संघीयतामा असहमत बालेनले गरे प्रदेशको मतदान ‘बहिष्कार’ – Nepal Press

संघीयतामा असहमत बालेनले गरे प्रदेशको मतदान ‘बहिष्कार’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रदेश सभा चुनावको मतदान बहिष्कार गरेका छन् । आज उनले प्रतिनिधिसभाको चुनावका लागि भोट हाले पनि प्रदेश सभाका लागि हालेनन् ।

मेयर साहले काठमाडौं महानगरपालिका-९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट भोट खसाएका थिए । उनले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ मतदान गरे । तर, प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक दुवैको मतपत्र उनले लिएनन् ।

मेयर साहले नेपालको संघीय प्रणालीप्रति सैद्धान्तिक असहमति जनाउँदै आएका छन् । संघ र स्थानीय तहका बीचमा प्रदेश संरचना आवश्यक नरहेको र यो देशको अर्थतन्त्रका लागि बोझ मात्रै बनेको उनको तर्क छ । संघीयताप्रति बिमति जनाउँदै बालेनले प्रदेशको मतदानमा भाग नलिएका उनका निकट सहयोगी कुमार बेनले बताए ।

‘उहाँले जून संरचना ठिक छैन भनिरहनुभएको छ, त्यसका लागि भोट हाल्ने कुरै आउँदैन,’ उनले भने ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि प्रदेश उम्मेदवारलाई भोट हालेका थिएनन् । उनले प्रदेशको मतपत्र लिए पनि भोट नहालीकन बाकसमा खसाएका थिए । लामिछानेले पनि अहिलेको संघीय संरचना ठिक नरहेको बताउँदै आएका छन् । संघीयताप्रतिको असहमतिमा दुई उदीयमान नेताहरूको मत मिलेको छ ।

बालेनका सहयोगी बेनले भने प्रदेश चुनावमा मतदान नगर्नु मेयर साहको स्वतन्त्र निर्णय रहेको बताए ।


प्रतिक्रिया

One thought on “संघीयतामा असहमत बालेनले गरे प्रदेशको मतदान ‘बहिष्कार’

  1. यो सम्बिधान रहे सम्म मान्नु पर्छ सके सम्विधान परिबर्तन गर्ने हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर