दोलखामा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की छन्, त्यहाँ बुथ कब्जा भएको भन्दै एमालेले पुनः मतदान मागेकाले गणना सुरू भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर