निर्वाचनमा खटिएका कर्मचारीलाई थपलियाले भने: लोभ-धम्की र दबाब आउनसक्छ, सचेत हुनुस् (भिडिओ) – Nepal Press

निर्वाचनमा खटिएका कर्मचारीलाई थपलियाले भने: लोभ-धम्की र दबाब आउनसक्छ, सचेत हुनुस् (भिडिओ)

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन लाग्न निर्देशन दिएका छन्।

शनिबार एक भिडियो सन्देशमार्फत् निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिएका हुनु।

मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने संकल्प गर्न, संविधान, प्रचलित ऐन, कानून, आचारसंहिता, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्णरूपमा पालना गर्न भनेका छन्।

उनले भनेका छन्,’व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी कार्य सम्पादन गर्न लाग्नुपर्छ। कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की आउनसक्छन्। त्यसमा सचेत रहनुहोस्।’

मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, नागरिक समाज मिडियाकर्मी मतदातालगायत सबैप्रति आदरभाव र समान व्यवहार गर्न पनि आग्रह गरे।

‘तपाईंको नैतिक आचरण, व्यवहार र कार्यशैलीले निर्वाचनको स्वच्छता र स्वतन्त्रताको मापन हुन्छ । त्यसैले कुनै पनि काम गर्दा आफूले आफूलाई सोध्नोस्, छातीमा हात राखेर निर्णय गर्नोस्’ उनले भनेका छन्, ‘तपाईंको कामले तपाईं आफैँ लज्जित हुनुपर्ने अवस्था आयो भने हामी सबैको दुर्भाग्यको विषय हुनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर