निर्वाचनको उत्साहले लोकतन्त्रप्रतिको समर्पण फेरि उजागर भयो : देउवा – Nepal Press

निर्वाचनको उत्साहले लोकतन्त्रप्रतिको समर्पण फेरि उजागर भयो : देउवा

प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्ण बनाएकाेमा सहभागीलाई दिए धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा देखिएको उतसहले दशकौंदेखिको लोकतन्त्रप्रतिको समर्पण फेरि एकपटक उजागर भएको बताएका छन् ।

आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकोमा धन्यवाद दिँदै उनले यस्तो बताएका हुन् ।

देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रुपमा मतदान भएको बताएका छन् ।

देउवाको तर्फबाट पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल एक विज्ञप्ति जारी गर्दैै भनेका छन्, ‘संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन् । यो आम निर्वाचनमा तपाईहरुले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको छ ।’

मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको उल्लेख गरेका छन् ।

आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त भएकाले निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु । निर्वाचनमा तपाईहरुको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नु भएकोमा सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा दिएको छ । साथै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पुर्याएको छ ।’

शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई समेत धन्यवाद दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर