वडाध्यक्ष हारेका नम्डु चुनिए प्रदेश सांसद – Nepal Press

वडाध्यक्ष हारेका नम्डु चुनिए प्रदेश सांसद

पोखरा । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोमान्थाङ गाउँपालिका ४ को वडाध्यक्षमा उठे नम्डु गुरुङ । नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेका गुरुङले जम्मा ९९ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका छिरिङ धिण्डु गुरुङले १२६ मत ल्याएर वडाध्यक्ष जिते ।

वडाध्यक्ष हारेका नम्डुलाई नेपाली कांग्रेसले प्रदेशसभा निर्वाचन लड्ने टिकट दियो । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नम्डुलाई डर मुस्ताङका माथिल्लो भेगको थियो । कारण- त्यहाँ नेपाली कांग्रेस कमजोर छ । उनका प्रतिस्पर्धी इन्द्रधारा विष्टको प्रभाव त्यस क्षेत्रमा राम्रो मानिन्छ ।

वडाध्यक्षको सपना टुटेका नाम्डुले प्रदेशसभा निर्वाचन भने जितेका छन् । वडाध्यक्ष हुन नपाएका नम्डु अब प्रदेशसभा सदस्यकाे हैसियतमा पुगेका छन् । नम्डुले १ हजार ४८ मत ल्याएर चुनाव जितेका हुन् । यसअघि गण्डकी प्रदेशसभा सदस्य बनेका इन्द्रधारा भने ७ सय मतमा मात्रै खुम्चिए ।

गण्डकी एमालेले मुस्ताङका ३ क्षेत्र जुनै हालतमा पनि जितिने भनेर आन्तरिक हिसाबकिताब गरेको थियो । तर, सुरुवाती दुई क्षेत्रमा भने एमालेले सोचेबमोजिम मतपरिणाम आएन । यसअघि मुस्ताङबाट संघीय सांसदको मत परिणाम पनि एमालेले नसोचेको आइसकेको छ । एमालेबाट उठेका प्रेम तुलाचनलाई हराउँदै नेपाली कांग्रेसका योगेश गौचन थकालीले चुनाव जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर