शीर्ष नेता कसले कहाँ गर्दैछन् मतदान ? – Nepal Press

शीर्ष नेता कसले कहाँ गर्दैछन् मतदान ?

यी नेताले आफैंलाई मतदान गर्न नपाउने

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  आज डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दैछन्। यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन्। प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने उनको सचिवालयले जनाएको छ।

विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन्। प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछिन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्ने उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नेछन्। उनी रुपन्देही क्षेत्र-३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन्। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्नेछन्।

अध्यक्ष दाहाल आफ्नो मताधिकार प्रयोग गर्न आजै अपराह्न चितवन पुगिसकेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। उनले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्नेछन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्नेछन्। सोही पार्टीका नेता झलनाथ खनालले आफैं उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्ने भएको छ।

यस्तै लोकतान्तिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नेछन्।अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्नछन्। उनी सप्तरी क्षेत्र नं-२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्।

त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्नेछन्। कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौं–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दैछन‍्। अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन्।

कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं–१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नेछन्। कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नेछन‍्।

जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले सुनसरीबाट मतदान गर्नेछन्। उनी सुनसरी क्षेत्र नं(१ बाट उम्मेदवार छन्। जसपाका नेता राजेन्द्र श्रेष्ठले क्षेत्रपाटी ढल्कुस्थित मतदान केन्द्रमा मतदान गर्नेछन्। श्रेष्ठ काठमाडौं क्षेत्र नं ७ का उम्मेदवार हुन्।

जसपाका प्रवक्ता मनिस सुमनले राजविराज–३ स्थित केएएमबी माविबाट मतदान गर्नेछन्।

सर्लाही चन्द्रनगर–२ दुर्गा खोभारी जनता उमावि केन्द्रमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मतदान गर्ने तालिका छ। उनी सर्लाही क्षेत्र नं(२का उम्मेदवार हुन्।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गर्नेछन्।

आयुक्त ईश्वरीप्रसाद पौड्यालले ललितपुरको सानेपास्थित टीका विद्याश्रम माविमा मतदान केन्द्र र अर्का आयुक्त रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर केन्द्रमा मतदान गर्नेछन्। आयुक्त जानकीकुमारी तुलाधरले सुन्दरबजार नगरपालिका–२ महेन्द्र मन्दिर मावि परेवाडाँडा लमजुङमा र आयुक्त सगुन शमशेर जबराले टोखा नगरपालिका–४ धापासीस्थित फैमालचुली मतदान केन्द्रमा मतदान गर्नेछन्।

यी नेताले आफैंलाई मतदान गर्न नपाउने

केही शीर्ष नेताले आफैं उम्मेदवार रहेको क्षेत्रमा आफैंलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैंलाई मतदान गर्न पाउने छैनन्।

एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेसका नेता शशांक कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैंलाई मतदान गर्न पाउने छैनन्। मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैंलाई मतदान गर्न वञ्चित हुनुपरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर